Powered by Blogger.
हेटौंडाको शहिद पार्कमा एक करोडको शहीद स्मृति स्तम्भ अनावरण


हेटौंडा, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता र परिवर्तनको लागि जीवन बलिदान गर्नुहुने शहीदहरुको संझनामा शहीद स्तम्भ निर्माण हुनु अनुकरणीय कार्य भएको बताउनुभएको छ । 

शहीद दिवसको अवसरमा नव निर्मित शहीद स्मृती स्तम्भको उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेको समितिले गरेको अनुकरणीय कामलाई सरकारबाट पनि सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । 

मुलुकले प्राप्त गरेको परिर्वतन देश र जनताको निम्ती जीवन समर्पण गर्ने शहीदहरुको बलिदानको भएको बताउँदै भण्डारीले भन्नु भयो ‘शहीदहरुको पवित्र भावनाको अधुरो सपना साकार पर्ने दायित्व वर्तमान पुस्ताको काँधमा छ । ’ 

देशमा स्थीरता कायम हुदै विकास कार्य अगाडी बढेमा मात्रै अमर त्यागि र भविष्य द्रष्ट शहीदहरुलाइ सच्चा सम्मान हुने उहाँको भनाई थियो । शहीद स्मारक विकास समितिले निर्माण गरेको शहीद अध्ययन तथा अनुसन्धान केन्द्रले शहीदहरुको बारेमा अनुसन्धान गरी उनीहरुको कथा वर्तमान पुस्ता समक्ष ल्याउन सक्ने आशा भण्डारीले व्यक्त गर्नुभयो ।  राष्ट्रपति भण्डारीले शहीदहरुको सम्मानमा निर्माण गरिएको शहीद पार्क मुलुकको पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान  मन्त्री एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले शहीदप्रति सम्मान व्यक्त गर्दै मुलुकको परिर्वतको लागि साहदत हुनेहरुको सपनालाई सदैव स्मरण गर्नुपर्ने बताउनुभयो  । 

१० वर्षको द्वन्द्वकालिन अवधि र १० वर्षको संक्रमणकाल मुलुकले व्यहोरीसकेको र थप कष्ट व्यहोर्न नसक्ने थापाको भनाई थियो ।  उहाँले मधेशबादी दलहरुलाई नाका र धर्ना जस्ता कार्यक्रमहरु फिर्ता लिएर शान्तिपूर्ण प्रक्रिया मार्फत समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

 स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीले शहीद स्तम्भसंगै नव निर्मित मुल प्रवेशद्धार, अत्याधुनिक प्रविधियुक्त झोलुड्डे पुल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्नुभएको थियो  । 

सबै ज्ञातअज्ञात शहीदहरुको सम्मान र स्मरणमा हेटौंडा–११ स्थित शहीद स्मारकमा निर्मित विशाल तथा आकर्षक शहीद स्मृति स्तम्भ निर्माण सम्पन्न भएको झण्डै ३ वर्षको अन्तरालमा शनिबार उद्घाटन भएको हो ।
 २०६६ साल शहीद दिवसकै दिन तत्कालिन सभामुख सुभासचन्द्र नेम्वाङ्द्वारा शिलान्यास गरी निर्माण कार्य थालनी गरिएको स्तम्भ ३ वर्ष अगावै निर्माण सम्पन्न भएको थियो । ६५ फिट अग्लो मार्बल, ग्रेनाइट तथा विभिन्न प्रकारका धातुबाट निर्मित स्तम्भ ४० मिटर व्यास भएको गोलाकार क्षेत्रभित्र नेपालको कलात्मक नक्सासहित निर्मित छ । स्तम्भ नेपालमा पहिलो र एकमात्र हो । 

सहरी विकास तथा भवन निर्माण महाशाखाका आर्किटेक्टको डिजाइनमा निर्मित स्तम्भका निम्ति स्थानीय विकास मन्त्रालय र शहीद स्मारक विकास समिति हेटौंडाको एक करोड रुपैंया बढी लगानी छ ।



0 comments

Write Down Your Responses