Powered by Blogger.
मकवानपुर आइडल अब फाइनलतिर,३५ प्रतिश्पर्धिबाट टप १५ छानिए


पालुङ, १३ पुस । जिल्लाकै उत्कृष्ट गायन प्रतिभा खोजीका लागि सञ्चालित पहिलो मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता ‘मकवानपुर आइडल’को टप १५ छनोट गर्ने प्रतियोगिता सम्पन्न भएको छ । 
शनिबार भव्य कार्यक्रमकाबीच टप ३५ बाट टप १५ को छनोट भएको हो । प्रतिष्पर्धाबाट दिपराज केसी, दिपक कालिराज, सागर तिमिल्सिना, सुशाल थोकर, सरोज प्रधान, विजय लामा, विनिता गोपाली, सर्मिला स्यान्तान, श्रृजना कपाली, हेमन्त गोपाली,  विनिशा घिमिरे, आशिक नेगी, सुरज कार्की, सुर्य स्यान्तान, आशिका लामा टप १५ मा छानिएका छन् । 

मकवानपुरको थाहा नगरपालिका अवस्थित थाहा कला केन्द्रको आयोजनामा जारी मकवानपुर आइडलमा मकवानपुरका ३ सय ४७ जनाले प्रतिष्पर्धा गरेका थिए । खुल्ला अडिसनबाट १ सय १४ जना, दोस्रो चरणमा ३५ जना र तेस्रो चरणबाट उत्कृष्ट १५ छनोट गरिएको हो ।

प्रतियोगितामा अब चौथो चरणमा ‘टप टेन’ छानिए पश्चात फाइनल कार्यक्रम हुने छ । आयोजक समितिका संयोजक सानोवावु मोत्तानका अनुसार प्रतियोगिताको फाइनल कार्यक्रम नयाँ वर्ष अर्थात  २०७३बैशाख १ गते थाहा नगरपालिकाको जेसिस सभाहलमा हुनेछ ।

सम्पन्न टप १५ प्रतियोगिताको निर्णायक संगीतकार तथा संचारकर्मी लालकाजी श्रेष्ठ र गायक सुमन खाती रहनु भएको थियो । प्रमुख निर्णायकको रुपमा रहनुभएका संगीतकार तथा संचारकर्मी लालकाजी श्रेष्ठले मकवानपुरमा प्रतिभाको कमी नभएको र सहभागीहरुलाई निरन्तर अभ्यासको सुझाव दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका नायब सुब्बा अनिल लामिछानेले कला र संस्कृति जगेर्नाको लागि थाहा कलाकेन्द्रको यो प्रयास उल्लेखनीय रहेको बताउनु भयो । आगामी दिनमा केन्द्रको लागि संस्थागत सहयोगको कुरामा पछाडी नहट्ने जानकारी गराउनु भयो । 

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि रहनु भएका रेडियो आवाजका स्टेसन म्यानेजर राजेश श्रेष्ठले कला क्षेत्र अत्यन्तै राम्रो विधा भएको र प्रतिभा भएर पनि त्यतिकै गुम्सिएर बसेकाहरुलाई प्रतिभा प्रष्फुटन गराउन प्रतियोगिता आयोजना गरिएकोमा धन्यवादको साथ साथैे आफुले सक्दो सहयोग गर्ने र आफूले सक्ने ठाँउहरुमा सहयोगको लागि पहल गर्ने बताउनु भयो । 

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद र एक वटा गीत रेकर्ड गर्न पाउने छन । द्धितिय र तृतिय हुनेलाई क्रमश ३० हजार र २० हजार प्राप्त गर्नेछन् ।


0 comments

Write Down Your Responses