Powered by Blogger.
राहत दिनुपर्ने बेला छिमेकीबाटै आहत ?

विभिन्न विरोध र नारा जुलुसको बाबजुद लामो समयको अन्तराल पछी संविधानसभाबाट असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भयो । नेपाली जनताले वर्षौबाट प्रतिक्षा गर्दै आएको संविधान आए पछि खुशीयालीमा दिपावली नै मनाए । तर अर्कोतर्फ असहमति जनाउदै विरोधका आवाजहरु अझै साम्य भएका छैनन् । यसले सर्वसाधारण समस्या भोग्न बाध्य भइरहेका छन् । 

मधेस तराईको आन्दोलन जस्ताको तस्तै छ, पटक पटक वार्ताका लागि आह्वान भएता पनि समस्या समाधान हुन सकिरहेको छैन । वार्ताका लागि आन्दोलनकारी तयार भइरहेका छैनन् । तराईका शैक्षिक संस्थाहरु राम्ररी खुल्न नसक्दा विद्यार्थी वर्गको भविष्य नै अन्धकार भइरहेको छ । लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गईरहेको छ ।

अर्कोतर्फ नेपालको संविधान आएपछि विश्वले स्वागत ग¥यो, तर छिमेकी राष्ट्र भारतका  लागि टाउको दुखाइको विषय बन्यो र आपत्ति जनायो । साथै अहिले भारतले अघोषित नाकाबन्दी गरिरहेको छ । भारतले यसरी नाकाबन्दी गर्दा झनै समस्या बढेको छ । पेट्रोलियम पदार्थको अभाव, खाद्यान्न अभाव र मूल्यवृद्धि भइरहेको छ । यही पेट्रोलियम पदार्थको अभावले गर्दा सवारी साधनमा जोर बिजोर प्रणाली लागू भयो । यसै त अन्य बेलामा सर्वसाधारण तथा यात्रुहरु निश्चित गन्तव्यमा पुग्न घण्टौ लगाउनुपर्ने, भनेको समयमा सवारी नपाउने समस्या थियो भने अहिलेको अवस्थामा अझ पीडादायी बनेको छ ।

देविका राई निश्चित गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधनको प्रयोग गर्नुपर्दा कतिपय सवारी चालकले बढी भाडादर लिने गरेको कुरा पनि आइरहे । यसले निम्न आयस्रोतका जनताको ढाड सेक्ने काम भइरहेको छ । अभाव र बन्द हँुदा व्यापारीले सामान लुकाउने, महँगी बढाउने, ट्याक्सीले बढी भाडा लिने र मौकाको फाइदा उठाउने एउटा नराम्रो संस्कार पनि हामीबीचमा छ । यस्तो अवस्थामा एकअर्कालाई  सहयोग र साथ भन्दा पनि पैसा ठूलो देख्ने र जतिसक्दो आफ्नो गोजी भर्नतर्फ लाग्ने संस्कार पनि छ ।

हरेक अत्यावश्यक सामाग्रीका लागि छिमेकी मुलुक भारतमाथि निर्भर हुदै आएको नेपाल अहिले नाकाबन्दीका कारण अप्ठ्यारो स्थितिमा आइपुग्नु स्वभाविकै हो । अघोषित नाकाबन्दी खुलाउन राजनीतिक तवरबाट पनि प्रयासहरु भइरहेका कुरा बाहिर आएपनि केही परिवर्तन आएको छैन । विद्यार्थी संगठनहरुले पनि आपत्ति जनाउदै अघोषित नाकाबन्दी विरुद्ध आन्दोलन गरेका छन् ।

नेपालीहरुको महान पर्व दशैं तिहार जस्तो महत्वपूर्ण चाडहरु नजिकिदै गरेको अवस्थामा भारतबाट नाकाबन्दी हँुदा उपभोग्य सामाग्रीहरु र पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा समस्या बढेको छ । गत वर्षहरुमा यतिबेला राजधानी बाहिर जान टिकट बुकिङ धमाधम हुन्थ्यो तर यसपाली त्यो चहलपहल देखिदैन ।

हुन त यो वर्ष नेपालीहरुले धेरै समस्याहरु भोग्नु परेको कुरा सारा विश्वलाई नै अवगत छ ।  प्राकृतिक विपत्तिले पु¥याएको चोटलाई अझै पनि नेपालीले भूल्न सकेका छैनन । तराई आन्दोलनका क्रममा घटेका घटनाले पनि सारा नेपालीलाई स्तब्ध बनाएकै हो । यस्तो अवस्थामा भारतले अझ नजिकको छिमेकी राष्ट्र भएको नाताले साथ सहयोग पु¥याउनुको सट्टा नाकाबन्दी गरेर झनै हामीलाई पीडा थपिदिएको छ । फेरि नेपालमा नाकाबन्दी गर्दा यसको असर नेपालीलाई मात्रै पर्ने पनि त होइन, स्वयम् भारतको पनि आर्थिक उन्नति र विकासको कुरा आउँछ । यसमा सकारात्मक भएर सोच्नुपर्ने हो भारतले पनि ।

अब नेपाल सरकारले पनि सोच्नुपर्ने बेला पक्कै हो । आज एउटा छिमकी राष्ट्रले जुन हर्कत देखाउदै  आएको छ, यसविरुद्ध आवाजहरु उठ्नुपर्छ । नैतिक दबाब दिनुपर्छ । एउटा स्वतन्त्र राष्ट्रको आन्तरिक मामिलालाई लिएर हस्तक्षेप गर्नु उसको गल्ती हो, सामाजिक न्याय विपरीत हो । इतिहासबाट नै नेपाली राजनीतिमा भारतको आदेश पालना गर्ने परिपाटीले गर्दा आजको दिनमा पनि भारतले नेपालमाथि दबाब बढाएको हुनुपर्छ । 

अब यसबाट हामीले पाठ सिक्न जरुरी छ, सबै कुरामा भारतमाथि मात्र निर्भर नभएर अन्य राष्ट्रहरुसँग पनि साथ सहयोगको सम्बन्ध स्थापित गर्नुपर्छ, उत्तरी  नाकाहरु तत्काल खोल्नु जरुरी छ । चीनसँग सम्बन्ध बढाउन र चीनले पनि सहयोग गर्न आफू तत्पर रहेको सकारात्मक जानकारी दिएको छ । यसमा भूकम्पको कारण बाटो बिग्रीएको कुरा बाधक देखाइएको छ । सम्बन्धित निकायको ध्यान पुगेर बन्द भएको बाटो निर्माण गरी आवतजावत तुरुन्त सुरु गर्नु आजको आवश्यकता हो । चाडपर्वको समयमा भइरहेको बेलामा यदि सरकारले गर्न सक्यो भने करोडौ नेपालीको मुहारमा अवश्य खुशी छाउनेछ ।


 साथै भारतसँग बिग्रीएको सम्बन्धप्रति दुवै देशले जिम्मेवार भएर सकारात्मक ढंगबाट सोच्नुपर्छ । भारत हाम्रो छिमेकी राष्ट्र हो, वर्षौबाटको हाम्रो दुई देशको सम्बन्ध एक्कासी किन बिग्रीयो? दुवै पक्षले मनन गरेर सम्बन्ध पुनः सुधार्नतर्फ लाग्नुपर्छ । मै खाऊँ मै लाउँ भन्ने भावना त्यागेर एकअर्कामा सद्भाव र छिमेकी हुनुको महत्व दर्शाउनुपर्छ । एक छिमेकीले अर्को छिमेकीलाई पर्दा साथ सहयोग गर्नुपर्ने वातावरणको स्थिति सिर्जना गर्नु, कुटनीतिक पहल गर्नु आजको आवश्यकता हो । जहाँसम्म संविधानको कुरा छ, ९० प्रतिशतले बहुमतले पारित भएको संविधानलाई भारतले पनि स्वागत गर्न सक्नुपर्छ ।


0 comments

Write Down Your Responses