Powered by Blogger.
पालुङ डाँडागाँउमा डेढ करोड लागतको गोरखनाथको प्राण प्रतिष्ठा


थाहा, मकवानपुर, २१ मंसिर । मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिका वडा नम्मर ७ मा गोरखनाथ मन्दिरमा सोमबार एक समारोहकाबीच प्राण प्रतिष्ठा गरिएको छ । 

थाहा नगरको डाँडागाउँमा स्थापना भएको गोरखनाथ मन्दिरको सोमबार एक समारोहकाबीच प्राण प्रतिष्ठा गरिएको हो । गोरखनाथ कल्याण केन्द्रका केन्द्रीय संरक्षक अनन्त खनालको उपस्थितीमा भएको प्राण प्रतिष्ठामा मन्दिर निर्माण खटिनू भएका इन्जिनियर सरोज श्रेष्ठ, गोरखनाथ कल्यण केन्द्रका पदाअधिकारी, मन्दिर निर्माण समितिका पदाअधिकारीहरु लगायतकाको सहभागिता रहेको थियो । 

डाँडागाउँमा मन्दिर निर्माण संगै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अभियान नै संचालन गरिने मन्दिर निर्माण समितिका केन्द्रीय अध्यक्ष विश्वबम मल्लले  विश्वास व्यक्त गर्नुभयो ।  खनालले नेपालकै उत्तम भूमिको रुपमा थाहा नगर रहेको बताउनुभयो ।

मन्दिर शिखर शैलीको बनाइएको छ । मन्दिरको कुल लागत १ करोड ३८ लाख ९५ हजार ४०२ रुपियाँ प्रारम्भिक अनुमान गरिएको भए पनि अहिलेसम्म करिब एक करोड भन्दा बढि खर्च भइसकेको निर्माण समितिका राजाराम कार्कीले बताउनुभयो ।

मन्दिर ५४ फिट उचाइको छ । मौलिक झल्को सहित साना ४ वटा गजुर रहेकाछन् । मन्दिरको गर्भगृह ९ फिट वर्गाकारको रहेको छ । मन्दिर भित्रैबाट परिक्रमा गर्नको लागि ४ फिटको परिसर निर्माण गरिएको छ ।  चारै दिशाबाट दर्शन गर्न सकिने गरी मौलिक ढाँचाको ४ वटा ढोका रहेकाछन् । थाहा नगरमा स्थापना गरिएको गोरखनाथको मन्दिर पवित्रताको हिसाबले विश्वमा पहिलो भएको समितिको दाबी छ । 

नेत्र खुलेको गोरखनाथको मुर्ति प्रतिस्थापन गरिएकोले यसको महत्व झन धेरै हुने गोरखनाथ कल्याण केन्द्र मकवानपुरका अध्यक्ष मनश्याम बस्नेतले बताउनुभयो । मन्दिर परिसरमा ध्यान गृह, विवाह, ब्रतवन्ध, होमादि शुभकार्यका लागि आवश्यक व्यवस्था गरिने गोरखनाथ कल्याण केन्द्रको योजना रहेको छ । मन्दिरका लागि तयार पारिएको     प्रस्तावनामा दर्शनार्थीलाई आवासको सुविधा प्रदान नगरिने जनाइएको छ । 

गोरखनाथ कल्याण केन्द्रले तयार पारेको मन्दिर निर्माण योजना अनुसार ‘मन्दिरको बाँयातर्फ हलको निर्माण गरिनेछ, सो हलमा शुभ सामाजिक कार्य गर्न तथा चौरासी पुजाहरु गर्नका लागि प्रबन्ध मिलाइने छ ।’ मन्दिरमा हुने दर्शनार्थीको सवारी साधनलाई व्यस्थित गर्नका लागि सुविधा सम्पन्न पार्किङको व्यवस्था गर्ने मन्दिर निर्माण समितिको भावी योजना छ । सुरक्षाको लागि सुरक्षा चौकी नै निर्माण गरिने योजना पत्रमा उल्लेख छ । यसका लागि स्थानीय तथा जिल्ला सुरक्षा निकायसंग सहकार्य गरिने योजना रहेको गोरखनाथ कल्याण केन्द्रका पुरुषोत्तम भट्टले बताउनुभयो । 

मन्दिर वास्तुशास्त्रमा आधारित रहेर निर्माण गरिएको भट्टले बताउनुभयो ।   मन्दिरका लागि स्थानीय क्षेत्रबाट पनि नगद तथा श्रमदान सहयोग जुटेको छ । –सुरजकुमार भुजेल



तस्बिरः रामकुमार कार्की

0 comments

Write Down Your Responses