Powered by Blogger.
दिल्लीबाट देश देख्दा, दिल दुख्यो हजुर !

सुरज प्याकुरेल
केहि दिन अगाडी काम विशेषले भारतको राजधानी दिल्ली पुगेको थिएँ । हुन त दिल दुख्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नै सुरु भईसकेको थियो । 

नाकाबन्दीको हवाला दिएर हवाई टिकटको मूल्य निकै नै चर्को थियो ।  झट्ट दिमागमा आयो, ’ किन बढ्यो हवाईयात्राको मूल्य ?’ के बढी शुल्क तिर्दैमा बढी उडान भरिने हो र ? कि बढी तेल ल्याउन सक्ने हो एरलाइन्स कम्पनीले ? बुझ्दै जाँदा खास कुरा अर्कै रहेछ । उनीहरले तेल ब्ल्याकमा किनेको पनि होइन रहेछ ।

न त हवाई तेल अवाभले बढी पैसा खर्च नै हुने रहेछ । यो त सरासर ठगी रहेछ । नाकाबन्दीको नाउँमा जनतालाई दिइएको धोका रहेछ । तर कसले बोल्ने उनीहरुका विरुद्धमा? कसले कार्वाही गर्ने उनीहरुलाई ?

जहाज भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भयो र केहि समयपछी हामी विमानस्थाल बाहिर पुग्यौं । लाग्दैथियो नाकाबन्दी भारतले भन्दापनि नरेन्द्र मोदीले गरेका रहेछन् । केजरीवालको सरकार रहेको दिल्लीमा त नेपालीलाइ गरिने मान एकरति पनि कम भएको रहेनछ ।  

यहाँ त भारतीयहरु अझ हिनताबोध  गर्दारहेछन् , नरेन्द्र मोदीले गरेको नाकाबन्दीमा पुरै भारतलाई दोष लगाइयो भनेर । हामीलाई भारतको नयाँदिल्ली स्थित लक्ष्मीनगर भन्ने ठाउँमा पुग्नु थियो । विमानस्थलबाट प्रिपेड ट्याक्सी लियौं । भारु ४०० तिरेर ४० मिनेटको बाटो । अझ उसलाई फर्कनु पनि थियो उही विमानस्थल. त्यति बेला देशलाइ सम्झें ।  हाम्रो देशमा ट्याक्सीले लिने भाडा सम्झें  दिल दुखिय्ह्यो ।

झन्डै ४० मिनेट यात्रा गरेपछि पुगियो लक्ष्मीनगर । एउटा मिनी नेपाल । जहाँ जताततै नेपालीहरु भेटिन्छन् । केहि साक्षात्कार गर्न मन लाग्या ।  उनीहरुको कुरा सुनेर म त छक्कै परें । देशप्रतिको मायाँले पलपल उनीहरुको दिल दुख्दो रहेछ । ४० रुपैयाँको अटोको यात्रा केहि सयमा ट्याक्सीको सफर, घर भाडालाई छोडेर सस्तो बसाइ, ३० रुपैयाँको धित मर्नेगरी ताजा जुस पिएको बानी अनि गल्ली गल्लीहरुमा रोटि र चिया पकाउँदा हुरहुर बलेको ग्याँस । प्रत्येक दृश्यले देश झस्काउँदो रहेछ ।  प्रत्येक दृश्यले देश सम्झाउँदो रहेछ, जिस्काउँदो रहेछ अनि ती दिलहरु निकै दुख्दारहेछन् । 

केहि बर्ष अघिसम्म भारतको नयाँ दिल्लीको० बसाइ निकै नै महँगो ठानिन्थ्यो, निकै नै अफ्ठ्यारो मानिन्थ्यो । तर आज समय फेरिएको छ ।  भारतको नयाँ दिल्लीको बसाई सस्तो भएको छ । त्यहाँको बजार सस्तिएर होइन नेपालको महंगीएर । मुद्राको भाउमा ६० प्रतिशतको फरक छ र पनि सस्तो भएको छ भारतको लक्ष्मीनगर अनि महँगो भएको छ देश । अनि किन नदुखोस् दिलहरु ।
   
त्यहाँका जनतालाई हाम्रो स्थिति बारेमा पनि भन्यौं हामीले । सुन्दा उनीहरु सान्त्वनाका सुस्केराहरु फाल्छन्, देशलाइ चाहिएको नेताका बारेमा कुराकानी गर्छन्, आफ्नै देशका प्रधानमन्त्रीलाई सराप्छन् अनी नेपालीहरुको दुखमा सब्दका मल्हम लगाउन थाल्छन् । उनीहरुले यतिसम्म भने, ’हवाईजहाजबाट मिल्ने भए एक सिलिन्डर ग्याँस लैजानुहोस् ।’ उनीहरुले देखाएको महानता सम्मानयोग्य थियो तर त्यो सम्भव थिएन ।

अनि किन नदुखोस् यो दिल जव भारतका जनताहरु नेपालीलाई यति धेरै मायाँ गर्छन, सद्भाव राख्छन्, तर हाम्रो देशको स्थिति केहि फरक छ । केहि दिनपछी नेपाल फर्कनु छ ।  घरमा ग्याँस छैन । ग्याँस भन्दापनि पैसा छैन । एक सिलिन्डर ग्याँसको ठ्याक्कै १० हजार तिर्नुछ, कमाइ पनि लगभग त्यति नि होला । त्यो कष्टकर जिन्दगी फर्किंदा विमानस्थलबाट नै सुरु हुनेछ । 

विमानस्थलबाट कोटेश्वर जान ट्याक्सीले ७०० माग्नेछ । अनि म देशलाई सराप्दै आफ्ना लगेजहरु घिसार्दै फेरी च्यापिएर, रन्थनिएर, कोचिएर उही मिनीबसमा १० मिनेटको बाटोलाइ आधा घण्टा लगाएर विना विद्यार्थी छुटको भाडा तिरेर जानेछु घर । मोबाइलमा चार्ज गर्न बत्ति कुर्नु पर्नेछ । १० हजार जम्मा पारेर ग्याँस लिन दौडनु छ । अनि अरु कति हो कति दुःख खेप्नुपर्नेछ  र त दिल्लीबाट देश देख्दा दिल दुख्यो हजुर !



0 comments

Write Down Your Responses