Powered by Blogger.
खोला समेत सुकेर बज्रबाराहीमा खानेपानीको हाहाकार


बज्रबाराही(मकवानपुर), २७ फागुन । उत्तरी मकवानपुरको थाहानगरस्थित बज्रबाराहीका विभिन्न गाउँहरुमा खानेपानीको हाहाकार भएको छ । गत बैशाख १२ गतेको भूकम्पका कारण पानीका मुहानहरु धमाधम सुक्न थालेकाले खानेपानीको चरम समस्या देखिएको हो ।

थाहा नगर पालिका वडा न १४ अन्तर्गत लिलाखेल र इकुन्डोल गाउँमा पानीको ठूलो समस्या देखिएको छ । यस क्षेत्रमा पानी ल्याइएको तीनवटा मुहान मध्ये एउटा मुहान पूर्णरुपमा सुकेको छ भने अन्य दुई मुहानमा पानीको मात्रा घटेको स्थानीयले बताए । दामन स्थीत मुहानबाट तसर हुँदै ल्याइएको पानी बिहान एक घण्टा मात्रै आउने गरेको छ । विगतमा चौबिसै घण्टा आउने धारा अहिले सुक्न थालेपछि स्थानीयलाई निकै सास्ती भैरहेको छ । 

यो आयोजना करिव ५ वर्ष अघि स्थानीयको जन श्रमदान र जिल्ला खानेपानी विकास समिती तथा स्थानीय गैरसकारी संस्थाहरुको सहयोगमा निर्माण सम्पन्न गरिएको थियो ।यता वर्षाैदेखि खानेपानीको पुरानो मूहानका रुपमा रहेको मुहानबाट आउने पानीको मात्रा पनि घटेको छ । यो मुहानमा पानी वितरणका लागि राखिएका पाइपहरु पूरानो भएकाले टुटफुटका कारण बीचमै पानी चुहिने गरेका छन् । उक्त सानो मुहानबाट ६ वटा धारामा पानी वितरण गरिएको छ । यता २ वटा धारामा पानी वितरण हुँदै आएको दुनाँदो मुहान पनि पूर्णरुपमा सुकेको छ ।

खानेपानीको मुहानका साथै यो क्षेत्र भएर बग्ने खोलानालाहरु समेत सुकेका छन् । वर्षाै पुरानो काँला खोला अहिले पूणरुपमा सुकेको छ । यो खोलाको पानी कपडा धुने, गाईवस्तुलाई खुवाउने र सिञ्चाई गर्न प्रयोग हुने गर्दथ्यो । 

त्यस्तै ढोँगार खोला, ढौँट खोला, हिटीडोल लगायतका खोलानालाहरु समेत पूर्ण तथा आंशिकरुपमा सुक्न थालेको छ । यी खोलाहरुमा बिगतमा पौडी खेल्न पुग्ने पानी बग्ने गरेको र भूकम्पका कारण अहिले पानीको मात्रा निकै घटेको स्थानीय बाबुराम बलामीले जानकारी दिए । खानेपानीको मुहान र खोलानाला धमाधम सुक्न थालेपछि स्थानीयलाई दैनिक क्रियाकलाप सञ्चालनमा समेत गाह्रो परेको बलामीको भनाई छ ।

पानीको मुहान सुकेकाले यो क्षेत्रमा तरकारी उत्पादनमा समेत असर पर्ने देखिएको छ । गाईवस्तुलाई खुवाउन, तरकारीको बोटविरुवामा हाल्न र सरसफाई गर्न समेत गाह्रो परिरहेको स्थानीयले बताए ।  पानीका पुरानो मुहानहरु सुकेको र नयाँ मुहानहरु कतै नभएकाले आगामी दिनमा झनै खानेपानीको हाहाकार हुन सक्ने स्थानीय अगुवा तथा गाविसका पूर्व अध्यक्ष चित्रबहादुर बलामीले जानकारी दिए । “पुरानो मुहानहरु सुक्न थाल्यो, नयाँ मुहान कतै छैन त्यसैले साह्रै गाह्रो भैरहेको छ ।” बलामीले भने ।

यता पापुङ, थहचोक, ढल्ट, चुलिप्राण्न, शिखरखेल, भटुवाल लगायतका ठाउँहरुमा पनि पानीको मुहान सुक्न थालेका छन् । पालुङ र दामनका विभिन्न क्षेत्रहरुमा पनि पानीको मुहान सुकेर समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

0 comments

Write Down Your Responses