Powered by Blogger.
फाखेलकी ठुली बलले कसरी जोगाइन् नख्खु जेल ब्रेक गर्नेलाई ?

फाखेल(मकवानपुर)।  ४ भदौको बिहानीसँगै नेपालको कम्युनिष्ट आन्दोलनमा प्रमुखताका साथ चर्चा चल्ने नख्खु जेल ब्रेकको एउटा जिवन्त इतिहासको अन्त्य भएको छ । उत्तरी मकवानपुरको दुर्गम गाउँ फाखेलमा ७५ वर्षीया ठूली बलको शरीरले अन्तिम विश्राम लिँदै गर्दा १२ चैत ०३३ मा राती नख्खु जेल तोडेर भाग्न सफल तत्कालीन नेकपा मालेका सचिव सिपी मैनाली सहित १५ नेतालाई आश्रय दिएर ३ महिना पाल्ने उनको अदम्य साहस र पार्टीप्रतिको त्यागलाई धेरैले सम्झिरहे । ठूलीले त्यतिबेला फाखेलको जंगलबाट काफल टिपेर फर्पिङ दक्षिणकालीसम्म बेच्न ल्याउने र त्यसबाट कमाएको पैसाले मकैको पिठो लगेर नेतालाई ३ महिना खुवाएको अझै बिर्सिएका छैनन् धेरैले ।

फाखेल निवासी ठुली बल एमालेका पूर्व केन्द्रीय सदस्य तथा नख्खुजेल विद्रोहका एक सशक्त व्यक्ति वीरबहादुर लामाको ठूलोबाका छोरी हुन् । जसलाई त्यतिबेला टाउकोको मोल तोकेका कम्युनिष्ट नेतालाई पालेको आरोपमा पञ्चायती सरकारले तीनपटक जेल हालेको थियो । लेखपढ नभएकी र सामान्य तामाङ परिवारमा जन्मिएकी उनको पार्टीप्रतिको आस्था भने अगाध थियो । पटकपटक प्रशासनले घर घेरा हालेर नेता लुकाएको आरोप लगाउँथ्यो । उनी वल्लो डाँडाबाट पुलिस आएको थाहा पाएपछि नेतालाई लिएर जंगलको ओढारमा लुकाउन पुग्थिन् । घरमा ढिँडो पकाएर दाउरा लिन जाने बहानाले ढिँडो डोकोमा हालेर ओढार पुग्थिन् ।

मकवानपुरको २ नम्बर क्षेत्रका तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले ठुलीलाई फाखेलमा भव्य कार्यक्रम गरी पार्टीकी आमा घोषणा गरेका थिए । ठूलीको सम्मानसमेत गरिएको थियो । पार्टीको वैकल्पिक केन्द्रीय सदस्य रहेका श्रेष्ठले ठूलीको इतिहास चिरस्थायी बनाउने गरी केही काम गर्ने घोषणा पनि गरेका थिए । तर पार्टीविभाजनपछि हिरण्य मालेतिर लागे भने ठुली मूलघरमै रहिन् । त्यसयता वीरबहादुर लामालगायतका गाँउकै भाइभतिजाले बेलाबेलामा सम्झनेबाहेक पार्टीले बेवास्ता गरेको भन्दै उनी पार्टीप्रति गुनासो गर्थिन् ।

३१ दिन लगातारको प्रयासपछि नख्खुजेल तोडेर त्यो बेला सिपी मैनाली, वीरबहादुर लामा, माधव पौडेल, घनेन्द्र बस्नेत, जीवन मगर, प्रदीप नेपाल, नारद वाग्ले, नरेश खरेल, राजन राजवंशी, गोपाल शाक्य, अशोक न्यौपाने, भिष्म धिमाल, धर्म घिमिरे, कामेश्वर हलुवाई र हर्क खड्का हुन् । त्यसमध्ये नारद वाग्ले पथलैयाबाट पक्राउ परे । गोपाल शाक्य भारत पुगेर पछि पार्टी सम्पर्कमा आए भने अन्य १३ फाखेलमै सेल्टर लिएर बसे । जसको बसाइको प्रबन्ध उनै ठूलीले गरेकी हुन् ।

ठूलीको शुक्रबार निधन भएपछि शनिबार नेकपा ९एमाले० फाखेल गाउँ कमिटीका अध्यक्ष जीवन लामाको पहलमा श्रद्धाञ्जली सभा भयो । तामाङ विधिअनुसार चिहानडाँडामा भएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा केन्द्रीय कमिटी तथा नारायणी सहइन्चार्ज बिरोध खतिवडाले पार्टीको झण्डा ओढाए । कार्यक्रममा मकवानपुर–२ का सभासद सुभाषचन्द्र ठकुरी, एमालेका पूर्व केन्द्रीय सदस्य तथा नख्खु जेल योद्धा वीरबहादुर लामा, मकवानपुर जिल्ला कमिटी सदस्य तथा फाखेल इन्चार्ज रामचन्द्र बल, एमाले क्षेत्र नम्मर ३ का अधयक्ष नारायण तिमल्सीना, सचिव रामजी सापकोटा लगायतले स्वर्गीय ठूलीको योगदानको चर्चा गरे । खतिवडाले स्वर्गीय ठूलीको योगदानले नै पार्टीको यो अवस्थामा विकास हुन सफल भएको भन्दै तत्कालीन मालेको सातौँ केन्द्रीय कमिटी बैठक पनि सफल पार्न ठूलीले महिला लडाकु भोलिन्टियरको भूमिका निर्वाह गरेको चर्चा गरे । उनले यस्ता कार्यकर्ता पार्टीको पुँजी भएको चर्चा गरे । 

पूर्व केन्द्रीय सदस्य लामाले ‘तत्कालीन अवस्थामा ठूली दिदी नभएको भए आफूहरु प्रशासनको खेदोमा परेर कतै सडिसकेको हुने’ भन्दै उनको योगदानको कदर हुन नसकेको बताए । पञ्चायती दमनको कठोर बेलामा दुईपटक भएको केन्द्रीय कमिटी बैठक सफल पार्न ठूली लागेकी थिइन् । ‘तत्कालीन अवस्थामा अनिकाल थियो, तैपनि उहाँले दाउरा बेचेर त्यो पैसाले गहुँ किनेर ल्याएरसमेत नेतालाई खुवाउनुभयो,’ वीरबहादुर लामाले ठूलीलाई संस्मरण गर्दै भने ।


ठूलीको घर जंगलछेउमै भएकाले भाग्न सजिलो हुने भन्दै सबै नेताले त्यही घर रोजे । उनको हाल भग्नावशेष भएको घरमा सिपी मैनाली र झलनाथ खनाल महासचिव भएको २ बैठक बस्यो । बालबच्चा सानै थिए । दुःखको परिवार थियो । पुलिसले लाखलाखका ५ बिटो रकम ल्याएर ‘बरु यो पैसा राख, बालबच्चाको भविष्य बन्छ, तर कहाँ लुकेका छन् हामीलाई देखाइदेऊ’ भन्दा उनले थाहा छैन भनेर टारिरहिन्  । लामाले विगत सम्झे ।

पार्टीका थुप्रै नेता पटकपटक मन्त्री भए । त्यो क्षेत्रमा ३ महिना बस्नेहरु पनि ठूला ठूला ओहदामा पुगे । तर पनि उनको भूमिकाको कहिल्यै मूल्यांकन भएन । सुरुदेखि नै जर्जर आर्थिक अवस्था भएकी ठूलीको परिवारको आर्थिक अवस्था कहिल्यै सुध्र्रिएन । फाखेलमा भूमिगत बस्नेका अहिले करोडौँका महल र चिल्ला गाडी छन् तर अहिले ठूलीको अन्तिम संस्कार घेवा गर्न रकम नभएर स्थानीय गाउँ कमिटीले चन्दा संकलन अभियान थालेको छ ।
(नेप्लिज डट ओआरजीबाट)

0 comments

Write Down Your Responses