Powered by Blogger.
एमाले मकवानपुरले रच्यो नयाँ इतिहास


हेटौँडा, १४ मंसिर । नेकपा एमाले मकवानपुरमा पहिलोपटक महिलाले नेतृत्व गर्ने अवसर मिलेको छ । दसौँ अधिवेशनले  मुनु सिग्देललाई विजयी गराएपछि सिग्देल एमालेमा अहिले बहाल मध्ये एकमात्र महिला जिलला प्रमुख भएकी छिन् ।  

 सिग्देलले निकतम प्रतिद्वन्द्वी रघुनाथ खुलाललाई १ मतले  हराउँदै विजयी भएकी हुन् । सिग्देल एमाले मकवानपुरको इतिहासमा नै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन् । यसअघि स्याङ्जामा पद्मा अर्याल पनि एमालेको महिला जिल्ला प्रमुख थिइन् । 

निर्वाचन समितिले दिएको जानकारीअनुसार सिग्देलले २ सय १३ र खुलालले २ सय १२ मत प्राप्त गरे । खुलाल एकमतले गर्दा अध्यक्ष हुनबाट चुकेका छन् । राष्ट्रपति, सभामुखमा महिला विजयी भएसँगै जिल्लामा पनि महिला नेतृत्वलाई जिताउन सुरु भएको छ ।

सिग्देलले जिल्लाका अधिकांश अग्रज नेता रहेका केपी ओली गुटका उम्मेदवार खुलाललाई हराएकी हुन् । नवौँ अधिवेशनमा सिग्देल रामेश्वर रानासँग पराजित भएकी थिइन् । उनले पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता जनाइन् । 

जिल्लामा एमालेलाई एक नम्बरको पार्टी बनाइ राख्न सबै तहका नेता तथा कार्यकर्तासँग सहकार्य र समान व्यवहार गर्ने सिग्देलले प्रतिक्रिया दिइन् । निर्वाचनमा विजयी र पराजित सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।

उपाध्यक्षमा खुलाल प्यानलका बद्री लम्साल विजयी भएका छन् । उनले क्षेत्र नम्बर ४ का सांसद राजाराम स्याङ्तानलाई पराजित गरे । मत परिणामअनुसार लम्सालले २ सय ४२ र स्याङ्तानले एकसय ७७ मत प्राप्त गरेका छन् । सचिवमा पनि खुलाल प्यानलका एकालाल श्रेष्ठले जित हात पारे । उनले सिग्देल प्यानलका विष्णु ढकाललाई पराजित गरे । 

श्रेष्ठले २ सय ३६ र ढकालले एकसय ८८ मत प्राप्त गरेको जनाइएको छ । उपसचिवमा सिग्देल प्यानलका मिना लामा विजयी भएकी छिन् । उनले खुलाल प्यानलका पार्वती रानालाई पराजित गरेकी हुन् । विजयी लामाले २ सय १४ र रानाले एकसय ९९ मत प्राप्त गरेको उल्लेख छ ।

निर्वाचनमा खुला सदस्यमा अणराज जर्गा मगर, श्रीधर पोखरेल, गोपालबहादुर श्रेष्ठ, नविन सिग्देल, हरिबहादुर महत, इन्द्र नेपाल, तिलककुमार अधिकारी, राजाराम स्याङ्तान, विष्णु ढकाल, ध्रुवप्रसाद चौलागाईं विजयी भएका छन् । सदस्यतर्फ क्षेत्र नम्बर १ बाट अनिल बानियाँ, कमल विष्ट विजयी भएका छन् । खुला सदस्य जनजातिमा खेमराज जर्गा मगर, खुला सदस्य महिलामा मिना रुपाखेती, वैकल्पिक सदस्यमा तेजप्रसाद लम्साल, महिला सदस्यमा सुमित्रा राई विजयी भएका छन् ।

क्षेत्र नम्बर २ बाट खुला सदस्यतर्फ रामचन्द्र बल, हिदम लामा, खुला सदस्य जनजातितर्फ बुद्धरत्न मानन्धर, महिला सदस्यमा ठूली गोले र वैकल्पिक सदस्यमा ईश्वरलाल रुम्बा र महिला सदस्यमा पञ्चमाया स्याङ्तान विजयी भएको निर्वाचन कमिटीले जनाएको छ ।

 यसैगरी क्षेत्र नम्बर ३ बाट खुला सदस्यमा ईश्वर ढुंगाना, फुर्बा दोर्जे लामा, खुला सदस्यमा गणेशकुमारी श्रेष्ठ, खुला सदस्य जनजातिमा सुनिल मोक्तान  वैकल्पिक सदस्यमा राजन थापा र महिलामा मञ्जुकुमारी थिङ विजयी भएका छन् । क्षेत्र नम्बर ४ बाट खुला सदस्यमा नवराज सुवेदी र लालबहादुर थापा, महिला सदस्यमा बच्चिमाया नेगी, खुला सदस्य जनजातिमा कल्याण बिक्रम घलान, वैकल्पिक खुला सदस्यमा टंकबहादुर मुक्तान र महिला सदस्यमा चन्द्रकुमारी भुषाल विजयी भएका छन् ।

यसैगरी, खुला जनजाति सदस्यमा शंकरबहादुर राई, गोविन्दराम चेपाङ, गौतमबुद्ध लामा, महिला जनजाति सदस्यमा जुनेली श्रेष्ठ, वैकल्पिक जनजाति सदस्य गौतम लामा, प्रेमबहादुर डिमडुङ, खुला महिला सदस्यमा आरती पाठक, भगवती पुडासैनी, गायत्री सुवेदी, पद्मा पौडेल, सुमित्रा काफ्ले पराजुली विजयी भएका छन् । वैकल्पिक महिला सदस्यमा सुन्तली प्रजा, चन्द्रकान्त श्रेष्ठ, खुला दलित सदस्यमा शर्मिला विक, विष्णु परियार, खुला दलित महिला सदस्यमा उमा सुनार र खुला मजदुर सदस्यमा अर्जुनप्रसाद ढुंगेललगायत ९ निर्विरिोध भएका छन् ।

निर्वाचन कमिटीमा अध्यक्ष मदन दाहाल, उपाध्यक्ष हरिहर खनाल, सचिव खेमराज सापकोटा, सदस्य रामप्रसाद न्यौपाने, रामशरण गौतम, देवेन्द्र कोइराला र पद्मबहादुर विकल निर्वाचित भएका छन् । 

लेखा परीक्षण कमिटीमा अध्यक्ष टिपी रुपाखेती, उपाध्यक्ष किशोरकुमार टण्डन, सचिव हिमप्रसाद पौडेल, सदस्यमा टिएन ढुंगेल, लक्ष्मी रिमाल, चन्द्रलाल लामा मोक्तान, यमबहादुर सिलवाल विजयी भएका छन् । एमाले मकवानपुरमा यो अधिवेशनले नयाँ इतिहास रचेको छ । 


0 comments

Write Down Your Responses