Powered by Blogger.
सिमभञ्ज्याङका भूकम्प प्रभावित भकाभक बिरामी पर्न थाले, न्यानो ल्याउने आशामा बसेका सांसद सडकबाटै नियालेर टाप कसे


रुपक कालिराज

दामन, १६ माघ । टहरामा बस्दै आएका उत्तरी मकवानपुर स्थित दामन सिमभन्ज्याङका भूकम्प प्रभावित जनतामा बिभिन्न खालका रोगहरू देखा पर्न थालेका छन् ।

बढ्दो चिसोसँगै बिरामीहरूको सङ्ख्या समेत  बढ्दै गएको छ । यसले भूकम्प प्रभावितहरू थप समस्यामा परेका छन् ।

टहरामा मुनिको बसाईका कारण सबैभन्दा बढी दम, खोकी लगायतका रोगका दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, तथा गर्भवती र सुत्केरी महिलाहरू प्रभावित भएका हुन् ।

मकवानपुरको थाहा नगरपालिका आग्रा, गोगने, नामटार लगायतका स्थानबाट यस्ता खालका रोगका बिरामीहरू आउन थालेको स्थास्थ्यकर्मी बताउँछन् ।

अस्पतालमा दम, निमोनिया, रुघाखोकी, ज्वरो, झाडापखाला तथा छालाका रोगका बिरामीहरूको सङ्ख्या निक्कै छ । 

नामटारबाट बिस्थापित भएर हाल मकवानपुरको सिमभञ्ज्याङ नजिक अस्थायी शिविरमा बसिरहेका भिमबहादुर मोक्तानको मुटुको भल्व फेर्नु पर्ने अवस्था आएको चिकित्सकहरुले बताएका छन् । तर उनी आफैं बस्ने खाने ठेगान नभएर अलपत्र छन् ।   

अपरेसन गर्नु पर्ने र उपचार गर्नको लागि ३–४ लाख रुपिँया खर्च लाग्ने चिकित्सकले बताएको मोक्तानले जानकारी दिए ।


विगत केहि महिना देखि रोग लागेपनि हाल चिसोले धेरै असर गरेको मोक्तानले बताए । मोक्तानले अहिले १ महिनाको लागि औषधी सेवन गरिरहेको र १ महिना पछि अपरेशन गर्नु पर्ने अवस्था छ ।

अपरेशन गर्नको लागि खर्च नभएको भन्दै उनले केही सहयोग गरेर आफ्नो ज्यान बचाइदिन फरक र परोपकारी सोच भएकाहरुलाई आग्रह गरेका छन् । 

अस्थायी शिविरमा बसिरहेका नामटार गाविसका ३ बालबच्चाकी आमा सुन्तली लामाको गुनासो पनि उस्तै छ । ५ जनाको परिवारमा बस्दै आएकी  सुन्तली न्यानो कपडा वा न्यानोको खोजीमा देखिन्छिन् । 

उनले  हिमालको स्याँठ तथा तुसारोको चिसोले लुगलुग काँप्दै गहभरि आँशु पारेर सहयोगको आग्रह गरिन् । उनी भन्छिन् ‘भूकम्पमा परेर बाँचियो  तर अब त चिसोले बाँचिदैन होला ।’

सरकारले यत्रो महिना सम्म केहि नगरेकामा उनको मन खिन्न भएको छ । ‘चिसो झन् बढ्दै छ, रात काट्नै मुस्किल हुन  थाल्यो, सरकारले दिने भनेको राहत  पनि कहिले पाउने हो’ गोगने गाविस वडा नम्मर १ की एकल महिला गौरी ढकालले दुखेसो पोखिन् । 

त्यस्तै सिमभञ्ज्याङ नजिक अस्थायी शिविरमा बसिरहेका धनबहादुर गोलेको परिवारमा पनि उस्तै समस्या छ । गोलेका परिवारको कमाई न्युन छ  । न्यानोको लागी आगो भन्दा अर्को विकल्प छैन ।

‘घर भूकम्पले भत्कायो, पुरिएको अन्नपात र लुगाफाटा पनि निकाल्न सकेको छैन,’ उनले भने ‘शीत र हावाको चिसोले यसपालि मरिएला जस्तो छ ।’ 

‘भूकम्पले घर भत्काईदियो ,अतिकति घरले न्यानो दिन्थो त्यो पनि रहेन  । भएका पुराना लुगाफाँटा पनि छोपीए । अन्य तातोका केही पनि कपडा छैन । ’ उनले संवाददाता समक्ष नै केही न्यानो कपडा भए छोडेर जान आग्रह गरे । 

कृष्णबहादुर बलले पनि सरकारले दिने भनेको पैसा दिनेबारे आशा मारिसकें । ‘भनेको पैसा पनि कहिले दिन्छ, दिने बित्तिकै सबै पैसाको सिरक डसना नै किनी हाल्थें ।’ उनले भने, ‘टहरा मुनि सुत्यो भने रातभरि शीत चुहिएर भोलिपल्ट बिरामी नै परिन्छ, ‘७ जना परिवार छ । 

परिवारलाई खानाको लागि के गर्ने, कसरी खाने भन्ने चिन्ता छ । ’ ७२ वर्षिय वृद्धाले भने । नामटार जुरेथुमका कक्षा ८ मा अध्ययनरत अमिता बलले ‘चिसोले गर्दा विद्यालय जानको लागि धेरै गाह्रो भएता पनि नजाँदा पढाई बिग्रन्छ भन्दै नियमित गइरहेको’ बताइन् ।  ‘चिसोले गर्दा एक हप्ता सतायो, धेरै दिन सम्म बिरामी परेें ।’ औषधी गरे पछि अलिकम हुँदै आएको लेकाली बसीँफाँट माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत शुस्मा लामाले बताइन् ।
  
४ नम्मर क्षेत्रबाट विजयी भएका सभासद राजाराम स्याँङतानले भूकम्प पिडितको दुख नबुझी सडकबाट नियालेर मात्र गएकोमा स्थानीयको गुनासो छ । 

टहरोबासीलाई चिसोका कारणलेसरुवा रोग, दम र बच्चालाई निमोनियाँले च्याप्न थालेको छ । सबै बिरामीको रोगको प्रकृति एउटै देखिन थालेको छ ।

चिसोले वृद्धवृद्धा र केटाकेटी  बढी प्रभावति भएको दामन शहरी स्वस्थ्य केन्द्रका अनमी अस्मीता बस्ताकोटीले बताइन् ।

विभिन्न संघ संस्थाले सहयोग गरे पनि हाल सम्म सरकारले कुनै चासो नदिएको र विस्थापित भएकाहरुलाई स्थाई बसोबासको व्यवस्थापन गरिदिनको लागि पिडितहरुले सरकारलाई पटक पटक अग्रह गरे पनि यसको कुनै सनुवाई नभएको बताएका छन् । 

गएको वैशाख १२, १३ र २९ गते आएको भूकम्पको कारण मकवानपुरको नामटारका अधिकाँश घरहरू बस्न नहुने गरि क्षतिग्रस्त भएका छन् । 


0 comments

Write Down Your Responses