Powered by Blogger.
सरकार ! यो कालोबजारीमा तँ कहाँ छस् ?

१२ वैशाखमा आएको भूकम्प र त्यसपछि आएका पराकम्पनले देश मात्र हल्लाएको थिएन । सँगै हालिएका थिए जनताका निर्दोष मुटु । कयौँले आफ्नो अमूल्य ज्यान गुमाउनु पर्यो  भने कयौँ अशक्त भए ।  देश विपदमा कयौं दिन रह्यो  र जनता त्राहित्राही रहिरहे । जनताका दैनिकी लथालिंग भए । समग्रमा देश शोकमा रह्यो , जनता शोक,  भय र भोकमा रहे  । 

तर त्यहि विपद्, देशका कतिपय ठग व्यापारीका लागि दशैँ बन्यो  । एक बोतल पानीदेखि चामलसम्मको भाउ बढ्यो । विपद्का बेला कालोबजारी गरे वा सामानको भाउ बढाए कारबाही गर्ने गृह मन्त्रालयको सूचना पढेर पसल हानिएका जनता देशलाई सराप्दै महँगो मूल्य तिरेर खाद्य सामाग्री किन्न बाध्य भए ।

के गरुन, ती निमुखा जनताले जब गृह मन्त्रालयको सूचनाको बर्खिलाप गर्दै व्यापारी लुटिरहे र जनता विवसताको खाडलभित्र नागरिक हुनुको औचित्य खोजिरहे । आखिर भोकले संकटकाल नभन्दो रहेछ, प्यासले विपद् नचिन्दो रहेछ ।

पराकम्पनहरु केहि हदसम्म कम हुँदैगर्दा दैनिकी शान्त बन्दै थियो ।  तर जव देश, आखिर देश रहनुको कुनै औचित्य छैन अनि जनताले कसरी सुख पाउन् । चाडबाड नजिकिंदै थियो, भूकम्पको त्राश सेलाउँदै थियो । ‘देशमा अव त नयाँ संविधान बन्नेछ । सबै जनता खुसी हुनेछन् ।  अनि आर्थिक क्रान्ति हुनेछ यो देशमा ।  भोका पेटहरु भरिनेछन् , नाङ्गा शरीरहरू ढाकिनेछन्, देश उन्नतीको बाटोमा जानेछ ।’ 

हो यस्तै आशाका पोका पन्तराहरु बटुलेर जनता पर्खिरहे संविधान ।  तर देशको एउटा भूगोलका जनतालाइ यो चित्त बुझ्यो वा बुझेन भन्ने बहस हुन थाले । कतिले पिडित मधेशीले आन्दोलन गरेको भने त कतिले मधेशीका नाममा अरु कसैको स्वार्थमा आन्दोलनको डम्फु फुकियो भने ।
सुरज प्याकुरेल
‘मेरो देशको स्वाभिमानी संविधान जलाएर, नेपाली मन जलाएर मधेशमा आन्दोलन चर्कियो’ भने । तर म त फगत राजनीति नबुझेको र बुझ्न नचाहेको केटोले बुझिन यो राजनीति, बुझ्न चाहिन त्यो राजनीतिक कोलाज । चर्किए नेपालीका छाती । आज भन्दा भोलि भन्दा, दिनहरु बित्दै जाँदा देश यस्तो घडीमा आइपुग्यो जहाँ जनताका चुल्होहरु बल्न छोडे । जनताहरु सिट नपाएर बसको छतमा जोखिमपूर्ण यात्रा गर्न विवस् भए अनि देशको सरकार कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आयो ।

भूकम्पले घाउ लगाएको जिन्दगीमा अब त बाँच्नु नै ठुलो कुरा हुन थाल्यो ।  केहि दिन त स्वाभिमानका प्रति , आफ्नो देशका प्रति त भोकै पनि बसे होलान् जनताहरु, तर जब बजारमा कालोबजारीले आकाश छोयो, ग्याँस होइन ग्याँस किन्न चाहिने ‘बढी पैसा’ को अभाव हुन थाल्यो  तव देश अनि स्वाभिमान झनै दुख्न थाल्यो , झनै चर्किन थाल्यो । 

भाउ बढाउने वा कालो बजारी गर्नेलाई कारबाही गर्ने सूचना फगत पढ्नका लागि मात्र रहेछ क्यार, कालोबजारी रोकिएको छैन । चोकचोकमा ठगी छ । सामान नपाएपछि केही बढी मूल्य तिर्नु बाध्यता छ । र, पनि मेरो देश कारबाहीको डम्फू बजाउन छाड्दैन । केही समयअघिदेखि ठाउँठाउँमा वाणिज्य विभाग र प्रहरीले छापा मार्दै ठगी गर्ने व्यापारीलाई पक्राउ गरेको समाचार पनि सार्वजनिक नभएका होइनन् । तर जनता गल्लीगल्लीमा छन् र तिनै गल्लीका जनतालाई त्यहाँका व्यापारीले ठगिरहेका छन् । 

हो,बजारमा महँगो पैसा तिर्ने हो भने ग्याँस छ, पेट्रोल छ, डिजेल छ तर कालोबजारी छ। मात्र थाहा छैन सरकार तँ कहाँ छस् ?दशैँताका कयौँ ठाउँमा छापा मारिन्थे भूकम्पको बेला कालो बजारी भयो भनेर । थाहा छैन ती छापा मार्ने कर्मचारी के गरिरहेका छन् । थाहा छैन, दशैँताका खुबै ब्युँझिएकाझैँ लाग्ने सरकारी निकाय आज कहाँ छन् । विपद्को यो घडीमा जनतालाई साथ नदिए दशैँताका गरिने छापालाई अब जनताले नौटंकी बाहेक के नै बुझ्लान् र ?

लौ न देश, म १८ औँ बसन्तमा पाइला टेक्दै गर्दा तिमीले मलाई यो देशको नागरिक भनेर दिएको प्रमाणपत्र साक्षी छ, म पनि यो देशको नागरिक हुँ । मेरो घर कोटेश्वर हो र यहाँका सानादेखि ठूला व्यापारीका ठगीधन्दा रोकिएको छैन । ग्याँस, र पेट्रोलको त कुरै छाडौं  २० रुपैयाँ पर्ने एक बोतल पानीको भाउ बढेर २५ रुपैयाँ भएको छ । १५ रुपैयाँ पर्ने एकपोका चाउचाउलाई बजारमा अभाव छ भन्दै २० रुपैयाँ लिन थालिएको छ । तरकारीको भाउमा उस्तै मनोमानी छ । 

चामल, चिउरा, दाललगायतका खाद्य सामग्रीमा पनि कालोबजारी छ ।  भन्छन् ’नाका बन्द छ । केहि आएको छैन । सामानको मूल्य बढेको छ ।’ सुनेको थिएँ, महँगोमा म्याट्रेस बेच्नेलाई पक्राउ गरियो रे, खोइ त, यता त अझै महँगो नै छ ! थाहा छैन, तिम्रो छापा मार्ने टोली यता आउने पालो कहिले हो ? बानेश्वर बस्ने मेरो साथीको दुःखेसो उस्तै छ । चाबहिल बस्ने माइजुको गुनासो उस्तै छ । कौशलटार बस्ने काकीको पिरलो उस्तै छ, महँगी बढ्यो, बाँच्नै नसकिने भो ! न ग्याँस छ, न अरु थोक किनिसक्नु छ ।

छिमेकीले गाइँगुइँ गरेको–सुनेको, यतातिरका व्यापारीसँग त तिम्रो ‘सेटिङ’ छ रे ! के यस्तो विपदमा जनतालाई साथ दिनु तिम्रो धर्म वा दायित्व होइन र ?  यिनै जनताले तिरेको करबाट तलब पाउने ती छापा मार्नेले देशभित्र भएको यो लुटलाई सम्बोधन गर्नु पर्दैन र ? देशको स्वाभिमानका प्रति जनता तिम्रो साथमा रहेका बेलामा पनि तिमी काम नलागे, नागरिक हुनुको के अर्थ भयो र ? के काम भयो र वाणिज्य विभागको अनि के काम भयो र प्रशासनको । 

अब भाषण होइन रासनको व्यवस्था गरिदेउ । पैसा नभएर मात्र हो बजारमा ग्यास छ । महँगो तिर्ने सामथ्र्य छैन ।  धेरै केहि चाहिँदैन सरकार मात्र ग्यास चाहियो ।  स्टभ बाल्न घराबेटीले दिंदैनन, दाउरा   परैको कुरा । सधैं बाहिर होटलमा खान सामथ्र्य छैन । त्यसैले मात्र ग्यास चाहियो । हेल्लो सरकार ग्याँस चाहियो !

तस्बिर साभारः इकान्तिपुर डट कम

0 comments

Write Down Your Responses