Powered by Blogger.
पालुङमा हिलेनाचको रौनक सकियो


पालुङ । हरेक वर्ष जनै पूर्णिमाको पर्सिपल्ट मकवनपुरको थाहा नगरमा मनाइने हिले जात्रा सम्पन्न भएको छ । यो जात्राको अवसरमा परम्परागत रोपाइको अभिनय गर्ने गरिन्छ । 

हिले जात्रा भनेर चिनिने यो जात्रामा स्थानीय नेवार समुदायका मानिसहरुले अभिनयबाट रोपाइको झलक समेत देखाउने गर्दछन् । थाहा नगरकोको जनकल्याण उच्च माविको प्राङ्गणमा भएको जात्रामा पालुङ शहर, देउला बस्ती,  ओखरबजार र गोपाली गाउँका नेवार समुदायले छुट्छुट्टै रुपमा यस्तो अभिनय गर्ने गर्दछन् । सो नाचको अवसरमा लाखे नाच पनि प्रदर्शन गरिन्छ । 

धेरै पहिलेदेखि धान खेती गर्दै आएको थाहा नगरको टिष्टुङ पालुङ क्षेत्रमा धान रोपेर सकेपछि फुर्सदमा रहेका नेवार समुदायले रोपाइको अभिनय गरेर मनोरन्जन गर्ने गरेको स्थानीय शम्भू नापितले बताए । 

किम्बदन्तीअनुसार पौराणिक कालमा देवता र दानवबीच युद्ध हुँदा देवताको विजय भएको खुशीयालीमा हिले जात्राको शुरुवात गरिएको हो । खासगरी महादेव र देवासुरबीच महासंग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकोले सोही दिनलाई आधार मानी  जात्रा मनाउन शुरु गरिएको बुढापाकाहरु बताउँछन् । जात्राको अवसरमा नेवार समुदायले देवता दैत्य युद्धलाई अभिनयको माध्यमबाट देखाउने गर्दछन् ।

हिले जात्राका दिन नेवार समुदायले लाखे नाच पनि देखाउँछन् । जात्राका कारण नेवार समुदायमा एकताको भावना अझ प्रगाढ हुने गरेको स्थानीय निरोज प्रधानले बताए । तर विगतको तुलनामा जात्रामा सहभागिता कम हुँदै गएकोमा भने  चिन्ता व्यक्त गरिएको छ ।


0 comments

Write Down Your Responses