Powered by Blogger.
अहिलेको संगीत खहरेको भेल मात्र हो

सागर गौतम, संगीतकारनेपाली सांगीतीक क्षेत्रमा २०३७ सालबाट अनवरत रुपमा लागिरहनु भएका वरिष्ठ संगितकार सागर गौतमको नाम कुनै नौलो होइन । मोफसलबाट संगीत क्षेत्रमा लागेका उनी २०४५ सालमा मात्र इलामबाट काठमाडौं पसेका हुन् । २०४७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका गौतमले दर्जनौं पुरस्कारहरु समेत पाएका छन् । 

उनले २०५२ सालमा उत्कृष्ट युवा संगीतकार, उत्कृष्ट लोक संकलक, २०५३ सालमा उत्कृष्ट भक्ति संगीतकार, २०५३ मै उत्कृष्ट वाल संगीतकारको पदवी पाए भने २०५९ सालमा पुनः उत्कृष्ट वाल संगीतकारबाट विभूषित भए । यसैगरी जनसंख्या गीत र वातावरण गीत गर्दै २०६२ मा उत्कृष्ट हार्मोनियम वाद्यवादक, २०६३ मा उत्कृष्ट आधुनीक गीतका संगीतकारको सम्मान पनि उनले पाए । प्रस्तुत छ  वरिष्ठ संगीतकार गौतमसंग दामन पोष्टले गरेको कुराकानी ः

पहिलो संगीत कुन गीतबाट गर्नुभयो ?

मैले पहिलो संगीत वुद्धवीर लामाको ‘आमा तिम्रो माया सागरको पानी’ भन्ने गीतबाटै गरेको हुँ । जसमा मैरै स्वर थियो । 

संगीतमा सानैदेखिको शोख हो ?

मेरो परिवारका बाबा, काका, आमा सबै संगीत सर्जक हुनुहुन्थ्यो । ममा पनि उहाँहरुकै प्रेरणा थियो ।

संगीत पढेर–बुझेर आउनुभएको की पछि आफैं बुझियो ?

मैले गाउँमा प्राकृतिक शिक्षा लिएर मादल, बाँसुरी लगायतको ज्ञान लिएँ । पछि काठमाडौं आएर अध्ययन पनि गरें । 

कस्ता गीतमा संगीत भर्न रुचाउनुहुन्छ ?

सुगम संगीतमा । 

संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?

यो गाह्रो प्रश्न हो । तर मेरो लागि भन्ने हो भने संगीत मेरो शरिरको अभिन्न अंग हो । 

पहिलेको गीत संगीत र अहिलेकोमा के फरक पाउनु भयो ?

यो समय अनुसार परिवर्तित हुन्छ । युगले रुचाए अनुसार हेरफेर पनि हुन्छ । पहिलेको गीत संगीत हावा, माटो, पानीका थिए, श्रोता त्यस्तै थिए । तर अचेल समय र मानिसको चाहना अनुरुप बदलीएको छ । तैपनि यि दिगो छैनन् केवल खहरेको भेल मात्र हो । 

अहिलेको गीत संगीतमा विकृती पनि उत्तीकै आएको हो ?

यो सबै संगीत नबुझी हाम फाल्ने प्रवृतीका कारणले हो । अशिक्षा नै प्रमुख कारण हो । 

संगीतमा लागेर पेट पाल्न सकिएला ?

गाह्रो छ । खरो उत्रिनेले सक्लान् नत्र नाँई । शोख पुरा गर्न सकिन्छ । अन्य देशमा जस्तो संगीतमा मात्र आश्रित भएर बाँच्न गाह्रो छ । 

संगीत क्षेत्रमा भएको विकृतिले यो क्षेत्र धरासायी  भयो भन्छन्  नी ?

जानेर, बुझेर, समय लिएर, निपुर्ण भएर आए सम्पुर्ण भइन्छ । त्यस्ता व्यत्ति आए विकृती पनि हट्छ । 

संगीत जस्तै व्यत्तित्व मिठो हुनाको कारण के हो ?

संगीत भने विश्वको एउटा राम्रो योगा हो । योगा गर्ने मान्छे रसिला हँसिला नै हुन्छन् । 

तपाईसंग संगीत सिक्न खोज्नेहरुको कत्तिको भिड लाग्छ ?

बिल्कुल भिड छ । समयको प्रतिकुलताले गर्दा भिड मिचेर हिँड्नु परेको छ । तर चाँडै संगीतको कक्षा चलाउने विचारमा छु । 

आफुलाई कत्तिको सफल ठान्नुहुन्छ ?

अहिलेसम्मको हिसाबमा सफल छु । समकालीन साथीहरुको तुलनामा राम्रै छ । स्कुल र स्टुडियोमा व्यस्त हुनाले बाहिरी साथी र मिडीयामा कम छु ।

संगीतमा लाग्न चाहनेलाई के भन्नुहुन्छ ?

स्रोता माझ लोकप्रिय हुन र आलोचना खेप्न नपर्ने  गरी राम्रोसंग सिकेर पढेर आउनुहोला  भन्न चाहन्छु ।

गीत संगीत सुन्ने स्रोतालाई नी के भन्न चाहनुहुन्छ ?

यो संवेदनशील कुरा हो । जे होस् संगीत औषधी हो । विभिन्न स्वादमा हुन्छन् । रोग चिनेर आफुलाई मन हुने गीत संगीत सुन्नुहोला । 

प्रस्तुतिः सुभाष केसी




0 comments

Write Down Your Responses