काठमाडौं । नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक, नेपाली बालसाहित्यका अध्येता तथा अग्रज स्रष्टा नवराज रिजाललाई विद्यावारिधि (पीएचडी) उपाधिका लागि सिफारिस गरिएको छ ।
उनले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत अनुसन्धान केन्द्रबाट ‘नेपाली बालउपन्यासमा अभिव्यक्त पौरस्त्य संस्कृति’ विषयमा शोधकार्य पूरा गरी अन्तिम वाक्परीक्षा सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
लामो समयदेखि साहित्य, पत्रकारिता र प्राध्यापन क्षेत्रमा सक्रिय रिजालको यो उपलब्धिलाई साहित्यिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । बालसाहित्य, कथा, निबन्ध, समालोचना लगायतका विविध विधामा निरन्तर सिर्जनशील रहँदै आएका उनले नेपाली बालउपन्यासमा पौरस्त्य संस्कृतिको अभिव्यक्तिबारे गहन अध्ययन प्रस्तुत गरेका छन् ।
बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–१६, कतर्वा (स्वाभिमानबस्ती, महाकवि देवकोटामार्ग) स्थायी ठेगाना भएका रिजाल पेशाले शिक्षक–प्राध्यापक तथा साहित्यीक पत्रकार हुन् । उनले वि.सं. २०३९ सालमा ‘पागलको चाहना’ शीर्षक कथा मातृभूमि साप्ताहिकमा प्रकाशित गरी आफ्नो साहित्यिक यात्रा प्रारम्भ गरेका थिए ।
उनका प्रकाशित कृतिहरू विविध विधामा फैलिएका छन्। लघुकथा तथा कथातर्फ ‘अदृश्य पीडा’, ‘विखण्डित प्रवाह’, ‘माटो खोज्दै’, ‘अब उप्रान्त’ र ‘लौ भन्नोस् त !’ जस्ता कृतिहरू चर्चित छन्। नियात्रा तथा निबन्धमा ‘आँखाभरि देश मनभरि परिवेश’ र ‘नेपाली साहित्यका पच्चीस सर्जक’ प्रकाशित छन्।
त्यसैगरी गजल तथा मुक्तकमा ‘चुपचाप चुपचाप’, ‘गुपचुप गुपचुप’ (बागियान शर्मा उपनाममा) र ‘अनि तिमी’ उल्लेखनीय छन्। खोज तथा समालोचनामा ‘डुमरवानाको सेरोफेरो’, ‘मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ’ र ‘सृष्टि विवेचन’ प्रकाशित छन्।
रिजाल नेपाली बालसाहित्यका स्थापित स्रष्टा हुन्। उनका ‘दयालु ढेडु’, ‘बोक्सी बुढी’, ‘बुद्धिमान न्याउरीमुसो’, ‘छट्टु बाँदरको बिहे’, ‘द थ्री फ्रेन्ड्स’, ‘रोजीको हवाइजहाज’, ‘नक्कलीको अक्कल’, ‘जुनदाइ आए’, ‘गुराँस फुलेपछि’, ‘द बेबी काइट’, ‘द स्ट्रिप्ड टाइगर’, ‘पधेँराको रुख’ तथा ‘भिखु र बल्छी’ लगायत कृतिहरू बालपाठकमाझ लोकप्रिय छन्।
सहलेखनतर्फ ‘हाम्रो आधारभूत व्याकरण’, ‘हाम्रो माध्यमिक निबन्ध’ र ‘राम्रो माध्यमिक व्याकरण’ प्रकाशन भएका छन्। उनले ‘मैदान’, ‘देवकोटा व्याख्यान सङ्ग्रह’, ‘मूच्र्छना’, ‘समायोजन’, ‘महेश आवाज’, ‘नेश्चील’, ‘उत्तराद्र्ध’, ‘आलेखन’, ‘बालप्रज्ञा’, ‘प्रलेस’, ‘लघुकथा’ तथा ‘नवप्रज्ञापन’ जस्ता पत्रिका तथा कृतिहरूको सम्पादनसमेत गरेका छन्। वि.सं. २०५० देखि निरन्तर प्रकाशित ‘नवप्रज्ञापन’को १११ औँ अङ्क हाल प्रेसमा रहेको छ ।
उनको साहित्यिक तथा पत्रकारितागत योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । तीमध्ये सुगन्ध लघुकथा पुरस्कार (२०५१), शिक्षकश्री पुरस्कार (२०५६), नारायणी वाङ्मय पुरस्कार (२०५७), राष्ट्रिय वाङ्मय सम्मान (२०६३), अनेसास पुरस्कार (२०६६), तेस्रो बालसाहित्य सम्मान (२०७१), नवसिर्जना–उदयमञ्जरी सम्मान (२०७४), कालीगण्डकी साहित्य कला पुरस्कार (२०७४), प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार (२०७७), नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार (२०८१) लगायतका सम्मान उल्लेखनीय छन्। पछिल्ला वर्षहरूमा पनि उनले विभिन्न प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्दै आएका छन्।
रिजाल विभिन्न साहित्यिक तथा शैक्षिक संस्थामा सक्रिय छन्। उनी धुनिबेसी आदर्श क्याम्पसका पूर्वप्रमुख, साहित्यिक पत्रकार सङ्घ नेपालका उपमहासचिव, नारायणी वाङ्मय प्रतिष्ठान वीरगञ्जका सदस्य, ‘आफू विरुद्ध आफैं अभियान नेपाल’ का संयोजक, महाकवि देवकोटा प्रतिमा स्थापना समिति बाराका सल्लाहकार तथा स्रष्टा पदयात्रा नेपालका सल्लाहकारका रूपमा आबद्ध छन्।
उनको यो शैक्षिक उपलब्धिले नेपाली बालसाहित्य र समग्र साहित्यिक अनुसन्धान क्षेत्रमा थप ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ । दामन पोष्ट परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।






0 comments
Write Down Your Responses