Powered by Blogger.
प्रत्येक जिल्लामा ज्येष्ठ नागरिक मञ्च बनाऔं


युक्तलाल विक
‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’  यो भनाइ नेपाली जनजीवनको यथार्थपरक मौलिक उखान टुक्का आज पनि मलाई अत्यन्तै सान्दर्भिक लाग्दछ ।  बूढाबूढीहरुलाई गरिएको सम्मान र उनीहरुप्रति दर्शाएको आदरभाव नै यस उखानको प्रमुख बिशेषता हो ।  

लामो समयको अन्तरालमा अनगिन्ति दुख पीडा रोदनको अनुभूति हर्ष खुसि उल्लासमय क्षणको भोगाई र अनुभब सामाजिक, सास्कृतिक र धार्मिक जीबन शैलीको बुझाई अनि भोगाई गृहस्थी जीबन संचालनको लामो अभ्यासले तयार भएको जीबन कहानी उत्प्रेरणाको प्रमुख श्रोत हो ।

सामाजिक जीबन यापनको महत्वपूर्ण कार्यभार बृध्दबृध्दाको प्रत्यक्ष संलग्नतामा अगाडी बढ्दै गईरहेको छ ।  नैतिक आचरण सामाजिक एबम सांस्कृतिक ब्यबस्थापन सरल जीबनशैली आदिको अनुकरणीय उदाहरण पनि बृध्दबृध्दानै हुन । बिगतको लामो भोगाइले उनीहरुमा परिपक्वता कायम भएको हुन्छ । भोगाई र अनुभब जीबन संचालनको महत्वपूर्ण पाटो हो । आगामी दिनलाई कसरी सरल र सहज बनाउने भन्ने कुराको मार्ग दर्शन पनि हो । यसले बिगतका कामको समिक्षा र सिंहाबलोकन गर्ने काम गर्दछ  । गल्ति कमजोरीको पुनरावृति नगर्ने राम्रा र सकारात्मक कुराहरुलाई बस्तुपरक ढंगबाट निरन्तरता दिदै जाने काम गर्दछ ।

लामो जीबनचक्रको अविरल यात्रामा बृध्दबृध्दाहरुले धेरै घुम्ती र मोडहरु पार गरेका हुन्छन त्यसैले बृध्दबृध्दा जिउँदा इतिहासका पाना हुन् । जसलाई हामी जुनसुकै समयमा पढ्न सक्छौ । उनीहरुको जीबनशैलीको शुक्ष्म एबम बृहतर रुपमा ब्याख्या विश्लेषण गर्न सक्छौ । अनुभब र  भोगाई सिकाईको महत्वपूर्ण जीबनदर्शन हो । जीबनलाई सहि गन्तव्यमा पुरयाउने साधन पनि हो । यसले सामाजिक संरचनालाई परिष्कृत र ब्यबस्थित बनाई जीबनशैलीलाई योजनाबध्द रुपमा अगाडी बढाउन मध्दत पुरयाउदछ । बृध्दबृध्दाको भोगाई र अनुभब परिवार समाज र सिंगो देशलाई सुब्यबस्थित रुपले  दिगोविकास एबम समृध्दिका लागि उपयोग गर्नु नितान्त आबश्यक छ ।
उनीहरुले प्राप्त गरेका ज्ञान नयाँ पिँढीमा हस्तान्तरण गरिनुपर्दछ । उनीहरुका सिपलाई समयसापेक्ष ढंगबाट आधुनिकी र बैज्ञानिकीकरण गर्दै अगाडी बढाउनु पर्दछ । बृध्दबृध्दाको ज्ञान सिप क्षमता र दक्षतालाई भरपुर प्रयोग गर्ने हो र उनीहरुको भूमिकालाई उच्च सम्मान दिने हो भने निश्चयनै हामी उन्नति र समृध्दी तर्फ लम्कन सक्छौ । यसमा हाम्रो ध्यान जानु नितान्त आबश्यक छ । 

अब हामीले बूढाबूढीको कुरा सुन्नुपर्छ । उनीहरुको योगदान र भूमिकाको सम्मान गर्नुपर्छ । जसरी परालको आगो तुरन्तै बल्छ राप पनि चाडै सिध्दिन्छ ताप पनि आउदैन तर मूढा बलिरहन्छ राप र ताप पनि आइरहन्छ । बृध्दबृध्दा भनेका धेरै भोगाई र अनुभवले खारिएका ज्ञानका भण्डार हुन । त्यसर्थ उनीहरुले उर्जाशील समयमा ब्यतित गरेका अनुभब र कामहरुको पुनस्मरण गर्ने र उनीहरुसंग भलाकुसारीको दोहन चलाउनु पर्दछ । बृध्दासंग मनका कुरा अभियान चलाई अन्तरमनका भावनाहरुलाई समाज परिवर्तन र सुधारमा केन्द्रित गराउनु नितान्त आबश्यक छ  । अनि मात्र आगो ताप्नु मूढाको कुरा सुन्नु बूढाको भन्ने उखानको सार्थकता सिध्द हुन्छ ।

तर पछिल्लो समयमा बृध्दबृध्दाप्रति जुन किसिमको प्रेम र सद्भाब हुनु पर्ने हो त्यसमा केहि कमि आएको कारणले उखानको सान्दर्भिकतालाई नै कतै उपहास गरेको हो कि भन्ने भान हुन्छ । आफ्ना छोरा छोरीलाई बूढेसकालको साहरा ठान्ने बुवा आमालाई हेलाँ र तिरस्कार गरेका केही घटनाहरु प्रकासमा आईरहेका छन । छोरा छोरी देखि आजित भएर घर परिवारलाईनै परित्याग गरि विभिन्न बृध्दाश्रम आश्रय लिईरहेका छन् ।

जीवनको अन्तिम क्षणमा पारिवारिक मिलनको सुखद अनुभूतिमा रमाउन चाहने बृध्दबृध्दाहरु बहिष्कृत हुनु भनेको ज्यादै दुखद पक्ष हो । भनिन्छ नि मातृ देवो भवः पित्रृ देवो भवः आचार्य देवो भवः  अतिथि देवो भवः अर्थात माता पिता गुरु र पाहुना भनेका भगवान हुन् । जसरी हामी भगवान प्रति भक्तिभाव दर्शाउछौ त्यसरी नै आमा बुवा प्रति आदर र भक्तिभाव दर्शाउनु पर्दछ । सबै दुख कष्ट बिर्सिएर कुण्ठा र बेदनाहरुलाई समेत लुकाएर ओठमा हाँसो छर्दै हामीलाई ताते ताते गर्दै डोहोरयाउनु भो  । भोक र तिर्खाले ब्याकुल हुँदा पनि किन्चित दुख नमानी के के खान्छौ भनि सोध्दै खोज्दै हामीलाई खुवाउनु भो । आफ्ना सन्ततिलाई प्राण भन्दा प्यारो ठानी ममताले सिगार्नु भो  ।

बिरामी हुँदा काम्दै तडपदै कहिले टाउको कहिले नाडी छाम्दै के भयो बाबु भन्दै दुखित हुनु भो  । जाडो भई ओठहरु काप्दा सिरकले गुटुमुटु पारि सुताउनु भो । हामीलाई हिड्न सिकाउनु भो पढ्न सिकाउनु भो यावत सबै कुरा सिकाउनु भो । जीबन र जगतलाई बुझ्ने योग्य र कर्मठ ब्यक्ति बनाउनु भो ।                                                           
यसरी ममताकी खानी प्रेरणाको श्रोत हाम्रा आमा बुवा साच्चै शाश्वत ईश्वर हुन । उनीहरुको सेवामा समर्पित हुनु हरेक छोरा छोरीको कर्तब्य हो । हामीलाई बाल्यकालमा दुख कष्टका बाबजुद पनि ममताले सिँगार्दै डोहोरयाउने आमा बुवालाई अब हामीले पनि उहाहरुलाई भोको र नाङ्गो राख्नु भएन ।

उहाँहरु बिरामी हुँदा उपचार गर्नु पर्यो जसरी हामीलाई के भो बाबु भनि नाडी छाम्नु हुन्थ्यो । हिजो हामी संग रमाउनु भो आज हामी उहाँहरु संग रमाउनु पर्छ ्र यी सबै काम गर्ने पालो अब हाम्रो हो । बृध्दबृध्दाहरु पारिवारिक मेल सुख समृध्दी चाहन्छन् ।  आफ्ना सन्ततिको उन्नति प्रगतिमा रम्न चाहन्छन् । त्यसर्थ उनीहरुप्रति माया प्रेम र सदभाब व्यक्त गरौं । हरेक दुख सुखमा हातेमालो गरौं । कहिल्यै पनि आफ्ना छोरा छोरीको माया प्रेमबाट बिमुख हुन नपरोस । दुख कष्टले ब्याकुल बन्दै संयम गुमाउन नपरोस् ।

 पारिवारिक बिमेल आपसी समझदारीका कारण बुढेसकालमा मानसिक रुपले विक्षिप्त भई घर त्यागेका वा त्याग्न बाध्य भएकाहरुको जीबन ज्यादै कहालीलाग्दो बन्दै गईरहेको छ । रोग र तनावले ग्रसित बृध्दबृध्दाहरु जुन अबस्थामा भेटिन्छन उनीहरुको मनोविज्ञान बुझ्दा अधिकांसहरु परिवारबाट नै अपहेलित हुनु परेको बुझिन्छ । वृध्दबृध्दाहरु राज्यका महत्वपूर्ण हिस्सा हुन् । 

उनीहरुले गरेको योगदानको राज्यद्वारा कदर गरिनु पर्दछ । बिकसित मुलुकहरुमा बृध्दबृध्दाको लागि बिशेष सुबिधाको व्यवस्था गरिएको हुन्छ । सम्पन्न परिवारमा उनीहरुको संरक्षण र स्याहार गर्न हेरालुको व्यवस्था समेत गरेका हुन्छन् । बृध्दबृध्दाको स्वास्थ्यप्रति राज्य गम्भीर रहेको हुन्छ ।  बेला बेलामा स्वाथ्य परिक्षणको व्यवस्था मिलाइएको हुन्छ । रुची अनुरुपका संगीत र मनोरन्जनको व्यवस्था समेत मिलाएको हुन्छ । 


हाम्रो देशमा पनि  बि.सं.२०५१ मा तत्कालिन सरकारका प्रमुख प्रधानमन्त्री मनमोहन अधिकारीले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७५ बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई मासिक रु १०० का दरले भत्ता दिने व्यवस्था मिलाउनु भयो ।  यो नेपालको इतिहाँसमा बृध्दबृध्दाप्रति गरिएको सम्मानको अनुपम नमुना हो  । यो कार्य हालसम्म पनि निरन्तर रुपमा अघि बढिरहेको छ । 

यो आफैमा महत्वपूर्ण कदम त हो तर पर्याप्त होइन ।  राज्यको तर्फबाट बृध्दबृध्दाको लागि अझै गर्न बाकीनै छ ।  राज्यले ज्येष्ठ नागरिकको संरक्षण र सुरक्षाको लागि प्रत्येक जिल्लामा ज्येष्ठ नागरिक मंच गठन गरिनुपर्दछ । यसका साथै ज्येष्ठ अशक्त नागरिकका लागि पुनर्स्थापना केन्द्र गठन गरि भरणपोषणको व्यवस्था मिलाउनु आबश्यक छ  ।  बृध्दबृध्दाको स्वास्थ्यको नियमित परिक्षण धार्मिक एबम पर्यटकीय क्षेत्रको भ्रमण मनोरन्जन लगायतका कुराहरुको ब्यबस्थापन गर्नु आबश्यक छ । 

हाल धार्मिक मठ मन्दिरहरुमा बृध्दबृध्दाहरुको लागि आश्रयस्थलको व्यवस्था मिलाएको भएता पनि अझ ब्यबस्थित हुन सकेको छैन । निजि साधनश्रोतको उपयोग गरि समाज सेवामा लागेका मानुभावहरुले बृध्दबृध्दाको स्याहार संरक्षण गर्न केहि बृध्दाश्रमहरु खोलेको पनि पाइन्छ । यो ज्यादै राम्रो र अनुकरणीय काम हो ।

जसले आफ्नो जीवनको सम्पूर्ण लगानी बृध्दबृध्दाप्रति समर्पित गर्न र समाजसेवाको महान कार्यमा समर्पित हुन संकल्प लिनुभो उहाँहरुलाई धन्यवाद दिनै पर्छ । तर पनि नागरिक हरुको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो । त्यसर्थ असहाय बृध्दबृध्दालाई भरणपोषणको व्यवस्था सहित संरक्षण र स्याहार गर्न राज्य तदारुकताका साथ अग्रसर हुनुपर्दछ । बृध्दबृध्दाका लागि आफ्नो सन्तानबाट प्राप्त गर्ने मायामा कुनै किसिमको पनि कमि आउनु हुँदैन ।  हामीलाई सक्षम बनाउन अतुलनीय भूमिका उहाँहरुबाट भयो त्यसको सदैब स्मरण गर्नु पर्दछ र सम्मान गर्नु पर्दछ  । हामीलाई आज यहाँसम्म पुरयाउन खेलेको भूमिकालाई कहिल्यै नभुली बृध्दबृध्दाको सेवा गर्ने अब हाम्रो पालो भन्दै हामीले हाम्रो कर्तब्य पुरा गरौ ।       

0 comments

Write Down Your Responses