अच्यूतमप्रसाद ढकाल
फागुन २१ को चुनावी परिणामले नेपाली राजनीतिको परम्परागत समीकरणमा उल्लेखनीय हलचल ल्याएको छ । विशेषगरी नयाँ शक्तिहरूको उदय र पुराना दलहरूको अपेक्षाकृत कमजोर प्रदर्शनले राजनीतिक वृत्तमा व्यापक बहसको वातावरण सिर्जना गरेको छ ।
परिणाम सार्वजनिक भएसँगै विभिन्न प्रश्नहरू उठिरहेका छन् कि के नयाँ दलहरूसँग देश निर्माणका लागि १०–२० वर्षे स्पष्ट योजना भएकाले मतदाताले उनीहरूलाई रोजेका हुन् ? के युवावर्ग र विद्यार्थी विदेशिन नपर्ने भरोसायोग्य कार्यक्रम प्रस्तुत भएकाले उनीहरू नयाँ विकल्पतर्फ आकर्षित भएका हुन् ?
त्यस्तै, भ्रष्टाचारमुक्त देश निर्माण, सुशासनयुक्त प्रशासन स्थापना, तथा विगतका भ्रष्टाचार काण्डमाथि कडा कारबाही गर्ने प्रतिबद्धताले मतदातामा विश्वास पैदा गरेको हो कि ? योग्य, विज्ञता र सामाजिक योगदान भएका व्यक्तिलाई मात्र उम्मेदवार बनाउने अभ्यासले जनमत प्रभावित गरेको हो कि ? वा आत्मनिर्भर अर्थनीति र राष्ट्रियताप्रति प्रतिबद्ध परराष्ट्र नीतिको आशाले जनताले नयाँ शक्तिलाई अवसर दिएका हुन् ?
यी प्रश्नहरूको वस्तुगत उत्तर खोज्दा देखिन्छ—यीमध्ये धेरै विषयहरू व्यवहारमा अझै स्पष्ट रूपमा प्रमाणित भइसकेका छैनन् । तथापि, नयाँ दलप्रति जनसमर्थन बढ्नु र पुराना दलहरू कमजोर देखिनु भनेको नेपाली मतदाताको मनोविज्ञानमा परिवर्तन आएको संकेत अवश्य हो ।
यही परिप्रेक्ष्यमा अन्य दलहरूको चर्चा छाडेर, म आफू आवद्ध रहेको दल एमालेको सन्दर्भमा पनि आत्मसमीक्षा आवश्यक देखिन्छ । विगतका वर्षहरूमा एमालेले गरेका कामहरू, नीतिगत पहलहरू र विकासका कार्यक्रमहरूको स्मरण गर्दा अहिलेको चुनावी परिणामले थप प्रश्न उठाउँछ—यति धेरै काम हुँदाहुँदै पनि किन अपेक्षित परिणाम आएन ?
एमालेका उपलब्धि
एमाले समावेशी विकासको अवधारणा अघि सारेको दल हो । “विकास गाउँबाट सुरु हुनुपर्छ” भन्ने सोचसहित ग्रामीण सडक सञ्जाल विस्तार, दुर्गम क्षेत्रलाई जिल्ला सदरमुकामसँग जोड्ने योजना तथा आधारभूत पूर्वाधार निर्माणमा महत्तवपूर्ण पहल गरिएको थियो। चार लेनका राजमार्ग निर्माण, सुरुङमार्गको अवधारणा र सुरुवात, तथा दीर्घकालीन पूर्वाधार विकासका कार्यक्रमहरू पनि एमाले नेतृत्वकै समयमा अघि बढेका थिए ।
त्यसैगरी युवा, विद्यार्थी, ज्येष्ठ नागरिक र श्रमजीवी वर्गको हितमा विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याइएका थिए। राष्ट्रियतामुखी परराष्ट्र नीतिका सन्दर्भमा भारतसँगको पारवहन निर्भरतालाई कम गर्दै चीनसँग पारवहन सन्धि गर्ने ऐतिहासिक कदम पनि एमाले नेतृत्वकै पहलमा सम्भव भएको हो ।
देशभित्र रहेका खनिज पदार्थको खोजी गर्दै आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने प्रयास, राजनीतिमा आपराधिकरण र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने पहल, तथा कानुनी शासनको सुदृढीकरणका विषयमा एमालेले केही महत्त्वपूर्ण उदाहरणहरू पनि प्रस्तुत गरेको थियो ।
त्यस्तै, लामो अनुभव र सामाजिक प्रतिष्ठा भएका व्यक्तिलाई उम्मेदवार बनाउने अभ्यास, २०७२ को भूकम्पपछि छोटो समयमै पुनर्निर्माणलाई गति दिने कार्य, तथा देशव्यापी संगठनात्मक संरचना निर्माण—यी सबै पक्ष एमालेका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्न सकिन्छ ।
हारका कारणको खोजी
यति धेरै उपलब्धि हुँदाहुँदै पनि चुनावी परिणाम अपेक्षाभन्दा कमजोर आउनुका कारणहरूको खोजी आवश्यक छ ।
पहिलो, पार्टीले गरेका आधारभूत विकास कार्यहरू महत्वपूर्ण भए पनि जनतामा व्यापक परिवर्तनको स्पष्ट दृष्टि प्रस्तुत गर्न सकेन । युवापुस्तामा एक समय एमालेप्रति ठूलो आकर्षण थियो, तर नेतृत्व साना उपलब्धिको व्याख्यामै सीमित रहँदा त्यो आकर्षण क्रमशः घट्दै गएको देखियो ।
दोस्रो, विदेशिन बाध्य हुने युवावर्गका लागि ठोस र विश्वसनीय कार्यक्रम ल्याउन नसक्नु पनि ठूलो कमजोरी बन्यो। देशभित्रै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना प्रस्तुत गर्नुभन्दा बैंक ऋण सहज बनाउने नीतिमा बढी जोड दिइएको देखियो, जसले आर्थिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सकेन। तेस्रो, पार्टी नीति प्रधान हुनुपर्ने ठाउँमा व्यक्ति प्रधान हुने प्रवृत्ति बढ्दै गयो। सामूहिक नेतृत्वको संस्कृति कमजोर हुँदा संगठनात्मक सन्तुलनमा असर परेको देखियो।
चौथो, केन्द्रमा देखिएको नेतृत्व संस्कार क्रमशः टोल कमिटीसम्म फैलिन थाल्यो। योग्यता र लोकप्रियता हुँदाहुँदै पनि नेतृत्वसँग नजिक नभए अवसर नपाउने वातावरणले नयाँ पुस्ताको आकर्षण घटायो।
पाँचौँ, नयाँ पुस्ताको क्षमता र दक्षतालाई पर्याप्त महत्व नदिँदा नेतृत्व हस्तान्तरणको प्रक्रिया ढिलो भयो। छैटौँ, अन्य दलसँगको सहकार्यबाट बनेका सरकारका कार्यक्रमहरू समयमै कार्यान्वयन नहुनुले पनि जनविश्वास कमजोर बनायो। सातौँ, विभिन्न विवाद र काण्डहरूमा नेताहरूको नाम जोडिँदा पनि नैतिक जिम्मेवारी प्रस्तुत गर्ने संस्कार व्यापक रूपमा देखिएन। यसले पार्टीको नैतिक छविमा असर पारेको देखिन्छ ।
आठौँ, नेकपाको दुई तिहाइ सरकार टिकाउन नसक्नु र त्यसपछिको राजनीतिक अस्थिरताले पनि कार्यकर्ता र समर्थकहरूमा निराशा पैदा ग¥यो।
अबको चुनौती
यी सबै कारणहरूले गर्दा एमालेका कतिपय मतदाताले मत परिवर्तन गरेका हुन सक्छन् । तर यसलाई स्थायी रूपमा दल परिवर्तन भएको निष्कर्ष निकाल्न हतार गर्नु हुँदैन । मतदाताको व्यवहार प्रायः समय र परिस्थितिसँगै बदलिन्छ ।
अहिले सबैभन्दा आवश्यक कुरा आत्मसमीक्षा र सुधार हो । टोलदेखि केन्द्रसम्म संगठनलाई पुनर्गठन गर्दै योग्यता र क्षमताका आधारमा नेतृत्व विकास गर्न आवश्यक छ ।
नयाँ पुस्तालाई अवसर दिने, दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका स्पष्ट योजना ल्याउने, तथा सुशासन र पारदर्शितामा दृढ प्रतिबद्धता देखाउने कामले मात्रै जनविश्वास पुनः प्राप्त गर्न सकिन्छ ।
लोकतान्त्रिक राजनीतिमा अन्ततः जनता नै निर्णायक शक्ति हुन्। जनताको विश्वास जित्ने दल नै दीर्घकालीन रूपमा टिक्न सक्छ । त्यसैले आत्मसमीक्षा, सुधार र नयाँ दृष्टिसहित अघि बढ्नु नै आजको सबैभन्दा ठूलो राजनीतिक आवश्यकता हो । यसमै सबैको कल्याण छ ।




0 comments
Write Down Your Responses