Powered by Blogger.
कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै कुनै आवाज उठाइएन ?

मोदनाथ प्रश्रित 
मैले मेरो जीवनको यस उत्तरार्धको समयमाआफ्नो बारेमा धेरै स्पष्टीकरण दिन आवश्यक देख्दिन । मैले आजसम्म आफ्नो सम्पूर्ण क्षमता देश र जनताको वैचारिक, राजनीतिक, सांस्कृतिक चेतना अगाडि बढाउनका लागि लगाएँ भन्ने ठानेको छु । मेरो साहित्यिक÷वैचारिक अभियानको अधिकांश भागसमाजमा दलित भनेर हेपिएको श्रमिक वर्गको खास समुदाय र आधा धरती सम्हाल्ने महिलाहरुको मुक्तिका लागि समर्पित रही आएको विषयमा देश–विदेशका सबै नेपालीहरु जानकार नै हुनुहुन्छ भन्ने ठान्दछु । नेपाली राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा पनि मेरो उत्तिकै योगदान छ भन्ने ठान्दछु ।

मैले नेपाली समाजको आमूल परिवर्तनका लागि आफूलाई समर्पित गर्दा अनेकन हण्डर–ठक्कर, जेल–नेल, अकल्पनीय शारिरिक र मानसिक यातना भोगेको छु । यसक्रममा समाजको अग्रगतिका विरोधी तथा छद्म आवरणमा लुकेका कतिपयहरुबाट अनेकन लाञ्छना पनि बेहोर्नु प¥यो तर पनि मैले आफ्नो आस्था र जिम्मेवारीलाई अलिकति पनि तलमाथि हुन दिएको छैन भन्ने ठानेको छु । खुला पुस्तकजस्तै मेरो जीवनका बारेमा मूल्याँकन गर्ने अधिकार नेपाली समाजलाई छ । 

मैले नेपाली समाज परिवर्तनको अभियानमा आफूलाई समर्पित गरेको पार्टीमा अब उप्रान्त युवा नेतृत्व विकसित होओस् भनी वि.सं. २०६५ सालमा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट सांगठनिक राजनीतिक क्रियाकलाप छोडेको थिएँ । मबाट हुनसक्ने वैचारिक¬–सांस्कृतिक सहयोग भने मेरो चेतनाले साथ दिँदासम्म निरन्तर रहनेछ । 

मेरो योगदान अब निजात्मक रहेन भन्ने नै लाग्छ । मेरो योगदानमा हिलो छ्याप्नु या कालो पोत्नु भनेको नेपाली समाजको प्रगतिशील आन्दोलनको इतिहास र राष्ट्रिय एकताको आन्दोलनमा ग्रहण लगाउने दुश्प्रयास हो भन्ने ठानेको छु ।

हिजोका दिनमा मेरो जीवन नै समाप्त पार्न चाहने तत्वहरु नयाँ परिवेशमा नयाँ अवतार लिएर नयाँ नयाँ शिखण्डीहरु तयार गर्दै अझै पनि ममाथि प्रहार गरिनै रहेका छन् । यदि मैले यस नेपाली समाजलाई केही दिन सकेको छु भने ममाथि हुने प्रहारको प्रतिवाद पनि समाजकै विभिन्न क्षेत्र, तह र भूगोलबाट होओस् भन्ने चाहन्छु । 

म यस प्रसंगलाई स्पष्ट पार्न चाहन्छु । केही दिन यता अत्यन्त काल्पनिक, मनगढन्त, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरु लेखी एउटा अश्लिल साहित्यको पुस्तक बजारमा ल्याइएको रहेछ । ममाथि मनगढन्तढंगले आरोप लगाइएको समय २०४८ सालको रहेछ । मलाई संझना भएसम्म २०५४ सालमा निज शारदा भुसालले कुनै सभाको आयोजना गरेकी थिइन् र त्यसमा मलाई निज आफैंले प्रमुख अतिथिको रुपमा भाषण गर्न लगाएकी थिइन् । मलाई निजबाट “मेरा अभिभावक तथा सम्मानित काका” भनेर सम्बोधन गरिएको थियो ।

यदि मैले त्यस अश्लिल साहित्यको पुस्तकमा भनेजस्तै कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै कुनै आवाज उठाइएन ? किन मलाई आमसभामा प्रमुख अतिथिसमेत बनाइयो ? यसको एउटै उत्तर हो– म माथि कुनै ठूलो षडयन्त्रको तानाबाना बुनिएको छ र नक्कली विवरणसहितको पुस्तक तयार गरिएको छ । 
शारदा भुसाललाई म र मेरी श्रीमतीले मानसिक असन्तुलनको औषधि उपचार गरिदिनका लागि निजकै मातापिताको अनुरोधमा २०४८ सालमा काठमाडौं ल्याएका थियौं र मेरो स्वयंभूमा रहेको डेराकै नजिक मित्र श्री सागर नेपालको घरमा डेरा खोजेर राखिदिएका थियौं । 

तत्कालै एकजना मानसिक चिकित्सककोमा उपचारका लागि लगेर औषधि दिलाएका थियौं । मानसिक असन्तुलन भएकी उनी दस¬–बाह« दिनमै डेरा छाडेर हिँडिछन् । हामीले त्यसपछि निजका बाबुआमालाई तत्कालै खबर गरिदिएका थियौं । त्यसपछि एकैपटक उनले आयोजना गरेको सभामा मलाई बोलाइएको थियो । 

म यस्ता समाजविरोधी तथा तथ्यहिन सामाग्री प्रकाशित गर्ने प्रकाशक र लेखक दुबैको मति सुुध्रियोस् भन्ने कामना गर्न चाहन्छु । यस्ता जनविरोधीहरुका बारेमा यति भन्नु नै उपयुक्त हुनेछ भन्ने लाग्छ । कसैको व्यक्तित्व नै समाप्त गरिदिने उद्देश्यले प्रकाशित गरिएको सामाग्री तत्काल प्रशासनले नियन्त्रणमा लेओस् भन्ने पनि मेरो अनुरोध छ । भविष्यमा यसखाले कुकर्म गर्नका लागि कुनै पनि प्रकाशक वा लेखक उद्यत नहोस् भन्नका लागि सबै साहित्यकार तथा पत्रकार मित्रहरुलाई आवश्यक वातावरण मिलाउन पनि अनुरोध गर्न चाहन्छु । म प्रति सदासयता देखाउनु भएकोमा समग्र सञ्चार क्षेत्र तथा समाजको सबै क्षेत्रका महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । 

0 comments

Write Down Your Responses