Powered by Blogger.
साहित्य सन्ध्यामा मदन भण्डारी र जीवराज आश्रितको चर्चा


काठमाडौं । साहित्य सन्ध्याको ४ सय ६३ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा परिचर्चा र ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’का विषयमा परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८२ जेठ ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६३ औँ शृङ्खलामा ‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा र ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’का विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । 

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा साहित्य सन्ध्या काठमाडौँबाट सञ्चालन हुँदाताकाका अभियन्ता तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, नियात्राकार पोष चापागाईँ, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, डा.गोविन्दप्रसाद आचार्य, खेमराज निरौला, लीलाराज दाहाललगायतको उपस्थिति रहेको थियो ।  

‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विशद चर्चा गर्नुहुँदै साहित्य सन्ध्याको प्रारम्भिक कालका अभियन्ता तथा वरिष्ठ पत्रकार एवम् समारोहका विशेष अतिथि तीर्थ कोइरालाले २०३९ साल पुस २ गते नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको वैचारिक उद्देश्य राखी थालनी गरिएको यो अभियानले लामो इतिहास निर्माण गरिसकेको छ । 

पारिजात, आनन्ददेव भट्ट, केवलपुरे किसान, श्यामप्रसाद शर्माजस्ता अग्रजहरू त्यो समयमा साहित्य सन्ध्याको कार्यक्रममा उपस्थित हुने र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रशिक्षण दिने, रचना वाचन गर्ने इतिहास पनि सन्ध्याले बोकेको छ । अभिव्यक्ति स्वतन्त्रताले देशको शिष्टता मापन हुन्छ । अभिव्यक्ति स्वतन्त्रताले व्यक्तिको चिन्तनलाई अभिव्यक्त गर्दछ । 

वर्तमानमा भने हामी अभिव्यक्ति स्वतन्त्रताका नाममा त्यसको सीमा नाघिरहका त छैनौँ भन्ने देखिएको छ । अभिव्यक्ति जोकोहीको पनि शिष्ट र शालीन हुनु आवश्यक हुन्छ तर यतिखेर राजनीतिक नेतृत्वकै अभिव्यक्ति पनि अमर्यादित रहेको देखिन्छ ! अभिव्यक्ति स्वतन्त्रताका नाममा जे पायो त्यही लेख्ने र बोल्ने गर्ने हो भने समाजलाई सकारत्मकतातिरभन्दा अराजकतातिर लैजाने खतरा रहन्छ । बोलीमा लगाम लगाउन नसक्ने गरी अरूले गति छाडे पनि जिम्मेवारीमा रहेकाहरूले भने संयमित र मर्यादित हुनु आवश्यक हुन्छ । अभिव्यक्ति स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो तर यसको सही सदुपयोग आवश्यक हुन्छ भन्ने जोसुकैले पनि हृदयङ्गम गर्नु अत्यावश्यक छ भन्ने धारणा राख्नुभयो ।    

 ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी तथा जीवराज आश्रितको योगदान’ विषयमा विशद परिचर्चा गर्नुहुँदै प्रमुख अतिथि प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै मुलुकको आवश्यकतानुसारको राजनीतिक वैचारिकताका साथ नेपाली राजनीतिको नेतृत्व गर्ने हैसियत बनाइसकेका जननेता मदन भण्डारी र जीवराज आश्रित दुर्घटनाका कारण आजकै दिनमा कीर्तिशेष  हुनुभएको हुँदा आजको दिन कालो दिन हो । त्यस्तै साहित्यमार्फत वर्गीय चिन्तनको दृष्टिकोण सम्प्रेषण गर्ने महत्त्वपूर्ण व्यक्ति प्रदीप नेपाल अर्थात् सञ्जय थापाको पनि हालै अवसान भएको छ । 

संस्कृतमा आचार्य गर्नुभएका मदन भण्डारी नेपाली राजनीति र विश्वराजनीतिसँग जोडिनुभएको छ । वि.सं.२०२४ सालमा बनारस जानुभएका मदन भण्डारी भ्रष्टाचारविरोधी र निरङ्कुशताविरोधी आन्दोलनमा जोडिनुभएको छ । बनारसमा ‘छात्रप्रवाह’ पत्रिकाको सम्पादन गर्दै साहित्यका माध्यमबाट कम्युनिस्ट विचारधारा प्रवर्धन गर्ने, अन्धविश्वास तथा ईश्वरवादको विरोध गर्ने र वर्गसङ्घर्षका पक्षमा वकालत गर्ने काम एकैपटक मदन भण्डारीले गर्नुभएको छ । उहाँको यही प्रस्ट विचारका कारण पुष्पलालले कम्युनिस्ट विचारधारामा समाहित गर्नुभयो र मुक्तिमोर्चा गठन गर्नुभयो । 

पछि कोअर्डिनेशसन केन्द्रको स्थापना गर्नुभयो र यी सबै समूहलाई मिलाएर २०३५ सालमा नेकपा मालेको स्थापना भयो, मदन भण्डारी केन्द्रीय सदस्य बन्नुभयो । २०४१ सालमा पोलिटब्युरो सदस्य हुँदै २०४५ सालमा नेकपा मालेको महासचिव नै हुनुभयो । अनुज पुस्तालाई जिम्मेवार बनाउने, सम्मान गर्ने अनि अग्रज पुस्तालाई आदरभाव गर्ने र सबैलाई मिलाएर लैजान सक्नुका साथै नेतृत्वकौशलसमेत रहेका, परिस्थितिको विश्लेषण गर्नसक्ने क्षमताका धनी मदन भण्डारी नेपाली राजनीतिका अत्यन्त सशक्त र सफल राजनीतिज्ञ भएको धारणा राख्नुभयो । 

समारोहमा ओमप्रसाद कोइराला, डम्बर पहाडी, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, डा.मनोज जोशी, नवराज श्रेष्ठ, गोपाल नेपाल, पोषरमण चापागाईँ, बेनीबहादुर थापा, बलराम विष्ट, ड्युना अधिकारी, प्रदेशिका अधिकारी, परिमा अधिकारी, भीष्मराज काफ्ले, गोपीचन्द्र कार्की, सञ्जय सोती, डा.गोविन्दप्रसाद आचार्य, खेमराज निरौला, लीलाराज दाहाल, अर्जुन अन्योल, प्रशान्त खरेल, गोपालकुमार मैनाली र रूपक अलङ्कारले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो । 



प्रमुख अतिथिले नै वाचित रचनामाथि समीक्षासमेत गर्नुहुँदै वाचित सबै रचना समसामयिक रहेका छन्, वर्तमानमा देखिएका विकृतिका प्रति असन्तुष्टि कवितामा जाहेर गरिएको छ । वर्तमानमा देखिएका विकृतिका प्रति तिखो प्रहार गरिएका हुँदा रचना समसामयिक छन् । वास्तवमा कवितामा विचार चाहिन्छ र त्यो विचारलाई कलात्मक रूपमा प्रस्तुत गरिनु आवश्यक छ । कवितामा लालित्य र व्यञ्जना आवश्यक हुन्छ नै । 

कविले आफ्ना सिर्जनामा विरोध मात्रै गरेर पुग्दैन समाधान पनि खोजिनुपर्छ वा समाधानको बाटो देखाइनु आवश्यक हुन्छ । कविताले तथ्यको प्रकटीकरण गरेर मात्र पुग्दैन शिल्पगत परिष्कार पनि चाहिन्छ । स्रष्टा भावनामा मात्र बहकिनु हुँदैन बौद्धिक पनि हुनु आवश्यक छ । स्रष्टाले त्रुटि गर्नुहुँदैन, दाहिने मस्तिष्कले गरेको सिर्जना देब्रे मस्तिष्कले विश्लेषण गरेर निखार्नुुपर्दछ । विचार र व्यवहारको तालमेलका पक्षमा, इमानका पक्षमा स्रष्टा सदैव सक्रिय रहनु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।         

सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ, सामाजिक रूपान्तरणका लागि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । 

निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो । हामी स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक छ । त्यसमा पनि समाज विथोल्ने र भिड जम्मा पारेर गलत प्रवृत्तिलाई स्थापित गर्ने अराजक दुश्प्रवृत्तिलाई त तत्कालै आफ्ना सिर्जनाका माध्यमबाट प्रतिवाद नै गर्नु आवश्यक छ । साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने पनि छ । आजको यो विशेष समारोहमा भने दुइटा महत्त्वपूर्ण विषयमा दुईजना विशेषज्ञ व्यक्तित्वबाट अत्यन्त विशद परिचर्चा भएको छ, गरिदिनुभएको छ । वाचित रचनामाथि पनि प्रमुख अतिथिले नै मसिनोगरी टिप्पणी गरिदिनुभएको छ । 

कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो, सबै सबै गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।



0 comments

Write Down Your Responses