काठमाडौं । साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न भएको छ । डा.सीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्राडा. रमेशप्रसाद भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार मोहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनको प्रशंसा गर्नुभयो ।
केएमसि स्कुलको सभाहलमा भएको उक्त कार्यक्रममा भट्टराईले कविता विधा सङ्कटमा परेको बेला आएको लघुकविता साइनोले व्यञ्जना शब्दशक्तिको सहयोग लिएर पाठकलाई साहित्यिक स्वाद दिन सक्नुपर्ने सुझाव दिनुभयो ।
सम्मानित स्रष्टा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकारहरूले समाजलाई नैतिक मूल्यसहित सही बाटो देखाउन सक्नुपर्ने सुझाव दिँदै सम्मान गर्ने साइनो वाङमय चौतारी नेपाललाई धन्यवाद दिनुभयो । अर्का सम्मानित स्रष्टा प्रकाश समीरले साइनो नवीन शिल्पशैलीको कविता हो तर यसले परिष्कृत भई कवित्व ग्रहण गर्न सक्नुपर्छ ,शब्द मात्र साइनो होइन यसमा बिम्बप्रतीकले चोटिलो बनाउनु आवश्यक छ भन्नुभयो ।
समालोचक अमृता शर्माले साइनो नेपाली वाङमयप्रेमीको साझा सम्पदा भएकोले यसको विकासमा ध्यान दिनुपर्ने जिम्मेवारी हामी सबैको भएको तर्क गर्नुभयो ।
साइनो कविताका प्रवर्तक डा. छायादत्त न्यौपानेले साइनो कविता लेखन मैले सुरु गरेको भए पनि यसको प्रचार प्रसारमा केशव ज्ञवाली, बालकुमार क्षेत्री ,खेमलाल पोखरेल, डा. सीता सुवेदी, धातानन्द शर्मा , शेखर अर्याल ,सुरेन्द्र शाही , महानन्द ढकाल, डा.टङ्क पन्थ, कमला भण्डारी , मोहन दुवाल, प्रवीण जोसी, आशाकुमारी तिम्सिना, शान्तिराम भट्टराई समेत धेरै स्रष्टाहरूको संयुक्त योगदान रहेको छ भन्नुभयो ।
उहाँले आरम्भ भएको छोटो समयमा साइनो कविता विश्वका २५–२६ देशका सर्जकमाझ लोकप्रिय भइसकेको जानकारी गराउनुभो ।
यस कार्यक्रममा प्रमुख अतिथि समेत मञ्चासीन अतिथहरूबाट शृङ्खला साहित्यिक मासिकको सामूहिक विमोचन गरियो । विमोचित पत्रिकाबाट साइनोकार केशव ज्ञवाली, आशा तिम्सिना, सुरेन्द्र शाही, शान्तिराम भट्टराई, घन थापासमेत १० जना स्रष्टाले साइनो कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमकी अध्यक्ष डा.सीता सुवेदी पन्थीले उपस्थित सबैलाई धन्यवाद दिँदै साइनोले विश्व साहित्यमा उपस्थिति जनाउन सफल भएको बताउनुभयो । संस्थाका उपाध्यक्ष बालकुमार क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संस्थाका सचिव शेखर अर्यालको कुशल सञ्चालनमा भएको थियो ।
0 comments
Write Down Your Responses