Powered by Blogger.
रुखमा माइक झुन्ड्याएर बोलेका विगत, दामन पालुङमा त्यसै बजेका छैनन् अहिले रेडीयो

कुमार नेगी
आजको समयसम्म आइपुग्दा अडियो टावरबारे धेरैलाई जानकारी नभएको हुनसक्छ । नेपालको पत्रकारिता र सूचना तथा संचार प्रविधिको इतिहासमा एउटा छोटो कालखण्डका बीच यसको उदय तथा लोप भयो ।

यसको शुरुवात  मकवानपुरको पालुङबाट भएको थियो र त्यस्तो प्रविधिबारे अनुसन्धान गर्ने क्रममा उत्तरपूर्वी एसियामा अडियो टावर संचालनमा रहेको भए पनि दक्षिण एसियामा भने त्यस्तो प्रविधि नेपालमा मात्र भएको पत्ता लागेको थियो । तथापि अडियो टावरलाई एसिया वा विश्वको कुनै मुलुकबाट नेपाल भित्रयाइएको थिएन । विक्रम सम्वत २०५० को दशकमा नेपालमा अडियो टावर सक्रिय रुपमा संचालनमा थियो ।

नेपालको ध्वनी पत्रकारिताको इतिहासमा सामुदायिक रेडियोको एउटा प्रारम्भिक शुरुवात अडियो टावर थियो भन्दा अत्युक्ति नहोला । हाल संचालनमा रहिरहेको रेडियो पालुङ अडियो  टावरबाटै विकसित भएको हो । माइक्रोफोन, हर्नमाइक, एम्प्लिफायर, क्यासेट प्लेयरको प्रयोगबाट अडियो टावर संचालन हुन्थ्यो । पालुङको अंगारेस्थित एउटा पैंयुको रुखमा चारवटा हर्नमाइक चारैतिर तेस्र्याएर राखिएका थियो । त्यही माइकबाट आएको आवाज वरपर गाउँका मानिसहरुले प्रत्यक्ष रुपमा सुन्थे । 

नजिकैको घरको एउटा कोठामा एम्लिफायरबाट माइकसम्म तार जोडिएको थियो । त्यही कोठामा बसेर गाउँका स्वयंसेवी युवाहरु माइक्रोफोनमा बोल्थे । त्यही आवाज गाउँका मानिसहरु ठूलो ध्वनीको रुपमा सुन्थे । बीचबीचमा गीतसंगीत पनि बजाइन्थ्यो । प्रत्येक हप्ताको शनिबार साँझ दिनको दुई घण्टा नियमित रुपमा अडियो टावर संचालन हुन्थ्यो । लोक धुनसँगै शुरु हुने अडियो टावरबाट विभिन्न कार्यक्रमहरु प्रशारण हुन्थ्यो । 
दुई घण्टाको अवधि १५ मिनेट र ३० मिनेटका कार्यक्रमहरुलाई छुट्याइएको थियो । ती कार्यक्रमहरुमा बाल कार्यक्रम, कृषि कार्यक्रम, समाचार, महिला कार्यक्रम, स्वास्थ्य कार्यक्रम आदि थिए । कार्यक्रममा प्रस्तोताको एकोहोरो आवाज मात्र नभई सम्बन्धित व्यक्तिहरुसंग गरिएको कुराकानी, गीत, नाटक, समाचार, जनआवाज आदि समावेश  हुन्थे । कार्यक्रमहरु पहिले नै रेकर्ड  गरिएको हुदैनथ्यो, सबै प्रत्यक्ष नै      हुन्थ्यो ।

 क्यासेट प्लेएरबाट गीत बजाउनु प¥यो भने पहिले नै साइड र गीतको क्यू मिलाएर राख्नुपथ्र्यो । स्थानीय     कलाकारहरुले गाउने गीत पनि प्रत्यक्ष नै   हुन्थ्यो । कलाकारहरु मादल, हारमोनियम, बाँसुरी लगायत बाद्यवादनसहित तयारी अवस्थामा नै आउँथे । हामीसँग कुनै कम्प्युटर थिएन र शुरुका वर्षहरुमा त्यसको ज्ञान पनि थिएन ।  

२०५५ सालदेखि म अडियो टावरमा आवद्ध भएको थिएँ । त्यही साल अडियो टावरको संचालक संस्था सामुदायिक संचार केन्द्रको म सहसचिब पनि भएको थिएँ । त्यसअघि म भित्ते पत्रिकाको प्रकाशन गरिरहेको थिएँ । २०५२ सालदेखि नै म भित्तेपत्रिकाको सम्पादन र प्रकाशनमा सक्रिय थिएँ । त्यही सक्रियताको कारण पहिलोपटक पालुङका राम कार्कीले मलाई अडियो टावरमा आवद्ध हुन आग्रह गरेका थिए ।

अडियो टावरमा शुरु देखि नै सक्रिय कार्कीसँग त्यो नै मेरो पहिलो भेट थियो । अडियो टावरमा आवद्ध भएको केही महिनामै मलाई सामुदायिक संचार केन्द्रले अडियो टावरको कार्यक्रम संयोजक बनाएको थियो । २०६० सालसम्म नियमित रुपमा अडियो टावर संचालन भएर       रेडियो पालुङ स्थापना भएपछि मात्र अडियो टावर बन्द भएको थियो । 

शुरुमा अडियो टावरमा हुँदा म गाउँबेसी भन्ने कार्यक्रममा आवद्ध भएको थिएँ । कार्यक्रमको नेतृत्व दयाराम कार्कीले गर्थे । उनैले मलाई आवाजको क्षेत्रका केही ज्ञान दिएका थिए ।साथै श्रोताहरुले हाम्रो आवाज मात्र सुन्ने भएकाले कसरी बोल्दा प्रभावकारी हुन्छ भन्ने बारे पनि उनैले जानकारी दिएका थिए ।  बोल्दा प्रयोग गरिने भाषाको बारेमा पनि उनले केही बताए । यस कार्यमा दीपक हमालले पनि सुझाएका थिए । त्यतिखेर दयाराम कार्की, दीपक हमाल र धिरज ढकाल विशेषगरी नाटकको क्षेत्रमा विशेष दखल राख्थे ।

त्यतिखेर जिल्ला विकास समितिसँग समन्वय गरेर एचआइभी एड्ससँग सम्बन्धित सचेतनामुलक  नाटक पनि प्रशारण गरिन्थ्यो । कार्यक्रम संयोजक भएपछि मैले अन्य कार्यक्रमहरुको बारेमा पनि चासो राख्न थालेको थिएँ । कपिल ढकालले कृषि कार्यक्रम ‘खेतीपाती’ र सीताराम बयलकोटीले बाल कार्यक्रम ‘पालुवा’ को संयोजन गर्थे । उषा केसी र ममता थापा बाल कार्यक्रममा बोल्थे । बबिता ढकाल महिला कार्यक्रममा बोल्थिन् । विष्णुहरी ढकाल, शम्भुसिं कार्की लगायतले व्यवस्थापनमा सहयोग गर्थे । अडियो टावरका संचालक संस्थाका संस्थापक अध्यक्ष मणिराज ढकाल थिए । 

मेरो गाउँबाट अडियो टावरसम्म पुग्न मलाई करीब ४५ मिनेट लाग्थ्यो । हरेक दिनजसो म अडियो टावरमा      पुग्थें । हामी शनिबार बाहेक अन्य बारमा अडियो टावरबाट प्रशारण गर्ने कार्यक्रम, विषयवस्तु आदिका बारेमा छलफल     गथ्र्यौं । अहिले गाउँमा के बेला छ, के सन्देश दिनुपर्छ, त्यस्तो जानकारी कोसँग कहाँ पाइन्छ जस्ता विषयमा छलफल गर्ने र तयारी गर्ने गथ्र्यौं । 

बेलाबेला तालिमको आयोजना पनि गरिन्थ्यो । २०५५ सालमा नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथा एफएम संचालन गर्ने अनुमति पाएपछि हामी पनि सानो र फुर्तिलो     रेडियो संचालन गर्ने निधोमा पुगेका     थियौं । त्यही क्रममा २०५७ सालमा हामीले सूचना तथा संचार मन्त्रालयमा    रेडियो संचालन अनुमतिको लागि निवेदन दिएका थियौं । 

दक्षिण एसियामै पहिलोपटक संचालनमा आएको अडियो टावरले त्यतिखेर नेपालमा मात्र नभएर दक्षिण एसियामै ख्याती कमाएको थियो । हामीले अडियो टावर संचालन गरेपछि हाम्रो सिकोबाट नेपालमा धेरै स्थानमा अडियो टावर स्थापना भएका थिए । 

मकवानपुरमा पनि मकवानपुरगढी र छतिवनमा अडियो टावर संचालनमा आएको थियो । २०५७ सालमा हामीले देशभरिका अडियो टावरका प्रतिनिधिहरुलाई दामनमा बोलाएर अडियो टावरहरुको     राष्ट्रिय सम्मेलन नै गरेका थियौं । हामीलाई गोपाल गुरागाईं, उपेन्द्र अर्याल, हेमबहादुर बिष्ट र भारतदत्त कोइरालाले शुरुदेखि नै सहयोग गर्दै आएका थिए । 

उनीहरुले बेलाबेलामा भारत, श्रीलंका लगायत अन्य देशहरुका नागरिकहरुलाई अडियो टावर अवलोकन गराउन ल्याइरहन्थे । नेपालका विभिन्न स्थानबाट अडियो टावरको भ्रमण गर्नेहरु त लगभग प्रत्येक हप्ता नै आउने गर्थे । हामीले प्रयोग गरेको प्रविधि, सामाजिक कार्यप्रति हाम्रो लगाव, सामुदायिक र सहभागितामुलक संचारबारे हाम्रो बुझाई, त्यसको प्रभावकारिता देखेर भ्रमणकर्ताहरु दंग पर्थे । 

हुन पनि हाम्रो कार्यक्रमले समुदायका व्यक्तिहरुलाई आधुनिक तरिकाले खेती गर्ने तरिका सिकाउँथ्यो । बाली लगाउने तयारी, मलको प्रयोग, गोडमेलको तरिका सबै जानकारी किसानहरुले अडियो टावरबाटै पाउँथे । कहाँ कुन तरकारीको भाउ कति छ भन्ने समेत जानकारी पाउँथे । 

त्यस्तै उनीहरुले पालुङमा कसले ठूलो काउली फलायो, कसले कति सफलता प्राप्त गरे, कहाँ के भयो भन्ने जानकारी समेत पाउँथे । बालबालिकाहरु अडियो टावरबाट कविता, चुट्किला बाचन गर्न लाइन नै बस्थे ।
यसले गर्दा उनीहरुले पहिलेजस्तो गुच्चा खेल्न र बरालिन छाडेका थिए । स्थानीय गायक गायिकाहरु अडियो टावरबाट गीत गाउन पालो पर्खिन्थे । 

समग्रमा समुदायमा अडियो टावरको प्रभाव राम्रो थियो ।   करिब दामन र पालुङ गाविसका गरी १७ सय परिवारले अडियो टावर राम्ररी सुन्न सक्थे । अहिले मकवानपुरमा कुनै अडियो टावर संचालनमा छैनन् । नेपालमै अडियो टावर संचालनमा रहेको सुनिएको छैन । 

एफएमहरु खुल्न थालेको र अत्याधुनिक सूचना प्रविधिको विकास भईरहेकोले अडियो टावरको महत्व घटेको र भएको पनि बन्द हुन थालेको हो ।तर अहिले पनि ग्रामीण बस्तीहरुमा सामुदायिक संचारको एउटा महत्वपूर्ण औजारको रुपमा अडियो टावर स्थापना गरी संचालन गर्न  सकिन्छ ।

0 comments

Write Down Your Responses