Powered by Blogger.
ट्रकको टायर खोलेर चालकलाई किन सबक सिकाए रुपचन्द्र बिष्टले ? यस्तो छ रुपचन्द्र बिष्टबारे रमाइलो ५ किस्सा


काठमाडौं, ९ माघ । कुनै बेला थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र विष्ट आफ्नो भाषण सुन्न पैसा तिर्न लगाउँथे । रुपचन्द्र विष्ट विद्रोहको एउटा सिम्बोलका रुपमा रहीरहेका छन् । 

केही समय मकवानपुरको पालुङस्थित गाउँकै स्कुलमा पढाउँदा उनले शैक्षिक विकासको पाटोमा धेरै अनौठा काम गरे । एक वर्षजति पढाएर छोडेका उनी एकाएक गायब पनि भए । तर, हराएको ठीक एक वर्षपछि हेटौँडामा उपस्थित भए । 

त्यसपछि ‘थाहा’ आन्दोलन सुरु गरेका रूपचन्द्रले होटेल चलाउनेदेखि बाख्रा पाल्नेसम्मका काम गरे । अर्जुनबहादुर विष्टले यिनै रुपचन्द्रका ५ वटा रमाईला किस्सा सम्झना गरेका छन्, जुन यहाँ प्रश्तुत गरिएको छ । 
पन्ध्रपाथी अट्ने खागीको झोला

काठमाडौंमा पढ्दा म गाउँकै स्कुलमा पढ्थेँ । मेरो घरैपछाडि थियो उनको घर । उनी आक्कल–झुक्कल घर पुग्थे । उनी कति बलिया थिए भने हामीलाई एक हातले समातेर आकाशतिर उडाइदिन्थे, तल झर्ने वेला फेरि एकै हातले च्याप्प समाइदिन्थे । रूपचन्द्र दाई भन्दै हामी रमाइलो गर्न झ्यामिन्थ्यौँ । पन्ध्र पाथीभन्दा धेरै जाने एउटा खागीको झोला थियो उनीसँग । घर आएका वेला चामल, दाल, गुन्द्रुक, घिउ, के–के छ सबै त्यही झोलामा टन्न भरेर लान्थे ।

हिरण्यलार्ललाई किन नमस्ते गर्ने ?

म काठमाडौं आउँदा नीलकण्ठ काकाको कालिमाटीस्थित कोठामा बस्थेँ । रूपचन्द्र पनि त्यहीँ बस्थे । एक दिन काकाको कोठामा पुग्दा रूपचन्द्र एकजना साथीसँग चेस खेल्दै रहेछन् । 

मैले रूपचन्द्रलाई दाइ सम्बोधन गर्दै नमस्कार गरेँ र अर्का व्यक्तिलाई पनि । रूपचन्द्रले मलाई च्याप्प समाएर भने, ‘भाते मलाई त दाइ भनेर नमस्ते गरिस्, यसलाई के भनेर नमस्ते गरेको ? तैँले नमस्कार गर्नुपर्ने यो को हो ? न तँलाई यसले चिन्छ, न तैँले यसलाई ।

जा, कालिमाटी चोकमा गएर सबैलाई नमस्कार गर्दै बस् ।’ त्यसवेलादेखि मैले नचिनेको कसैलाई नमस्कार गरेको छैन । पछि थाहा पाएँ, ती व्यक्ति पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ रहेछन् ।

बाख्रो मार्नेलाई यसरी पारे खुसी

सिमभन्ज्याङमा रूपचन्द्रको बाख्रोलाई ट्रकले किचेर मारिदिएछ । रूपचन्द्र हान्निएर रोडमा आइपुगेछन् । सोधेछन्, कहाँ जान लागेको रु काठमाडौंमा माल झार्न, काँप्दै ड्राइभरले जवाफ फर्काएछ । 

त्यसो भए आफ्नो काम सकेर मलाई भेट्न आइज, रूपचन्द्रले तत्काल छोडिदिएछन् । ड्राइभर रूपचन्द्रलाई भेट्न भोलिपल्ट सिमभन्ज्याङ पुगेछ । त्यतिखेरसम्म बाख्राको मासु काटेर सबै बेचिसकेका पो रहेछन् । रूपचन्द्रले भनेछन्, ‘ल भाते, अब यस्तै–यस्तै गर्दै हिँड्, बाख्रो मारिस्, अब मान्छे पनि मार्दै हिँड् । मलाई डेढ सय रुपैयाँ दे अनि आफ्नो बाटो लाग् ।’ 

रूपचन्द्रले के सजाय दिने हो भनेर होस् गुमेको ड्राइभरले फुरुंग हुँदै डेढ सय दिएर आफ्नो बाटो लागेछ । संयोगवश एकचोटि यात्राकै क्रममा भेट हुँदा त्यो ड्राइभरले मलाई यो घटना सुनाएको हो । बाख्रो किन्दा परेको मूल्यभन्दा मासु बेच्दा उठेको मूल्य डेढ सय कम भएकाले त्यही रकम तिराएका रहेछन् रूपचन्द्रले । 

ड्राइभरले मलाई भनेको थियो, ‘हेर्नुस् हजुर, रूपचन्द्रजस्तो मान्छे त को होला र ? मैले त कत्रो सजाय भोग्नुपर्ला भन्ने ठानेको थिएँ, तर उनको सजायले त मलाई खुसी बनायो ।

ट्रकको टायर खोलेर चालकलाई सबक 

एकपटक रूपचन्द्रको पैसा हराएछ । एउटा ड्राइभरले भेटेछ, त्यो पैसा । हेटौँडा पुगेपछि ड्राइभरले पैसा भेटेको गफ मात्रै लगाएन, चिनेजानेकालाई जम्मा गरेर टन्न खुवाएछ । 

भोलिपल्टै रूपचन्द्रको पैसा हराएको चर्चा भयो । हल्लीखल्लीपछि रूपचन्द्रले त्यो ड्राइभर पत्ता लगाएछन् । केही दिनमै ड्राइभर रूपचन्द्रकै होटेलमा आइपुगेछ । अगाडि रोडछेउमा गाडी रोकेर लजमा सुत्न गएछ । त्यही मौकामा रूपचन्द्रले गाडीको टायर निकालेर आफ्नो होटेलभित्र ल्याएर राखेछन् । बिहान उठेर हेर्दा त ड्राइभरले आफ्नो गाडीको टायर नै देखेन ।

 टायर चोरी भयो भन्दै मान्छे जम्मा हुन थालेछन् । भीडको बीचमा गएर रूपचन्द्रले सुनाएछन्, ‘आज राति मैले पनि एउटा टायर पाएँ ।’ मेरो गाडीको टायर हो, ड्राइभरले दाबी गरेछ । ‘अस्ति मेरै घरैभित्र खसेको पैसा कसले लगेछ ?’ रूपचन्द्रले भनेछन्, ‘मैले त सडकछेउमा बेवारिसे बनेको टायर लगेको, घरभित्रबाट हैन नि ।

’ त्यसपछि त ड्राइभरले ओकल्न थालेछ, ‘हजुर † मैले पाएको हो पैसा, तपाईंको पैसा दिन्छु, मेरो टायर दिनुस् ।’ हराएको पैसा यसरी फिर्ता गरे रे रूपचन्द्रले ।

थाहा पाउन पानीमा डुबाउने प्रयास

एक दिन मलाई बहिनी हेर्ने काम लगाएर आमा काममा निस्किनुभएको थियो । रूपचन्द्र दाइ जुम्लुंग मेरो घरको आँगनमा देखिए । मलाई सोधे, ‘ए भाते, बहिनीलाई किन काखमा लिएको ’ ‘पानीमा डुब्छे कि भनेर दाइ,’ मैले जवाफ फर्काएँ । 

‘तँ भातेलाई कसले सिकायो यस्तो कुरा, छोड्दे,’ रूपचन्द्रले भनेपछि मैले बहिनीलाई छोडिदिएँ । ऊ खेल्दै–खेल्दै आँगनछेउमा राखिएको ठूलो भाँडोमा पानी खेलाउन थाली । खेल्दाखेल्दै बहिनीको टाउको पानीमा डुब्यो, निकै आत्तिएर फर्किई । 

त्यो हेरेर हाँसिरहेका रूपचन्द्रले मलाई भने, ‘ल भाते, ‘थाहा’ भनेको यही हो, अब बहिनी कहिल्यै पानीमा खेल्न जान्न ।’ नभन्दै बहिनीले त्यसपछि पानीको भाँडोमा गएर खेल्न छोडी ।
नयाँ पत्रिकाबाट


0 comments

Write Down Your Responses