मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेतीलाई नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलाले बधाई दिएका छन् ।
आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उप्रेती ३० हजार ५० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी रास्वपाको तर्फबाट उम्मेदवार बनेका थिए ।
नतिजा सार्वजनिक भएपछि बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत उप्रेतीलाई बधाई दिएका हुन् उनले लेखेका छन्,‘मकवानपुर क्षेत्र नम्बर–२ बाट विजयी हुनुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेतीलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।’ ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका बर्तौला एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतकसमेत हुन् ।
निर्वाचनको हार–जितले समाज परिवर्तन र देशको सेवा गर्ने दीर्घ यात्रामा खासै प्रभाव नपार्ने उनले उल्लेख गरेका छन् । ‘निर्वाचनमा विजय प्राप्त गर्न नसके पनि म सधैँ तपाईंहरूको साथमा रहनेछु ।
एउटा निर्वाचनको हार वा जितले समाज परिवर्तन र देशको सेवा गर्ने लामो यात्रालाई खासै फरक पार्दैन,’ उनले फेसबुकमा लेखेका छन्।
आर्थिक तथा सामाजिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्र तथा जनताको सेवामा अझ दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले अपेक्षित परिणाम नआए पनि पार्टीपंक्तिलाई धैर्यता र उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेका छन् ।




0 comments
Write Down Your Responses