Powered by Blogger.
जिर्ण बन्दैछ चित्लाङको अशोककालिन चैत्य



मकवानपुर । भारतका तत्कालिन सम्राट अशोक नेपाल भ्रमणमा आउँदा स्थापना गर्न लगाएको चित्लाङ गाबिस स्थित माझगाउँ रहेको चैत्य जिर्ण बन्दै गएको छ ।  उचित संरक्षण र रेखदेखको अभावमा किरातकालिन इतिहास बोकेको उक्त चैत्य क्रमस क्षयीकरण हुँदै गएको हो । 

उक्त चैत्यको उचित संरक्षण नभएकोमा चित्लाङवासी दुखित बनेका छन् । सम्बन्धित निकायको बेवास्ता कारण सो अमूल्य चैत्यको महत्व हराएको चित्लाङ माझगाउँका पुण्यराज बलामीले बताउनु भयो । स्थानीय जनताको प्रयासमा दशक अघि इट्टाको पेटी लगाउने र सोही क्रममा सेतो रंग रोगन गरी सिगार्ने बाहेक हाल चैत्य संरक्षणका लागि कुनै प्रयास नभएको उहाँले जानकारी दिनुभयो । 

ऐतिहासिक चित्लाङ गाउँ नामाकरणको इतिहास जोडिएको उक्त चैत्यलाई जुगाँै टिकाउन सके यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गराउन सहयोग पुग्ने स्थानीय बुद्धिजीवि बुद्धरत्न मानन्धर बताउनुहुन्छ । 

आवश्यक प्रचार प्रसारको अभावमा पनि सो चैत्य ओझेलमा परेको उहाँको गुनासो छ । नेवारी भाषामा ‘चैत्य ल्वहँ’ अर्थात चैत्य ढुङ्गाबाट अप्रभ्रस भई यस स्थानको नाम चित्लाङ रहन गएको जनबोली पाईन्छ । अशोकका साथमा यही बाटो भएर उनकी बहिनी चारुमति पनि नेपाल आएको र चित्लाङमा बास वसेको स्थानीय वासिन्दा बताउँछन् । त्यहि बेला सो चैत्य चित्लाङमा निर्माण गरिएको र काठमाडौंको चाहविलमा चारुमति विहार निर्माण गर्न लगाएको ऐतिहासिक कथन छ । 

सम्राट अशोकका नेपाल भ्रमणको जीवन्त इतिहास सो चैत्यले बोकेकाले सवै क्षेत्रबाट दिर्घकालिन संरक्षणको प्रयास हुनुपर्ने गाविसका पूर्व अध्यक्ष लक्ष्मण रेग्मीले बताउनु भयो ।  जिल्ला विकास समिति अन्र्तगत जिल्ला पर्यटन विकास समितिले प्रकाशित गरेको चिनारी पुस्तिकामा उक्त चैत्यको तस्वीर सहित केही जानकारी समावेश गरी चित्लाङलाई पनि पर्यटकीय गन्तव्य स्थानको रुपमा विकास गरिएको मात्र होइन चित्लाङ होम स्टेको चहलपहलले चैत्यको पनि चर्चा बढ्न थालेको छ । त्यसको उचित संरक्षणको पहल आवश्यक भएको स्थानीय बासीन्दा बताँउछन् । 

0 comments

Write Down Your Responses