नविन सिग्देल
नेकपा एमाले, मकवानपुरको ११ औँ महाधिवेशन (मंसिर २७–२९, काठमाडौँ) का लागि प्रतिनिधि छनौट प्रक्रिया यस पटक अत्यन्तै अनुशासित, समावेशी र राजनीतिक रूपमा परिपक्व देखियो। प्रतिनिधि छान्ने क्रममा २ नं. संघीय निर्वाचन क्षेत्र, १ नं. निर्वाचन क्षेत्र तथा जिल्लास्तरका दलित क्षेत्रमध्ये कतिपय ठाउँमा सर्वसम्मत निर्णय भयो भने कतिपय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धामार्फत निर्वाचन सम्पन्न गरियो । दुवै प्रकृतिका अभ्यासहरूले पार्टीभित्रको लोकतान्त्रिक अनुशासन, संस्कार र आन्तरिक एकतालाई पुनः पुष्टि गरेको छ ।
महाधिवेशनमा सहभागी हुने तीव्र आकांक्षा भए पनि प्रतिनिधि नबन्नुभएका धेरै कमरेडहरूले विना कुनै विवाद सर्वसम्मत निर्णयको पक्षमा सहयोग गर्नु, पार्टी चेतना र सामूहिक जिम्मेवारीबोधको उत्कृष्ट उदाहरण हो। निर्वाचन भएको क्षेत्रहरूमा भौगोलिक चुनौती र अत्यन्तै छोटो समयको सूचना हुँदाहुँदै पनि उमेदवार र पार्टी सदस्यहरूको उल्लेखनीय उपस्थिति रह्यो। आकांक्षीबीच उत्साहपूर्ण, सम्मानजनक र मित्रवत प्रतिस्पर्धामा निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक संस्कारको अभ्यास हो, जसले मकवानपुर एमालेको संगठनात्मक क्षमतालाई अझ सबल बनाएको छ ।
यस प्रतिनिधि छनौट प्रक्रियाले विभिन्न महत्वपूर्ण पक्षहरूलाई उजागर गरेको छ । यसले पार्टी सदस्यहरूको व्यापक सहभागिता, उमेद्वारी मनोनयनमा देखिएको आत्मविश्वास, व्यवस्थित निर्वाचन प्रणालीको अवलम्बन, निर्वाचनको हार–जितलाई सम्मानपूर्वक स्वीकार्ने संस्कृति, तीनै पुस्ताका (पहिलो, दोस्रो र तेस्रो) प्रतिनिधिहरूको सन्तुलित सहभागिता, र परिणामप्रति सबैको हार्दिक ग्रहणशीलत जस्ता यी सबै तत्वहरूले आगामी वर्षहरूमा मकवानपुर एमालेको संगठनात्मक यात्रालाई अझ बलियो पार्ने स्पष्ट भएको छ ।
नेकपा एमाले मकवानपुरले पछिल्ला केही वर्षमा आन्तरिक जीवन, संगठनगत व्यवस्थापन र राजनीतिक प्रतिस्पर्धाका क्षेत्रमा उल्लेखनीय सुधार ल्याएको छ । पार्टीभित्र पटक–पटक भएका आन्तरिक निर्वाचनहरू, स्थानीयदेखि राष्ट्रिय तहसम्मका चुनावमा विभिन्न तहका प्रतिस्पर्धाहरू, जीत–हार र त्याग–समझदारीका अनुभवहरूबाट संगठनले महत्वपूर्ण राजनीतिक परिपक्वता हासिल गरिसकेको छ । यही परिपक्वताले अहिलेको प्रतिनिधि छनौट प्रक्रियालाई सरल, व्यवस्थित र उदाहरणीय बनाएको हो भन्ने मेरो ठम्याई छ ।
संगठनभित्र स्वस्थ प्रतिस्पर्धालाई स्वीकार गर्ने तर अन्ततः सामूहिक निर्णयमा एकजुट हुनसक्ने क्षमता एमाले मकवानपुरको मूल परिचय बन्न पुगेको छ । यही कारणले गर्दा उमेद्वारी मनोनयनमा उच्च आकांक्षा हुँदाहुँदै पनि अन्तिम नतिजा सबैले सम्मानपूर्वक स्वीकार गरे, जुन नै वास्तवमा राजनीतिक संस्कारको परिपक्वता हो ।
यस महाधिवेशनका विशेषताहरू केवल प्रतिनिधि छनौटसम्म सीमित हुँदैनन्। यी पक्षहरूलाई संगठनात्मक पूँजीका रूपमा लिएर मकवानपुर एमालेले आगामी दिनहरूमा आन्तरिक एकतालाई अझ मजबुत बनाउँदै जनताको बीचमा आफ्नो विश्वसनीयतालाई विस्तार गर्न आवश्यक छ । जिल्ला राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धात्मक भए पनि जनमत र संगठन दुवै क्षेत्रमा एमाले अझै प्रमुख शक्ति हो । यस मान्यतालाई थप स्थिर, सुदृढ र जनमुखी बनाउने जिम्मेवारी अहिलेको नेतृत्व र कार्यकर्तामाथि नै छ ।
आगामी दिनमा पार्टीले जनताको अपेक्षा, स्थानीय आवश्यकता, विकासका प्राथमिकता, सामाजिक न्याय र समावेशी मान्यतालाई केन्द्रमा राखेर अगाडि बढ्नु आवश्यक छ । प्रतिनिधि छनौटमा प्रकट भएको अनुशासन, सामूहिकता, स्वस्थ प्रतिस्पर्धा र हार्दिक स्वीकार्यता, यिनै मूल्यहरू पार्टीको आगामी अभियान, संगठन विस्तार, नेतृत्व विकास र स्थानीय वडा–टोलसम्मको जनसंगठन सुदृढीकरणमा उपयोग हुनेछ भन्ने विश्वास छ ।
मकवानपुर, भूगोल, जातीय विविधता, राजनीतिक प्रतिस्पर्धा र विकासका चुनौतीका हिसाबले जटिल जिल्लामध्ये एक हो । यस्तो जिल्लामा बलियो पार्टी संगठन, सक्रिय जनसंगठन, अनुशासित कार्यशैली र विश्वासिलो नेतृत्व आवश्यक हुन्छ । प्रतिनिधि छनौट प्रक्रियाले यी सबै पक्षमा सकारात्मक ऊर्जा जगाएको छ ।
यी सम्पूर्ण विशेषता, अनुशासन र सामूहिकताका आधारमा भन्न सकिन्छ, मकवानपुरमा नेकपा एमाले आज पनि जनमत र संगठन दुवै हिसाबले बलियो, सक्षम र पहिलो शक्ति हो । पार्टीको यो यात्रा निरन्तरता पाउन, कार्यकर्ताको मनोबल, जनताको विश्वास र संगठनात्मक गतिशिलता आवश्यक छ । यो नै हाम्रो विकासको मुख्य ऊर्जा बन्नेछ ।



.jpeg)

0 comments
Write Down Your Responses