Powered by Blogger.
थाहा नगरको बज्रबाराहीमा एक्युपन्चर सेवाको औपचारिक उद्घाटन


बज्रबाराही(टिष्टुङ), २० मंसिर ।  थाहा नगर पालिकाको बज्रवाराहीमा औपचारिक रुपमा एक्युपन्चर सेवाको उद्घाटन गरिएको छ । 

बाराही चौरमा एक समारोहको आयोजना  गरी पत्रकार सम्मेलन सहित सुस्वास्थ्य नेपालले संचालन गरेको एक्युपन्चर क्लिनक सेवाको उद्घाटन गरिएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपकप्रसाद तिवारीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता भिमसागर गुरागाईको विशेष आतिथ्य रहेको थियो ।

 सुस्वास्थ्य नेपालका अध्यक्ष छिरिङ शेर्पाको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक कोषाध्यक्ष महेश कुमार बुढा, अल्जाइमा एशोसियसन नेपालका प्रमुख डाक्टर सरिता गिरी, मकवानपुरका प्रमुख जनस्वास्थ्य अधिकृत दिपक प्रसाद तिवारी, प्रवक्ता गुरागाई, साविक बज्रवाराही गाविसका अध्यक्ष चित्रबहादुर बलामी, एआरपी नामक संस्थाका संस्थापक तथा वरिष्ठ अमेरिकी डाक्टर एन्ड्रयु स्क्लाबसले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको अवसरमा अमेरिकी डाक्टर एन्ड्रयुले बाथ, हाड जोनी, नसा सम्बन्धी रोगलाई एक्युपन्चर पद्धतीबाट निःशुल्क अभियान संचालन गरिरहेको बताउनुभयो  ।  उहाँले निःशुल्क अभियानका क्रममा नेपालका १ लाख ८० हजार रोगीको उपचार गरिसकेको जानकारी दिनुभयो । 

उहाँले बज्रबाराहीमा मात्र ४ हजार ५ सयलाई यस्तो उपचार गरिएको पनि जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा बज्रवाराहीको सुनौला माविका विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय नेवारी समुदायले झाँकी सहित बाजागाजा प्रस्तुत गरेका थिए । सो अवसरमा सुनौला माविका कक्षा १० मा अध्यनरत देवन्त गोपालीले गीत पनि गाएका थिए । 

यसैबीच कार्यक्रमको अवसरमा बज्रवाराही स्वास्थ्य चौकीलाई सहयोग गर्ने प्यासीफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा पुण्यश्री महिला बचत तथा ऋण सहकारी संस्थालाई जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख तिवारीले सम्मान गर्नु भयो । 

कार्यक्रममा बज्रवाराही स्वास्थ्यचौकीका प्रमुख मेघराज बलामी, थाहा नगरपालिकाका प्राविधिक सहायक सुकदेव बिडारी, स्थानीय संघसंस्थाका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
–मुक्तीनाथ उप्रेती, बज्रबाराही



0 comments

Write Down Your Responses