Powered by Blogger.
हेटौँडामा सातौँ सडक खाना महोत्सव जारी

हेटौँडा, १७ पुस । ‘सडकमा जाऔ  सडकमा खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित ७ औं सडक खाना महोत्सव आजबाट  हेटौडामा सुरु भएको छ । 

कार्यक्रम स्थानीय व्यवसायीहरुको सहयोग तथा सहभागितामा स्थानीय तथा बाह्रय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बुद्ध चोकदेखि गणतान्त्रिक चोकसम्म संचालन भइरहेको छ  । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले उद्घाटन गर्नु भएको थियो । 

महोत्सव सञ्चालनका लागि  सडक पुरै सजाइएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा ४० स्टल रहेको महोत्सव आयोजक होटल एसोसियसन मकवानपुरका उपाध्यक्ष सालिकराम शर्माले जानकारी दिनु भएको छ । 
महोत्सवमा स्थानीय कलाकारहरुलाई प्राथमिकता दिएर सांस्कृतिक कार्यक्रमहरु देखाइने आयोजकले जनाएको छ । महोत्सवले नयाँ नयाँ परिकारहरु खाने र परिवारसँग होटेलमा गएर खाने र रमाउने संस्कृतिको विकास हुने एशोसिएसनका महासचिव शंकरलाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवले स्थानीय कलाकारको हौसला बढाउनुका साथै होटलको प्रबद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । अंग्रेजी नयाँ वर्षलाई निम्तो दिंदै एसोसियसनले सडक खाना महोत्सव गरेको हो ।सडक बाहिरै टेबल कुर्ची निकालेर सडकमै खाने, सडकमै  सांस्कृतिक कार्यक्रम गर्ने यो एक प्रकारको छुट्टै महोत्सव हो । मकवानपुर होटल एशोशिएसनले ६ वर्षदेखि आयोजना गर्दै आएको सडक खाना महोत्सव–२०७२ अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना रहेको हो ।

महोत्सवमा काठमाडौं, पोखरा, चितवन लगायतका छिमेकी जिल्लाबाट पर्यटक आउने अनुमान छ । महोत्सवमा करिब एकलाख जनाले मनारञ्जन लिने बताईएको छ । यस्तै, स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक बिंगो र साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । दुईदिवसीय महोत्सवमा आवश्यक सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरीएको छ । 

करिब ४ लाख ५० हजार रुपैयाँ खर्चमा सञ्चालन हुने महोत्सवमा १५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses