Powered by Blogger.
तुषारो ‘ओढेर’ सुत्छन् थाहा नगरका भूकम्पपीडित

रामजी बलामी,बज्रवाराही
बज्रवाराही, थाहानगर,७ पुस  । ‘चिसो झन झन बढ्दै छ, राहत काट्नै मुस्किल हुन हुन थाल्यो, साँझ परेपछि चुलो छोड्न सकिदैन, सुत्न गए थर्थर काम्दै रात बित्छ, जस्ताबाट चुहिने शितले ओढेर सुतेको सिरक निथ्रुक्क भिज्छ” 
यी हुन् थाहा नगरपालिका १४ का एकल महिला गोमाया बलामीको दुखेसो । उमेरले करिव ७ दशक पार गरेका उहाँको घर गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्किएका छन् । त्यसो त उहाँले बास बस्नका लागि जस्तापाताले अस्थायी छाप्रो बनाउनु भएको छ, जुन अहिले उहाँका लागि ‘खाए खाउ, नखाए घिच’ भने जस्तो भएको छ । 

उनी मात्रै होईन सोही ठाउँका बलराम बलामीको चिन्ता पनि उस्तै छ । ‘वर्षाभरी किरा, भ्यागुता, सर्प धपाउदै ठिक्क, अब जाडो लाग्यो रातभर सुत्न गाह्रो ।’ बलामीले भन्नु भयो । तुषारो पर्दा जस्ताबाट आउने शितले सिरक, ब्लांकैट र तन्ना ओढेर पनि निदाँउनै नसकेको उहाँको तितो अनुभव छ । 

चिसोले गर्दा बृद्धबृद्धा र बालबालिकालाई धैरै सास्ती भैरहेको अर्का भूकम्पपीडित न्हुच्छेनारायण बलामीले वताउनु भयो । ‘सरकारको आश, टहरोको बास, जाडो काट्न निकै गाह्रो भैरहेको छ’ उहाँले भन्नु भयो ।त्यसो त जाडोका कारण कतिपय बाध्य भएर डराई डराई भए पनि चर्किएका घर भित्रै सुत्न थालेका छन् भने कतिपय अस्थायी घरभित्र खाना खाएर टहरोमा सुतिरहेका छन् । 

भएका लत्ता कपडा र अन्नपात समेत भण्डार गर्ने ठाउँ नहुँदा कोहीले आफन्तकोमा राखेका छन् भने कोहीले एकै ठाँउमा थुपारेका छन । जसले गर्दा अन्नपात बिग्रिने र मुसाले खाने समस्याले हैरानी खेपिरहेका छन् ।  कतिपय भने सरकारले दिने भनिएको दुई लाख रुपैँया पाउँला र घर बनाउँला भन्ने आशमा छन, कोही भने पुख्र्यौली जग्गा बेचेर घर बनाउने सुरसारमा छन् ।

बज्रवाराहीको यो लिलाखेल गाँउमा मात्रै करिव डेढ दर्जन घरहरु भत्किएका छन् भने दुई दर्जन घरहरु बस्नै नमिल्ने अवस्थामा छन् । थाहा नगरपालिकाको तथ्यांक अनुसार यस वडामा मात्रै १ सय ९६ घर पूर्णक्षति र ८५ घर आंशिक क्षतिमा सुचिकृत छन् । तर तथ्यांक संकलन गर्न आउने कर्मचारी र स्थानीय निकायको निस्क्रियताका कारण धेरैको तथ्यांक गलत हुन पुगेको स्थानीयका आरोप छ । 

बज्रवाराही वडा कार्यालयमा मात्रै करिव ३ सय जनाले तथ्यांक सच्याउन माग गर्दै निबेदन दर्ता गराएका छन । तर निवेदन दिएको तीन महिना बितिसक्दा समेत त्यसको कुनै सुनुवाई नभएको स्थानीयको भनाई छ । यहाँका कतिपय नचर्किएका घरहरु समेत पूर्णक्षतिमा पारिएका छन् भने केही भत्केका र बस्नै नमिल्ने  अवस्थामा रहेका घरहरुसमेत आंशिक क्षतिको सूचिमा राखिएका छन् ।

सरकारले करिव ५ महिना अगाडि नै वितरण गरेको १५ हजार रुपैया पनि यहाँ कसैले पाएका छैनन् । थाहा नगरपालिका अन्तर्गत अन्य क्षेत्रहरुमा यो रकम वितरण भैसक्दा पनि बज्रवाराहीका ११, १२, १३, १४ र १५ वडामा यो रकम वितरण भएको छैन । बज्रवाराही अन्तर्गत कुन्छाल, लिलाखेल, तसर, सानो फाखेल लगायतका ठाउँहरु भूकम्पबाट बढी प्रभावित छन् ।

स्थानीय वडा कार्यालय र नगरपालिकाले भने जिल्लाबाटै राहत रकम नआएकाले भूकम्पपीडितलाई वितरण गर्न नसकिएको बताएको छ । सरकारले हालै जाडोका लागि राहत भन्दै दिने भनिएको १० हजार रुपैंया यहाँका स्थानीयका लागि ‘आकासको फल आँखा तरि मर’ भने जस्तो भएको छ । वडा कार्यालयलै विभिन्न स्थानीय निकायबाट उठाएको करिव डेढ लाख रुपैंया समेत अझै वितरण नगरेपछि भूकम्पपीडितहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरिरहेका छन्  ।

0 comments

Write Down Your Responses