Powered by Blogger.
पालुङमा चिसो अत्याधिक, टहरामुनी बसेका भूकम्प पिडित बिरामी पर्न थाले


पालुङ, ३ पुस । १२ वैशाखको भूकम्पले घरबारविहीन उत्तरी मकवानपुरको सिमभञ्ज्याङ नजिक अस्थायी शिविरमा बसिरहेका भूकम्पपीडितलाई कठ्यांग्रिँदो चिसो अर्को संकट बनेर आएको छ । 

आठ महिनादेखि पाल मुनि र अस्थायी टहरामा बस्दै आएका यहाँका पिडितको बसाइ चिसोका कारण कष्टकर बन्दै गएको छ । केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । भूकम्पले जमिन चर्किएर बिस्थापित भएका मकवानपुरको नामटारका भूकम्प प्रभावितहरुसँग न पेट भर्ने अन्न छ, न आङ ढाक्ने कपडा ।

 बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्याले सताइरहेको वेला कठयांग्रिँदो चिसोले झन् पीडा दिएको छ । नामटारका सिताराम मोत्तान वर्षांैदेखि बस्दै आएको गाउँबाट विस्थापित भएर त्रिपाल मुनिको बासमा छन् । उनले सो शिविरमा बस्नको लागि अत्यन्तै गाह्रो भइरहेको बताए । जाडो बढेपछि यहाँका  टहरा मुनि बसेका भूकम्प पिडितलाई चिन्ता बढेको अस्थाई शिविर व्यवस्थापन समितिका अध्यक्ष मोक्तानको भनाई छ । 

सिडिओलाई बारम्बार भनि रहँदा पनि यसतर्फ चासो नदिएको र तत्काल सहयोग गर्न नसकिने जवाफ आएको मोत्तानले बताए ।भूकम्पले जमिन चर्किएर बिस्थापित भएका नामटार १ दुम्सी डाँडा घर भई हाल अस्थाइ  टहरामा बस्दै आएका ५२ बर्षीया कान्छीमाया रुम्बालाई पनि यही समस्या छ । 

उनले भनिन् ‘चिसोले साह्रै सताएको छ, चिसोसँगै चारजनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले समेत पिरोलेको छ । उनले पीडा पोखिन् ‘सात,आठ महिना बितिसक्दा पनि सरकारले गाँसबासको व्यवस्था गरेको छैन । पाल मुनि बसेर यो चिसो धान्न सकिएला जस्तो छैन । 

अस्थाई टहरामा बसेकाहरुलाई विजुली वत्तीको व्यवस्था गर्नको लागि पहल गर्दा नमिल्ने कुरा बताए पछि घाम पावर प्रालि काठमाण्डौबाट सोलार सहयोग गरिएको छ । त्यसले अन्धकारबाट बचे पनि चिसोले गर्दा समस्या उत्पन्न गराएको भन्दै अका पिडित शिवकमार बलले गुनासो गरे ।

त्यसो त सदाबहार चिसो हुने ठाउँ दामन सिमभञ्याङमा केहि दिन यता अत्याधिक चिसो बढेको छ । चिसो बढेसँगै स्थानीयवासीको चहलपहल शून्य जस्तै छ भने दिन भरि मानिसहरू खेतिपातिमा लागे पनि रातीमा भने जाडोले गर्दा चिन्ता थपेको बताउँछन् समाजसेवी तथा बँसिफाँट माविका विद्यालय व्यवस्थापन समितका अध्यक्ष विनोद लामा । चिसोले गर्दा विद्यालयहरु पनि यसबाट प्रभावित भएका छन् । ‘एलएससी परिक्षाको तयारीको  लागि बिहान पढ्न जाँनु पर्छ तर जाडोले गर्दा पढ्नै मन लाग्दैन ।  कहिले घाम लाग्ला भन्ने मात्र मनमा आउँछ तर बाध्यता छ ।’ एक स्कुले विद्यार्थीले दुख पोखे । 

अझ भारतले गरेको अघोषित नाकाबन्दीका कारण थाहा नगरमा ग्यासको चरम अभाव भएपछि टाढा टाढा बाट पढ्न आएका विद्याथीहरुलाई थप समस्यामा परेका छन् । ‘ग्यास छैन, आगोमा खाना पकाउन दाउरा छैन,’ धादिङ घर भई हाल पढ्नको लागि पालुङ बस्दै गरेका विवेक तामाङले दुख पोखे । ‘कोठामा बसेको छु, ग्यास छैन, दाउरा नी पाउँदैन,हिटरमा पकाएर खाइरहेको छु , लाइन गयो भने खाना पाउँदैन ।’ उनको भनाई छ । त्यस्तै अर्का विद्यार्थी दिपक कालिराजले भने, ‘ग्यास आयो आयो भन्छन बजारमा तर खोज्न जादाँ छैन भन्छ, धेरै गाह्रो भइरहेको छ । हामीलाई ग्यासको व्यवस्था गरि दिए हामी टाढाबाट आएर बसेका विद्याथीहरुलाई केहि राहात मिल्ने थियो ।’

चिसोसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ । चिसोले दीर्घरोगी, रक्तचाप असन्तुलन भएका तथा बालबालिका र वृद्धवृद्धाको संख्या बढेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका अहेब चिनीया लामाले बताए ।  ‘रुघाखोकी र ज्वरोका बिरामीलाई विशेष सावधानी अपनाउन’ स्वस्थ्य केन्द्र प्रमुख लामाले सल्लाह दिएका छन् । 

चिसोमा सके सम्म बिहान वेलुका घर बाहिर निस्कनुपर्दा न्यानो कपडा लगाएर निस्कन अनुरोध छ , उनले आग्रह गरे ।  रुघाखोकी र ज्वरो एक दुई दिनमा ठीक नभए तुरुन्त जाँच गराउनुपर्ने र स्वास्थ्य जाँचमा ढिलाई भए निको हुन समय लाग्ने उनी बताउँछन् । 

 भूकम्पपीडित बस्दै आएको टहराका पिडितलाई खतरा धेरै हुने भएकोले जतिखेर जे जस्तो समस्या परेता पनि सहयोग गर्न तयार रहेको लामाले बताए ।  ६० घर धुरी वस्दै आएको भूकम्प पिडितहरुले सरकारसँग छिटो भन्दा छिटो निश्चित ठाउँ तोकि वास स्थानान्तरणको व्यवस्था गरिदिन माग गरेका छन् ।– रुपक कालिराज÷पालुङ



0 comments

Write Down Your Responses