Powered by Blogger.
मकवानपुर–२ मा एमाले अभियान तीव्र


मकवानपुर । संविधान कार्यान्वयन  तथा राष्ट्रिय एकता सुदृढीकरण र समृद्धि अभियान अन्तर्गत देशव्यापी कार्यक्रममा जुटेको नेकपा एमालेले मकवानपुर जिल्लाको २ नम्मर क्षेत्रमा पनि एक महीने अभियान सुरु गरेको छ ।

आइतबार आमभञ्ज्याङ गाविसबाट एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलले सो अभियानको औपचारिक सुरुवात गरिन् । मकवानपुरको २ नम्मर क्षेत्रीय कमिटीले हरेक गाविस र नगरपालिका समेतमा गरी यही फागुन २४ गतेसम्मको लागि कार्यक्रम तय गरेको थियो । सो कार्यक्रम सकिएपछि फागुन २९ गते एमाले उपमहासचिव तथा वैचारिक नेता घनश्याम भुषालको प्रमुख आतिथ्यतामा क्षेत्रव्यापी वृहत प्रशिक्षण कार्यक्रम हुने जनाइएको छ ।

आमभञ्ज्याङमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेको ठूलो संख्या उपस्थित थियो । कार्यक्रममा २ नम्मर क्षेत्रीय इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य बिष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य तथा थाहा नगर कमिटी इन्चार्ज रामचन्द्र बल, आमभञ्ज्याङ गाविस इन्चार्ज तथा जिल्ला कमिटी सदस्य भगवती पुडासैनी, निवर्तमान राष्ट्रिय प्रतिनिधी परिषद सदस्य महेश्वर सुबेदी, क्षेत्रीय कमिटी अध्यक्ष बिदुर हुमागाँई लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पार्टी निर्माण, जनताको बहुदलीय जनवाद र लोकतान्त्रीक गणतन्त्र, पार्टी र जनसंगठनबीच अन्तर्सम्वन्ध, संघीय लोकतान्त्रीक गणतन्त्र र नेपालको संविधान २०७२ निर्माणमा पार्टीले निर्वाह गरेको भूमिका तथा विकास निर्माणमा पार्टीको सक्रियता तथा नेतृत्व लगमयतका विषयमा पार्टी नेताहरुले चर्चा गरेका थिए । 

यसैगरी यस्तै प्रकृतिको कार्यक्रम आइतबार सुकौरामा , सोमबार बुढीचौरमा पनि सम्पन्न भएको छ । बुढीचौरमा आयोजित कार्यक्रममा क्षेत्रीय इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य ढकाल, जिल्ला कमिटी सदस्य तथा हेटौंडा नगर विशषे पूर्व इलाका इन्चार्ज इश्वर ढुङ्गाना लगायतको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेता ढकालले नयाँ संविधान निर्माणमा एमालेले खेलेको महत्वपुर्ण र नेतृत्वदायी भूमिकाबारे जनतालाई पर्याप्त जानकारी दिन जरुरी रहेको बताए । 

थाहा नगरमा २१ र २२ मा

यसैबीच सोही अभियान अन्तर्गता कार्यक्रमहरु थाहा नगरपालिकामा भने यही फागुन २१ र २२ गते गरिने भएको छ । १५ वडा रहेको सो नगरपालिकामा हरेक वडामा  वडा कमिटीले फोकल पर्सन खटाएर अभियान सफल पारिने बताइएको छ । थप योजना तय गर्नका लागि यही फागुन ८ गते शनिबार पालुङमा नगर कमिटीको बैठक आयोजना गरिएको बताइन्छ । 

सोही अभियान र अगुवा कार्यकर्ता भेला आयोजना गरेर अधिवेशन गर्न बाँकी वडा तथा जनसंगठनको समेत अधिवेशन गरी कमिटीलाई थप चुस्त दुरुस्त पारिने बताइएको छ । 




0 comments

Write Down Your Responses