Powered by Blogger.
अंशुबर्माको शिलालेखमा हँसिया धार लगाउँछन् टिष्टुङ उपत्यकाका भटुवालवासी


टिस्टुङ (मकवानपुर), १४ माघ । ऐतिहासिक टिस्टुङ उपत्यकामा रहेको  लिच्छवीकालीन राजा अंशुवर्माको शिलालेख हसियाँमा धार लगाउने ढुङ्गोमा परिणत भएको छ । 

टिस्टुङको उत्तर पश्चिम भटुवाल गाउँको कोलटार भन्ने खेतको बीचमा स्थापित सो शिलालेख संरक्षणको अभावमा किसानहरुले आफ्नो औजार धार लगाउन वर्षैदेखि प्रयोग गर्दै आएका छन् । हसियाँ उध्याउन थालिएपछि यस ऐतिहासिक शालिक अर्ध नष्ट भइसकेको स्थानीय बासिन्दा सुदर्शन सिंह ठकुरीले बताए । केही बर्ष अघिसम्म शिलापत्रमा अंकित देखिने अक्षरहरु हाल बुझ्न पनि सकिंदैन ।

 लिच्छवीका राजा अंशुवर्माले स्थापना गर्न लगाएको सम्वत ३१ सालको सो शिलालेखमा ‘स्वस्ती नेपालेभ्य’ भन्ने शव्द उल्लेख गरिएको टिस्टुङ भेगको इतिहास अध्ययन गर्न काठमाडौंबाट आउनु भएका एकराम सिंह बताउनुहुन्छ । उहाँले टिस्टुङ चित्लाङ भेगमा यस्ता धेरै ऐतिहासिक शिलापत्रहरु रहे पनि राज्यले संरक्षण गर्न नसकेको गुनासो गर्नु भयो । टिस्टुङको पाल्चोकमा दुई र चित्लाङमा एक लिच्छबीकालिन शिलालेखहरु हालसम्म बेवारिसे अवस्थामा रहेका छन् । 

अंशुवर्माको उक्त शिलालेखका आधारमा टिस्टुङ उपत्यका लिच्छवीकालमा महत्वपूर्ण भन्सार केन्द्र रहेको पुष्टी भएको सिंहले वताउनु भयो ।  उहाँ भन्नुहुन्छ – ‘लिच्छबीकालमा यहाँबाट फलाम, चम्मर, उन, कस्तुरी र तामाको भाडाको निकासी व्यापारमा कर लगाउने र नियन्त्रण गर्नेकाम हुन्थ्यो । 

धेरैले यसको महत्व नबुझेकाले पनि नष्ट हुनबाट जोगाउन तर्फ ध्यान नदिएको स्थानीय समाजसेवी रामबाबु सिंह ठकुरी बताउनुहुन्छ । ‘माल पाएर चाल पाउन नसक्दा आफ्नो ठाउँको चर्चा हराएको पनि उहाँको विचार छ ।’ हाल यस गाउँमा ठकुरीहरुको वस्ती छ ।

भटुवाल क्षेत्रमा लिच्छबीकालमा पुरानो वस्ती रहेको र आगलागी वा अन्य कुनै कारणले सो वस्ती नष्ट भई हालको संरचना भएको हुन सक्ने वुढापाकाहरुको किम्बदन्ती छ । कसैले मतलव नगर्दा यस स्थानको पहिचार मेटीन सक्ने खतरा छ । स्थानीय क्लवको तर्फबाट पनि अमूल्य शिलालेख संरक्षणका लागि पहल गरिएको छैन । 

0 comments

Write Down Your Responses