Powered by Blogger.
युद्धकालिन झल्को दिंदै विप्लवका कार्यकर्ता मकवानपुरको गाउँ छिरे


हेटौंडा , १० माघ ।  अहिले हेटौँडा बजारमा बिप्लव नेतृत्वको माओवादी ‘साइलेन्ट’ देखिन्छ । केहीदिनअघि कालाबजारी गरेको आरोपमा एउटा यात्रुबाहक बसबाट पेट्रोल र ग्याँस खोसेपछि चर्चामा रहेको बिप्लव माओवादी सहरमा साइलेन्ट देखिनुको कारण हो–उनीहरुको गाउँयात्रा । 

गाउँ पुगेर यतिखेर बिप्लव नेतृत्वको माओवादीले जनयुद्धकै शैलीमा व्यवहारहरु गरिरहेको खबर छ । मातृका यादव नेतृत्वको नेकपा माओवादीको जिल्ला कमिटीलाई नै आफ्नो पार्टीमा बिलय गराएपछि मकवानपुरको बिप्लव नेतृत्वको माओवादी यतिखेर युद्धकालीन झल्को दिँदै गाउँ पसेको हो । 

जिल्लाको फाखेल गाविसको बिकट गाउँहरुमा पुगेर उसले घरदैलो गरिरहेको छ । जनताकै घरमा जाने, उतै बस्ने र जनताकै सहभागितामा खाने गरेका उनीहरुले पहिलो चरणमा घरदैलो गरेर आफ्नो अस्तित्व गाउँमा देखाउन लागेको हो । 

‘युद्ध लड्दाताकाकै शैलीमा छौ’, बिप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी बीरबहादुर घलान ज्वालाले टेलिफोनमा भने, ‘बन्दुक मात्र बोक्न बाँकी छ ।’ उनले फेसबुकमार्फत युद्ध लड्ने तयारी भएको, जनयुद्ध फेरि सुरु हुने आशयका पोष्टहरु लेखेका छन् भने फोटोहरु समेत सार्वजनिक गरेका छन् । 

केहीदिनअघि कालाबजारीको आरोपमा यात्रुबाहक बसबाट ग्याँस र पेटूोल खोसेर उसले जनतालाई बाँडेको दाबी गरेको थियो । सो घटनामा संलग्न दुई युवाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्रेर मुद्दा चलाएकामा उनीहरुले सफाई पाएसँगै विप्लव माओवादी गाउँ पसेको हो । 

२५ जनाभन्दा बढीको संख्यामा रहेका उनीहरुले फाखेल हुदै मकवानपुरको थाहा नगरपालिकाको बजारमा आइतबार बिप्लव नेतृत्वको माओवादी आइपुगेको छ । यस ठाँउ हुदैैँ जिल्लाको उत्तरी क्षेत्रका दुर्गम गाउँहरु आग्रा, डाँडाखर्क हुँदै काँकडासम्म पुग्ने लक्ष्य लिएको सेक्रेटरी ज्वालाले बताए ।

माओवादीले शसस्त्र युद्ध गर्दा सोही क्षेत्रलाई सेल्टर बनाएको थियो । ‘पूर्ण रुपमा युद्ध लड्ने मनस्थितिमै छौं, तर बेला भइसकेको छैन’, विप्लव माओवादिका केन्द्रिय सदस्य चिरण पुनले भन्नु भयो । सेक्रेटरी ज्वाला भन्छन्–‘अहिले हामी तत्कालीन जनयुद्ध लड्दाताकाका बाटा र सहयोगीहरुको घरघरै पुग्न थालेका छौ ।’ स्थानीयबासिन्दाको घर पुगेर उनीहरुका सुखदुःख बुझ्ने तथा उनीहरुका विचार बुझ्ने हिसावले गाउँ पसिएको ज्वालाले बताए । 

अहिले एकीकृत राजनीतिक अभियान नाम दिइएको सो अभियानमा युवा, महिला र पुरुष, मजदुर सबै क्षेत्रको प्रतिनिधित्व रहेको छ । अभियानमार्फत देशमा कालोबजारी मौलाएको, जनताले सोचेजस्तो उपलब्धी नपाएको लगायतका सन्देश जनतामाझ पु¥याउने र उनीहरुलाई त्यसका विरुद्ध आन्दोलन चर्काउन आफ्नो पार्टी लागेको प्रतिबद्धता व्यक्त गर्ने काम भइरहेको ज्वालाले जनाए ।

अरु पार्टी गाउँमा नगएकाले आफ्नो पार्टी जनसमक्ष पुगेको उनको तर्क थियो ।




0 comments

Write Down Your Responses