Powered by Blogger.
जेष्ठ सदस्य अर्जुननरसिंह केसीलाई सभामुख सरहकै सुविधा


काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचितमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । अब प्रतिनिधिसभाको बैठकले नयाँ सभामुख चयन नगरेसम्म उनले उक्त जिम्मेवारी सम्हाल्नेछन् ।

संसद सचिवालयका अनुसार शपथलगत्तै उनले सभामुखको हैसियतमा पाउने न्यूनतम सेवा, सुविधा पाएका छन् । त्यसअन्तर्गत एउटा गाडी र नेपाल प्रहरीको तर्फबाट एकजना निजी सुरक्षा अधिकारी (पीएसओ) पाएका हुन् । सभामुखका लागि बालुवाटारमा सरकारी निवासको व्यवस्था छ । 

अर्को सभामुख निर्वाचित भएपछि पनि सोही जिम्मेवारीमा रहने गरी पिएसओ राउतलाई खटाइएको प्रहरी स्रोतले जनाएको छ । यद्यपि, सभामुख महिला भएमा महिला अधिकृत नै खटाइने स्रोतको भनाइ छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखका रूपमा शपथ लिएपछि बिहीबार उनैबाट सभाका अन्य सदस्यले शपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । 

निर्वाचन आयोगले दिएको सूचीका आधारमा नवनिर्वाचित सांसदहरूलाई मध्याह्न १ः३० को समयमा उपस्थितिका लागि सूचना जारी गरिएको छ । मातृभाषासहित अन्य भाषामा शपथ लिन चाहने सांसदका लागि ती–ती भाषाको शपथको व्यहोरा तयार भइसकेको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए । 

शपथपछि संक्षिप्त जलपान समारोह हुन्छ र बिहीबारको कार्यक्रम सम्पन्न हुने भएको छ । तर, प्रतिनिधिसभाको पहिलो बैठक अहिलेसम्म निश्चित भएको छैन । बैठक बस्नका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुनुपर्छ । 

बहालवाला मन्त्रिपरिषद्ले सिफारिस नगरेका कारण नयाँ बन्ने मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधिसभा सदस्यको बैठक आह्वान हुने सचिवालय स्रोतले बताएको छ । 

बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका निम्ति आह्वान हुने सम्भावना छ । उक्त आह्वानअनुसार एक दलको बहुमतको सरकार गठन हुन्छ ।


0 comments

Write Down Your Responses