bank

BANK





Powered by Blogger.
म जतिको शिक्षकले इपामा यसरी बेहोरें छोइछिटो

युक्तलाल बिश्वकर्मा

हिन्दु बैदिक समाजबाट प्रादुर्भाव भएको छुवाछुत प्रथा मानब समाजमा कलंकको रुपमा स्थापित छ । यसले मानिसको मानविय सम्बेदनामा ठुलो घात पुर्याएको छ  । एउटा मानिसले अर्को मानिसलाई छुन नहुने ,संगै बस्न नहुने ,एकै भात भान्छाको प्रयोग गर्न नहुने कस्तो चलन ? 

आफैमा लज्जाको बिषय बनेको छ । मानब सभ्यताको आदिम काल जंगली ,ढुंगे र ओडारे युगमा पनि मानिसहरु संगै बस्दथे छुवाछुत र विभेद थिएन । आज हामी गर्वका साथ एक्काइसौ शताब्दीको कुरा गर्छौ, बिज्ञान र प्रविधिको कुरा गर्छौं । विद्वताको कुरा गर्दा हामीलाई कसैले भ्याउँदैन तर समाजको महत्वपूर्ण हिस्सा ओगटेका दलित जो श्रमका शिल्पी हुन उनीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा छुवाछुत र भेदभाब गर्न पछि पर्दैनांै ।   हामीमा भएको विद्वताको के काम ? मानबलाई मानव भनि पहिचान दिन सक्दैनौं ।  हुन त समाजमा थुप्रै खाले बिभेदहरु छन् ।

लिंगका आधारमा गरिने विभेद जुन  लैंगिक विभेद हो । महिला र पुरुष बिचको विभेद , सामाजिक रुपमा चाहे त्यो घरेलु हिँसा होस ,चाहे त्यो असमान ज्याला होस, चाहे त्यो धार्मिक रुपमा गरिएको विभेद होस कुनै न कुनै रुपमा महिलाहरु विभेदमा परेका छन् ।

त्यसैगरि  समाजमा बर्गीय विभेद बर्गका आधारमा गरिएको विभेद हो । धनीले गरिब माथि गरिएको विभेद, श्रमको उचित पारिश्रमिक नदिएर गरिने विभेद ,चर्को ब्याज असुली सम्पति हडप्ने दुराशयपूर्ण ब्यबहार जस्ता क्रियाकलापले बर्गीय विभेदको अवस्थालाई चित्रित  गर्दछ  । 

नेपालमा बिद्यमान जातीय छुवाछुतको विभेद भने उल्लेखित बिभेद भन्दा छुट्टै र पृथक रहेको छ । सामाजिक रुपले समान धर्म ,संस्कृति लगायतका रीतिरिवाजहरुमा समान प्रतिनिधित्वमा बञ्चित गराई सामाजिक जीवनका हरेक पक्षमा प्रतिबन्ध सहित पानी अचलको रुपमा छुवाछुत सहितको विभेद गर्नु भनेको मानब समाजको अत्यन्त नीर्घिनी काम हो । हाड ,छाला ,रगत ,मासु एउटै छ ।  मानवीय संरचना एउटै  छ तर पनि धर्म र संस्कृतिको आडमा बर्ण व्यवस्था कायम गरि गरिएको जातीय भेदभाब आजको युगको अत्यन्त घृणित र निन्दनीय काम हो ।  राष्ट्रकबि माधबप्रसाद घिमिरेले एउटै मुटु एउटै मर्म भन्ने गीतमा भन्नु भएको छ,  ‘ईश्वरको छोरो  मान्छेको भाई मान्छेले  छुदैन यो भन्दा ठूलो नीर्घिनी पाप संसारमा हुँदैन ।
उत्पीडित दलित समुदाय सामाजिक जीवनका हरेक पक्षसंग एकाकार छन् । हरेक क्रियाकलापसंग सम्बद्ध छन् । 

अझ भन्ने हो भने दैनिक जीवनका आबश्यकीय सामाग्रीहरुको निर्माणमा झनै महत्वपूर्ण भूमिका रहेको छ । कृषिजन्य सामाग्रीको निर्माण होस या मन्दिर ,देवालय लगायत संग्रालयका सिर्जना र कलामा उत्कृष्ट सिपमा होस दलित समुदायको योगदान प्रतिबिम्बित हुन्छ । दलित समुदाय संस्कृतिका खानि हुन् । शुभ साइतको शंखघोष गर्ने दलित समुदायको मौलिक पञ्चे बाजा विश्वकै उत्कृष्ट नमुनाको परिचायक हो  । 

सिप ,कला र संस्कृतिका धनि उत्पीडित दलित समुदायको योगदानको कुनै कदर छैन । अन्धविश्वास र रुढीग्रस्त समाजले धर्म र परम्पराको आडमा गरिएको यस किसिमको विभेदपूर्ण ब्यबहार लज्जास्पद र घृणित छ । समाजले हामी प्रति कस्तो व्यवहार गर्छ भन्ने कुराको दृष्टान्त मैले भोगेको छुवाछुतको अतितलाई उजागर गर्ने प्रयास गरेको छु ।

 बिक्रम सम्मत २०५० साल तिर हो । मैले शिक्षण पेशामा प्रवेश गरेको समय । माघ महिना थियो । म मकवानपुर जिल्लाको बिकट गाउँ इपाको महादेवटारमा अबस्थित श्री नटारम्भेश्वर प्राथमिक बिद्यालयमा सरुवा भई अध्यापनका लागि प्रस्थान गरें ।  घरबाट निस्कदा मुसलधारे पानी परेको थियो । पानी पर्दापर्दै पनि म, मेरो भाई र पूज्यनीय बुबा घरबाट निस्कियौं ।

हेटौडा पुगेपछि पानी पर्न रोकियो । बजारमा सिरक डस्ना लगायतका सामग्री किने पछि हामीले भिमफेदी तर्फको यात्रा तय गयौं ।  भिमफेदी पुगेपछि पानी रोकिएको, आकाश खुलेको जस्तो देखिन्थ्यो तर पाइला अगाडी बढाउँदै जादा कोगटेको उकालो बाटो पुग्दा नपुग्दै हिमपात सुरु भयो । 

पहाडको बाटो असजिलो थियो ।  घरहरु यदाकदा कतै कतै मात्र देखिन्थे हामी बसेनौं । हिउ पर्दाको दृश्य ज्यादै रमाइलो हुने रहेछ । मैले पहिलो पटक देखेको । हामीसंगै इपा उखु बारीका शिक्षक पनि साथमा हुनुहुन्थ्यो । उहासंग कुराकानी गर्दै हाम्रो यात्रा अगाडी बढिरहेको थियो ।  हेर्दाहेर्दै पहाडहरु सेताम्मे भए दृश्यहरु अत्यन्त राम्रा देखिन थाले । ओतको लागि हामीसंग भएको छाताले खासै काम गरेन ।

 उकालो बाटो हिड्दा हामी थाकी सकेका थियौ । केहि समय पछी हिमपातको क्रम पनि कम हुदै गयो ।  हामी हिउले भिजेका थियौ । चिसो चिसो सिरेटो पनि चल्न थाल्यो । हामीलाई जाडोको महसुस हुन थाल्यो । केहि बेर बिश्राम गर्नु पर्छ जस्तो लाग्यो र हामी बाटोमा एउटा घर रहेछ त्यहाँ बस्यौ ।  घरमा बृद्द बुबा आमा हुनुहुदो रहेछ । ढुङ्गाको गारे घर ,अंगेनामा मकैको खोया बालेको धुवाँले घर पुरै ढाकेको थियो । 

 कुइरीमण्डल धुवाँले हामीलाई बस्न पनि सारै गाह्रो भएको थियो । बृद्द बुवा आमा मसिना मकैका पुड्काहरु छोडाउँदै हुनुहुन्थ्यो  । हामी केहि बेर बसेपछि घरबेटी बुबाले  भन्नु  भयो, तपाइँहरु धेरै बेर नबस्नुस अहिले हिड्न सक्नु हुन्न । हामीलाई उहाँको कुरा ठिकै लाग्यो त्यसपछि  उहाँहरुलाई धन्यबाद दिदै हामी हाम्रो यात्रालाई अगाडी बढाईरह्यौ । उकालो बाटोको यात्रा पुरा भएपछि समथर परेको देउराली आइपुग्यो यति बेलासम्म हिमपात रोकीसकेको थियो । मलाई बाटोमा भोक लाग्यो भने खानु हुन्छ भनेर मेरी आमाले खाजा राखिदिनु भएको थियो ।  केहि बेर देउरालीमा बिश्राम गर्यौ ।  

मैले झोला बाट खाजा निकाले । हामीसंगै जानु भएको शिक्षकलाई खाजा खाउँ भने । मेरो अनुरोधलाई उहाँले स्वीकार्नु भएन । मैले खाईसके, मलाई भोक लागेको छैन भनि बाहाना बनाउनु भयो । उहाँले खाजा नखानुमा मलाई विभेदको गन्ध महसुस भयो  ।  

एउटा शिक्षक जो अन्धकारलाई हटाउने, समाजलाई सचेत बनाउने पथ प्रदर्शक हो तर ऊ किन आफैमा परिबर्तन ल्याउन चाहदैन ? उसले गरेको ब्यबहारले मेरो मनमा प्रश्न प्रति प्रश्नहरु उब्जिन थाले ।  केहि बेरको बिश्राम पछि करिब एक घण्टाको असजिलो ओरालो बाटो हिड्दै एउटा गाउँमा पुग्यौ । समयले नेटो काटी सकेको थियो । साँझ परिसकेको हुनाले हाम्रो यात्रा गन्तब्य सम्म पुग्न सकेन । हामीसंग साथमा रहनु भएका शिक्षकले हामीलाई त्यहाँ बस्ने ब्यबस्था मिलाई उहाँ आफ्नै कोठातिर जानु भयो ।  उहाँ हामीसंग नबसेकोमा मलाई पुनः विभेदको गन्ध महसुस भयो । 

बाटोमा खाजा नखानु, दलित समुदायकै घरमा हामीलाई बास बसाउनु, आफु नबस्नु जस्ता क्रियाकलापले अप्रत्यक्ष जातीय विभेदनै हो भन्ने कुरा मेरो बिबेकले ठान्यो । घरको परिवार भद्र र मिजासिला हुनुहुँदोरहेछ ।
हामीलाई राम्रो सत्कार गर्नु भयो । खाना सुत्नको राम्रो व्यवस्था भयो । दिन भरिको कठिन यात्राले होला बिहान भएको पत्तै भएन । 

हामी बिहानै महादेबटारको लागि प्रस्थान गर्यौ । ईपाको उखुबारी हुदै हाम्रो यात्रा अगाडी बढ्यो । उखुबारी प्राकृतिक भूबनोट राम्रो भएको ठाउँ रहेछ । गाउँको बीचमा एउटा निमाबि तहको बिद्यालय पनि रहेछ । हामी ईपा खोला तरेर बागमतीको तिरै तिर पहाडी असजिलो बाटो हुदै ४ घण्टाको हिडाई पछि महादेवटार पुग्यौ । बागमती नदीले ललितपुर र मकवानपुर जिल्लाको सिमाना छुट्याएको छ । बागमती पारि ललितपुर जिल्लाको माल्टा गाबिस र वारि मकवानपुर जिल्लाको ईपा गाबिस रहेको छ ।

बिद्यालय गाउँको बिचमा रहेछ । विद्यालयको वरीपरी त्यति बाक्लो गाउँ रहेनछ ।  वरीपरीका डाडाँहरुमा पातला एक दुई घर मात्र देखिन्थे । बिद्यालयमा पुगे पछि प्रधानाध्यापकसंग भेट भयो ।  मैले सरुवा पत्र थमाए । मलाई हाजिरी गराउनु भयो । उहा बिद्यालयमै बस्नु हुदो रहेछ । हामीलाई उहाँकै भान्छामा खाना खुवाउनु भयो । वरीपरी अग्ला डाडाँहरुकोबीच अर्थात गहिरो स्थानमा बिद्यालय रहेको र विद्यालयको दक्षिणी भागतिरको अग्लो डाडाँमा लटारम्भेश्वर महादेवको मन्दिर रहेको र उक्त महादेवको नाम बाटै नटारम्भेश्वर प्राथमिक बिद्यालय नामाकरण भएको रहेछ । 

प्रत्येक बर्षको मकर संक्रान्तिको दिन यहाँ भब्य मेला लाग्ने रहेछ ।  हामी खानेकुराको ब्यबस्थापनको लागि ईपाको ठिंगन गयौ । त्यहाको स्थानीय दोकानबाट चामल तरकारी लगायतका समान खरिद गरि बिद्यालय आयौ । बिद्यालय आएपछि के भयो भने माथिल्लो तल्लामा छुट्टै चुलो बनाएको रहेछ तल छुट्टै चुलो । प्रअ ले के भन्नु भयो भने ‘सर नराम्रो नमान्नु होला गाउँलेहरुले विभिन्न टिकाटिप्पणी गर्छन त्यसैले तपाई तलको चुलोमा खाना बनाउनु होला ।’ अचम्मित भए यहाँ पनि विभेद मैले बाटोको सहयात्री शिक्षक र उहाँ बिच कुनै किसिमको फरक पाइन । हामीले तलको चुलोमा खाना पकायौ र खायौ  । यसरी मैले ८ महिनासम्म आफ्नै सहयात्रीसंग विभेदको सिकार हुनु पर्यो ।

गाउँमा एक जना कठायत बुबा हुनुहुन्थ्यो हामी उहाँकै घरबाट मकै किन्थ्यौ र बागमतीको किनारमा रहेको घट्टमा पिठो पिसाएर ढिडो खान्थ्यौ । बिद्यालयमा कक्षा १ देखि ३ सम्म सञ्चालन थियो ।  बिद्यार्थीहरु २५–३० जना मात्र थिए  ।  गाउँमा पढाउनु पर्छ भन्ने चेतनाको अभाब देखिन्थ्यो ।  बिद्यालय आउने बालबालिकाहरु गोठालो र घरधन्दामा सिमित भएको देखिन्थ्यो । आफ्ना छोरा छोरी अलि हुर्किए पछि काठमाडौं ज्याला गर्न पठाउने चलन रहेछ । विद्यालयको भौतिक अवस्थामा पनि सुधार आएको थिएन ।  भौतिक पूर्वाधार लगायत फर्निचरको अभाब देखिन्थ्यो । बिद्यालय सेवा क्षेत्रका भौगोलिक बनावट पनि बिकट थियो । मकै ,कोदो लगायतका खाद्यान्न बाली मात्र लगाइन्थ्यो ।  धान बाली हुदैनथ्यो ।  जनजीबन त्यति सहज थिएन । कष्टकर नै थियो ।  पिछडिएको र दुर्गम ठाउ भएर नै होला छुवाछुत र विभेद चरम अबस्थामै थियो  । 

एक दिन म र मेरो साथी पठन पाठन सिध्याएर गाउँमा गएका थियौ । गाउँमा जादा हामी एक जना कठायत दाइका पुग्यौ ।  हामीलाई सरहरू आउनु भएछ अब के खुवाउने होला भनेर सम्मान नै गर्नु भयो ।  केहि बेर पछि चिया बनाएर दिनु भयो । मेरो चिया पिउने आदत त थिएन तर पनि किन अस्विकार गर्नु भनेर चिया पीएँ । केहि समय पछि मेरो गिलासमा त भित्रबाट ल्याएको आगोको कोइला हालेर पो गिलास पखाली भित्र लैजानु भयो ।

यो दृश्यले मलाइ अत्यन्त दुःखी बनायो यो कस्तो चलन ? गाउँमा आफुलाई आबश्यक पर्ने सामानहरु किन्न पाइदैन्थ्यो । आवश्यकीय सर समान काठमाण्डौबाट ल्याउनु पर्थ्यो ।  म भने आफुलाई आवश्यक पर्ने सामानहरु घरबाट अत्यन्त कष्टपूर्ण तरिकाले ल्याउने गर्थे  । एक दिन घर फर्कने बेलामा गाउँकै कठायत दाइले आज माडसाब खाना यतै खाम भन्नु भयो । उहाँको प्रस्ताबलाई मैले स्वीकारे खाना पाकिसकेको रहेछ । उहा पनि म संगै बस्नु भयो छुट्टै चकटीमा ।  संगै खाना खायौ खाना खाएपछि मैले भाडा सफा गरे तर सफा गरेको केहि क्षणमै भित्रबाट आगोको कोइला ल्याई थाल सफा गरेर घाममा सुकाउनु भयो ।  यो दृश्यले पनि म अत्यन्त दुःखी भए ।  यसरी जातीय विभेदको शृंखला मैले ८ महिनाको समयावधिमा थुप्रै सहनु पर्यो ।

अहिले महादेवटार कस्तो छ ? म पुगेको छैन तर अझै पनि त्यहा परिबर्तन आएको छैन भन्ने लाग्छ  । म शिक्षक भएर जाँदा त मलाई अप्रत्यक्ष रुपमा अत्यन्त विभेदपूर्ण ब्यबहारको सिकार हुनु पर्यो भने त्यस क्षेत्रमा बसोबास गर्ने दलित समुदायले कतिको पीडा सहेका होलान सहजै अनुमान गर्न सकिन्छ ।  ईपाको महादेवटारको मात्र घटना होइन मुलुकमा यस्ता महादेवटारहरु धेरै छन ।  जहाँ दलित समुदाय माथि प्रत्येक पलपलमा छुवाछुत र विभेद गरिन्छ ।

 यसरी छुवाछुत र बिभेदवाट आक्रान्त भएका दलित समुदायले जातीय छुवाछुतको समुल अन्त्यको लागि संस्थागत रुपमा बुलन्द अवाज उठाउनु पर्दछ र दलितका आर्थिक ,सामाजिक ,शैक्षिक र राजनैतिक समस्याको समाधानको लागि संगठित हुनु पर्दछ अनि मात्र छुवाछुतको अन्त्य गर्न सकिन्छ । 
                                                                                                                                                                    (नेपाल उत्पीडित जातीय मुक्ति समाज                                                                          केन्द्रीय कमिटी सदस्य)

0 comments

Write Down Your Responses