Powered by Blogger.
श्रमिक अधिकार स्थापित गर्न संवेदनशील हुनुपर्नेमा जोड


काठमाडौं । जनता समाजवादी पार्टीका काबा अध्यक्ष राजेन्द्र श्रेष्ठले श्रमिक वर्गलाई संविधानको मौलिक हकमा प्रदत्त अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । 

समाजवादी ट्रेड युनियन महासंघले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले उनीहरूको रोजगारी, सामाजिक सुरक्षा, कार्यस्थलको व्यवस्थालगायत अधिकार  स्थापित गर्न सबै राजनीतिक दल संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले सुरक्षित कार्यथलो,उचित पारिश्रमिक, सामाजिक सुरक्षा स्थापित गर्न आवश्यक नीति निर्माणमा श्रमिक वर्गको सहभागिता गराउनुपर्ने विचार व्यक्त गर्नुभयो। 

श्रमबजारमा माग अनुसार रोजगारको अवसर सिर्जना हुन नसकेकाले दैनिक करिब दुई हजार युवा जनशक्ति विदेशमा मजदुरी गर्न जाने गरेकामा चिन्ता व्यक्त गर्दै काबा अध्यक्ष श्रेष्ठले यस्तो अवस्था अन्त गर्न , व्यवसायिक तथा उत्पादनमूलक शिक्षाको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो।

वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले देशमा रोजगारीको माग भन्दा श्रमिकको आपूर्ति बढी भएको बताउँदै श्रमशक्तिको आपूर्ति र मागमा सन्तुलन कायम हुन नसकेकोले बेरोजगार बढेको,अस्वस्थ प्रतिस्पर्धाले उनीहरूको अवस्था सन्तोषजनक हुन नसकेको बताउनुभयो ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं युनियनका उपाध्यक्ष सोनाम लामा शाक्यले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था  चिन्ताजनक रहेको बताउँदै उनीहरूको अधिकार सुनिश्चित गर्न 

श्रम बजार वृद्धि गरी सेवा सुबिधा बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।


0 comments

Write Down Your Responses