Powered by Blogger.
मकवानपुर आईडललाई देशकै गहना बनाउने लक्ष्य छ

सानोबाबु मोक्तान, अध्यक्ष, थाहा कला केन्द्र
थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान मकवानपुर आइडलको तयारीका लागि अचेल निक्कै व्यस्त छन् । आफ्नै गाँउ ठाउँको कला संस्कृति प्रवद्धर्न गर्दै स्थानीय प्रतिभा समेत उजागर गर्न मौका दिने उद्देश्यले केन्द्रले मकवानपुर आइडल आयोजना गरेको हो ।  

अब नियमित रुपमा  आइडल गर्ने र यसलाई जिल्लाको मात्र होइन मुलुककै स्थापीत आइडलका रुपमा रुपान्तरण सोचका साथ सक्रीय उनी २०७३ वैशाख १ गते मकवानपुरको पालुङमा हुने फाइनल प्रतियोगिताका लागि दिनरात नभनी खटेका छन् । 

केही गरेर देखाउने उत्साहका साथ प्रतियोगिता आँटेका उनको समुह अहिले सहयोगको हात अघि बढाएर विभिन्न व्यक्ति तथा संस्थाकहाँ पुगिरहेको छ । अहिलेसम्म आधा रकम मात्र संकलन भएपनि प्रतियोगिता स्थगित गर्नु पर्ने अवस्था कुनै हालतमा नआउने उनको आशा छ । प्रस्तुत छ  समाजका लागि केही गरेर देखाउने दृढ इच्छा भएका युवा अर्थात उनै मोक्तानसंग दामन पोष्टले गरेको कुराकानीः 

थाहा कला केन्द्रको स्थापनाको उद्देश्य र महत्व बताइदिनुहोस् न ?

सर्वप्रथम त थाहा कला केन्द्र तीन ओटा शब्दले निर्मित छ । र, तिनै ओटा शब्दले उत्तिकै महत्वपूर्ण अर्थ राखेको मैले महसुस गरेको छु । थाहा को अर्थ हुन्छ सुचना, कलाको अर्थ आफ्नै ठाउँमा व्याप्त छ र केन्द्रले संगठित स्वरुप प्रस्तुत गर्दछ ।

र, यसको स्थापना कहिले भयो भन्दा पनि किन भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । २०७२ साल जेठ महिनाबाट औपचारिक रुपमा स्थापना भएको यस कला केन्द्रले भविष्यमा कला क्षेत्रको वास्तविक पहिचानलाई सार्थकता दिने मूख्य उद्देश्य राखेको छ । र, बर्तमान अवस्था निकै जटिल रहेकोले युवाहरु सुनिश्चित भविष्यको त्रासमा छन् । उनीहरुको बिचलित मनलाई कलाको माध्यमबाट तथा अन्य माध्यमबाट शक्तिमा रुपान्तरण गर्ने समेत उद्देश्य रहेकोले यसको महत्व छुट्टै छ जस्तो लाग्छ । 

त्यसैले अहिले यहि उद्देश्य र महत्वलाई ध्यानमा राखी हामीले मकवानपुर जिल्लालाई सम्पुर्ण रुपमा समेट्ने गरी गायन प्रतियोगिता अर्थात मकवानपुर आईडलको आयोजना गरिराखेका छौँ  । यो थाहा कला केन्द्रको एउटा गहकिलो उदाहरण बनिरहेको जस्तो महसुस भएको छ ।

मकवानपुर आईडल कसरी अघि बढ्दैछ र यसको फाइनल प्रतियोगिता कहिले हुन्छ ? 

सानै देखि हामीले बिभिन्न प्रतियोगिताहरुको आयोजना गरिराखेकै हौं ।  अहिले यसलाई संगठित रुप बनाएर संस्थागत गर्ने उद्देश्यले कला केन्द्रको स्थापना गरिएको हो । 

हामीले सिङ्गो मकवानपुरकै प्रतिभा समेट्ने लक्ष्यले मकवानपुर आईडलको आयोजना गरिएको हो । गत भदौ महिनाको ३ गते मकवानपुरको गोगने गाविस बाट प्रारम्भिक अडिसनको सुरुवात गरी विभिन्न ६ ठाउँहरुमा अडिसन लिई हामीले ३ सय ४७ जना प्रतिभा समेट्न सफल भएका थियौँ र क्रमश चरणहरु पार गराउँदै अहिले उत्कृष्ट १० प्रतिभाहरु आगामी  २०७३ साल वैशाख १ गते हुने फाईनलको लागि हामी माझ तयार छन् ।  

यहाँ सम्म आईपुग्नको लागि कस्ता खाले चुनौतिहरु आइपरे ?

वास्तवमै चुनौतिको विषय बन्यो यो आईडल हाम्रो लागि । विशेषत यसमा हाम्रो कला केन्द्रका सदस्यहरुकै महत्वपूर्ण भूमिका छन्, किनकी उनीहरुले आफ्नो कार्यलाई दोस्रो प्राथमिकतामा राखी यस प्रतियोगितालाई पहिलो प्राथमिकतामा राखेका छन् । 

सुरुवातमै हामीले आफु आफु सदस्यहरुबाट रकम संकलन गरी यात्रा सुरु गरेका थियौँ । पछिल्लो समयमा केहि व्यक्तिहरुले हामीलाई सहयोग गरे । त्यसले हामीलाई सहज हुँदै गयो, आँट बढाउँदै ल्यायो । प्रारम्भिक अडिसन त त्यसरी नै चल्यो तर दोस्रो अडिसनमा भने हामीलाई निकै कठिन भएको थियो ।  किनकी त्यही बखत देशमा नाकाबन्दी, भूकम्पको विषम परिस्थिति जो ठूलो समस्याको रुपमा हाम्रो अगाडि खडा थियो ।

 त्यसबखतमा पनि हामीले हाम्रो उद्देश्य प्राप्तिका लागि विभिन्न उपाय अपनाएर तोकिएकै क्षेत्रहरुमा गई अडिसन लियौँ  । त्यस बेला पनि सहयोगको हात बढाउने तिनै व्यक्तिहरु थिए जो हाम्रो कार्य प्रति उत्साहित थिए । यसको सफलताको लागि अहिले विभिन्न व्यक्ति, संस्था, मिडियाहरुले सहयोग गरिराखेका छन् र यहाँ सम्म आईपुग्नको लागि मुख्यतया उत्साहित व्यक्तिहरु जसले हामीलाई आर्थिक सहयोग गरेका छन्, कला क्षेत्रलाई माया गर्ने अग्रजहरु तथा कलाकेन्द्रका सदस्यहरुको अतुलनीय भूमिका रहेको छ ।

मकवानपुर आईडल फाइनलको तयारी अहिले के हुँदैछ त ?

अहिले यसको तयारी तिव्र गतिमा बढिराखेको छ । अहिलेसम्म त हामी आर्थिक स्रोत कसरी जुटाउने भन्ने तनावमै छौं ।  फाईनलको लागि मात्रै ३ देखि ४ लाख रुपिंयाको हाराहारीमा खर्च लाग्ने अनुमान रहेको छ ।  अहिले हामी यसैको खोजी तथा सहयोगको हात पसारीरहेका छौं । 

यहि समयमा थाहा नगरपालिकाको कार्यालय तथा अन्य संस्था तथा स्रोतहरुबाट लगभग ५० प्रतिशत आर्थिक पक्ष मजबुत भएको छ, अब बाँकी स्रोत हामी निरन्तर खोजिमा छौँ  । यहि समयमा हामै्र जिल्लाको पहिचान हेटौँडा महोत्सव पनि सञ्चालनमा छ, त्यसले पनि प्रभाव पारिराखेको छ । तर पनि हामी बाँकी स्रोत जुटाउनमै व्यस्त छौँ । समग्रमा तयारी आर्थिक स्रोतमै निर्भर भैराखेको छ ।

अहिले सम्म ५० प्रतिशत मात्र स्रोत जुट्यो भन्नुहुन्छ, यस हिसाबले प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुन्छ नै भन्ने आधार के छ ? 

चुनौतिको सामना गर्न सक्छौँ भन्ने विश्वास भएर नै हामीले थाहा कला केन्द्रको स्थापना र प्रतियोगिता आयोजना गरेका हौँ । निर्धारित समय पनि अझै करिव १ महिना बाँकी छ । यदि सो समय सम्ममा पनि आर्थिक स्रोत जुट्न सकेन भने आईडल हुन्न भन्ने सवाल रहन्न । 

किनकी जहाँ ईच्छा त्यहाँ उपाय भन्ने उखान सर्वव्यापिनै छ । तसर्थ मकवानपुर आईडल पूर्णतया सफल हुनेछ यो  । हामी सबै कला केन्द्र परिवारकै प्रण हो ।
  
प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य के हो ?

थाहा कला केन्द्रको उद्देश्यमा आधारित छ यो प्रतियागिता पनि ।  हुनत यस्तो किसिमका आईडलहरु देशका विभिन्न ठाउँहरुमा भैराखेका छन् र हुने गर्दछन् । उत्तरी मकवानपुरमा पनि यस्तो प्रतियोगिताहरु नभएको पक्कै होईन तर यो अलि व्यापक गर्न हामी लागि परेका छौँ । 

मकवानपुर आईडललाई हाम्रो पहिचान, स्वाभिमान र सार्थकतामा पु¥याउने हाम्रो प्रतिबद्धता हो । अब आईडल भूतकालमा सिमित रहँदैन । मकवानपुर आईडललाई मकवानपुरको गहना, त्यतिमात्रै हैन सिङ्गो देशकै गहनाको रुपमा स्थापित गराउने हाम्रो लक्ष्य हो । किनकी यो प्रतियोगिता हामीले सोचे अनुरुपकै बृहत भैराखेको छ । मलाई लाग्छ हामी हाम्रो लक्ष्यमा चुक्नु पक्कै पर्दैन । 

मकवानपुर आईडल प्रतियोगिता निरन्तरता दिने गरी काम गर्ने सवालमा के छ तपाईको धारणा ? 

यो सवालमा मलाई यो भन्न मन लाग्यो कि कुनै पनि चिज स्थापना, आयोजना हुनु ठूलो कुरा हैन तर त्यसले पाउने निरन्तरता ठूलो कुरा हो । र, यो प्रश्नमा म अडिग भएर उत्तर के दिन चाहन्छु भने हाम्रो यो प्रयास अहिले सफलताको अन्तिम चरणमा छ । र, यो विश्वास छ कि पक्कै यसले सफलता हासिल गर्नेछ । 

अबको दिनमा हामीले जिल्ला हुँदै अञ्चल र पृथक तवरबाट सिंङ्गो देशै समेट्ने खालको प्रतियागिताको आयोजना गर्नेछौँ । यो हाम्रो उद्देश्य हो, जसलाई सार्थक पार्न सकिन्छ भन्नेमा हामी विश्वस्त पनि छौँ । 

आईडलका विजेता  तथा उपविजेतालाई के कस्ता पुरस्कार तथा अन्य व्यवस्था गरिएको छ ?

हामीले मकवानपुर आईडलको विजेतालाई ६० हजार रुपिंया नगद, शिल्ड,  र प्रमाण पत्र त्यस्तै द्धितिय हुनेलाई ३० हजार नगद, तृतिय हुनेलाई २० हजार नगद र सान्त्वना हुनेलाई ५ हजार  रुपिंया  नगद गरी सम्पूर्ण टप टेनलाईनै चिनो स्वरुप एक एक थान मोबाईल सेटको व्यवस्था गर्ने योजना बनाएका छौं ।

त्यस्तै आईडल बन्नेलाई चर्चित गायक टंक बुढाथोकीले एउटा गीत गाउने अवसर प्राप्त गराउने कबोल गर्नुभएको छ । त्यसका साथै चलचित्र निर्माता एवं निर्देशक बिएस बलामीले पनि आफ्नो चलचित्रमा गाउने अवसर दिने प्रतिबद्धता जाहेर गर्नुभएको छ । र, मेरो आशा छ, उहाँहरुले अन्य अन्य अवसरहरु पनि प्राप्त गर्नेछन् ।

अन्तमा यस प्रतियोगिताबारे केहि भन्नै पर्ने कुरा छ की ?

थाहा कला केन्द्र एउटा कला पारखीहरुको अभ्यासरत संस्था हो ।  जहाँ दैनिक हामी आफ्नै तरीकाले संगीत तथा बाद्यवादन सिकिराखेका छौँ । हाम्रो परिवारका सदस्यहरुमा विभिन्न प्रतिभाहरु छन् जुन हाम्रो साहारा हो । यसैलाई माया गरेर विभिन्न व्यक्तिहरुले हामीलाई आर्थिक तथा जिन्सि (बाध्यवादनहरु) सहयोग गर्नु भएको छ । म उहाँहरु प्रति आभार व्यक्त गर्न चाहन्छु र यो प्रतियोगिता आयोजनामा सहयोग गर्नहुने सम्पूर्णमा पनि । 

तपाईलाई विषेश धन्यवाद, थाहा कला केन्द्र अनि मकवानपुर आईडललाई चिनाउने भूमिका निर्वाह गर्ने जमर्को गर्नुभयो । अन्तमा हामी सबैको हो यो कला केन्द्र अनि मकवानपुर आईडल । तसर्थ हामी सबै यसको जिम्मेवार व्यक्तीहरु हाँै ।  

त्यसैले थाहा कला केन्द्र अनि मकवानपुर आईडललाई सबै मिलेर सफल पारौँ  । आगामी २०७३ साल वैशाख १ गते नयाँ वर्ष हामी संगीत र कलालाई माया गर्दै संगै मनाऔं । सो दिन यहाँहरुलाई पालुङमा हार्दिक स्वागत भन्न चाहन्छु । 




0 comments

Write Down Your Responses