Powered by Blogger.
मेरो धरातललाई स्वर्ग बनाउने सपना

सुशाल थोकर
 कथा उही गाँउघरको हो, मात्र पात्र र परिवेश फरक, जीउने तरिका सबैको एक हो मात्र खान्की फरक.......। जागीर सबैको दश पाँचकै हो मात्र तलब फरक....। ईश्वरले दिएको धर्ति त फरक हुँदो रहेछ मान्छे किन फरक नहोस..। 

अनि यो लोभ र लालचमा फसेको भगवानले दिएको भौतिक शरीर किन फरक नहोस....।। हो आज म उभिएको धरातल पनि यस्तै फरक–पनको शिकार भएको छ । म बाल्यकालमा खेल्ने चौतारो आज सडकको डिल भएको छ । मैले बाल्यकालमा देखेको खोलाको किनारा आज बगरको बास भएको छ । हरिया वन जङ्गल हुनेखानेको खल्तीमा नोट भर्दै सडकको लस्कर भएको छ । 

स्वच्छ, सफा–हराभरा वातवरणलाई गन्धहीन हावाको आवरणले ढाकेको छ । सुस्तरी कुवामा आउने कस्तुरी पानी नपाई तृष्णाले फर्केको छ । 

पैसा भए मात्र आफ्नो मान्छे छ रे ! 
पैसामा बिक्ने पापी मान्छे छ रे !! 
मान्छेले नै मान्छेलाई काँच्चै खान्छ अरे !! 
आफुसंँग विपुल फगतमा पैसा भए मात्र साथ दिन्छ रे यो जगतमा......

पल्लाघरे दाई अकालमा मरेको छ । यहाँ कसैैको आखाँबाट आशुँ रसाउँदैन रैछ । जीवनको भीख माग्दा पनि पैसामा सुतेका मान्छेले दान दिँदा रहेनछन् । त्यसैले त यहाँ धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । 
चोट लाग्दा कस्तो हुन्छ ? त्यो पनि थाहा छ सबैलाई ....तर मान्छे किन बुझ्दैन मान्छेको नै पीडा ? जब थाहा थियो मानिसलाई चोट लाग्दा कस्तो हुन्छ....!?

मेरो धरातल यस्तै–यस्तै विशेषताले भरिपूर्ण छ । यो पर्यटकीय रुपमा सुपरिचीत छ । मेरो जस्तो धरातल संसारमा एउटा मात्र छ । त्यसैले यो अनौठो छ । अनौठो यो धरातल बिचित्र छ । यो धरातल भित्र म पनि छु । सबै मान्छे एउटै किसिमको छ–मात्र फरक म...।

लथालिङ्गै यो मान्छेहरुलाई छोडेर जाउँकी ...!
जोस आउँछ कैले त घाटी ङ्याकेर जाउँकी...!!

किन बस्नु जस्तो लाग्छ– ब्यर्थै मान्छे भएर पनि सुन्सान यो ठाउँमा....! हे.....साथ देउ...हे... साथ देउ भन्दा नसुन्ने यो ठाउँमा...। के यो निर्जन हैन र ? की म आफै निर्जन..! छुट्याउन गाह्रो भैसक्यो यहाँ....।ढडेलो खोला सुकिसक्यो जाहाँ गङ्गटो मार्न जान्थेँउ हामी ! हरिया वनमारा लुकिसक्यो जहाँ लुकामारी खेल्थेँउ हामी ! खहरे भीरमा पहिरो गैसक्यो लहरे भीरमा पनि ! गोलपाती बनको फुलपाती गुराँस फुल्दैन रे अब त्यहाँ ! बाल्यकालको स्मृती सङ्गै अनेक–झझल्को साथमा बोकेर क्षण–क्षण सम्झेर आफ्नै धरातलमा आँशु बगाउँछु । 

जाहाँ हाँस्थ्यौ हामी केटा–केटी पेट दुख्ने गरी । श्राप लागोस् जसले स्वर्ग जस्तो मेरो धरातललाई नरकमा परिणत गरेको छ ।यो भन्नु सिवाय अरु त के गर्न सक्ने होर ! यो माटोले नै सराप्छ, जसले मेरो धरातललाई लात हानेको छ । मायाँ–प्रितीको साटो यहाँ दम्भ ल्याएको छ । यो धरातल यस्तो हुन सक्दैनँथ्यो, भयो यो कसोरी...? 

आज मलाई आश्चर्य लागेको छ । एक छिन नाङ्गै भएको पहाडसङ्ग बोले जस्तै गरी बोल्छु, “सबैले मायाँ मारे पनि तँ त मार्ने छैनस् नि है ?” किन बोल्थ्यो र ! त्यो पहाड, सबै मान्छेको अधिनमा भएसी जस्तो लाग्छ ।।
भ्रष्टले अधोगती तर्फ यो धरातललाई खै कहाँ पु¥याएर छोड्ने हो ! अझै पनि सुन्दर यो धरातलाई भ्रष्टले कहिले बेच्ने हो ! बेच्न चाहिँ बेच्छ  । कुन दिन बेचेर नै छाड्छ !! 

गौतम बुद्घलाई पनि विदेश कै भन्न थाल्छ । सगरमाथाको उचाई घट्न थालेको छ, हाम्रो स्वाभिमान पनि घटेको छ । भन्दा होलान्  गौतम बुद्घ, “शान्ती यही नै हो त ? ” सहिद पनि भन्दा होलान, “यही नै हो जागृती ? ” धर्तीमाता भन्दै होलान् “ के यही नै हो मेरो सपना ?”

ठीक विपरीत भएको छ आज मेरो धरातल । शान्तिको साटो द्धन्द–हिंसा, जागृतीको साटो आलश्यता, उन्नतीको साटो अधोगती भएको छ । धरातलमा पाउ राख्नै पनि मलाई त गाह्रो भइसक्यो । कतै धर्तीमाताले मलाई पनि श्राप त दिने हैन ! त्यस्तो नहोस् हे धर्तीमाता भन्दै पुकार गर्नु सिवाय मैले आज अरु केही माग्नु छैन ।

मेची–कोशी सुकिसक्यो बोक्सी आरोप लाउने यो समाजलाई के’था ! अन्धविश्वास–अन्धकारमा फसेका यी मान्छे कहिल्यै सोच्दैन किन अरुको निम्ती..किन सोच्यौ आफ्नो निम्ती मात्र । त्यसैले त जस्तो लाग्छ–मेरो धरातल कहिले उभो लागेन..। निःसासस्याछु बस्दा भ्रष्टहरुको अधिनमा । कहिले स्वतन्त्र हुन पाउने...हे–भगवान मेरो धरातललाई ब्युझाईदिनु....।। काली–गण्डकी पनि बन्धकी राखी पैसा माग्न बेर लगाउँदैन यी भ्रष्टहरु ।

भ्रष्टै–भ्रष्टै मात्र यहाँ कोही भद्र रहेन रैछ !
उभद्र–उभद्र काम गर्ने मान्छेको मात्र जात्रा रैछ !!

बुझ्छन की यो धरातलको मानिसले भन्ठानेर हिमालका हीउ आशँु बनेर सुकिसक्यो । किन बुझ्थ्यो बुझ् पचाउने मान्छेले–आफ्नै आमा मर्दा त आशँु नझार्नेले...। धिक्कार त्यस्ता मान्छे बरु गर्भमै तुहिएर मरेको भए बेस हुन्थ्यो...।।

घडीको सुईले आज, भोली, भरे भन्दै अन्नतमा समयलाई कहाँ पु¥याईसक्यो कहाँ ? यो धरातलको मान्छे भने जहाँबाट उसको उदय भएको थियो, त्यँही नै छ । झन धरातलको कुरै नगरौ । रुढिवादी परम्परा अझै पनि जीवित छ । सामाजिक समस्या त कति हो कति । बाहुन मुखिया दाईले दमाई सन्ते दाईलाई पानी तिर्खा लाग्दा पानी पनि नदेको याद छ मलाई । पधेरोमा कार्कीनीले माख्लाघरे सार्कीनीलाई पानी थाप्न नदिएको पनि याद छ मलाई । म सानो छँदाको यो परम्परा अझै जीवित रहेको देख्दा कलै मारिदिउ जस्तो लाग्यो । 

कामी दाईले नै बनाएको खुकुरीबाट मासु काटेर खान हुने !
तरै पनि किन कामीले छोएको खान नहुने !!
दमाईले सिएको कपडा लाउने यी ठुलाबडा भनौदाहरुले !
किन छुवाछुत गर्यो यी गनौदाहरुले !!

भनि सके, मलै  फरक हुँदो रैछ, मान्छे किन फरक नहोस् मेरो धरातल । उभिएको एउटै मेरो धरातललाई विखण्डन गर्ने भन्छन् अझ यी मान्छेहरु....। कहिले शान्ती नहोस् तँलाई, कहिल्यैै हर्ष नहोस् भनेर मलाई भन्नु आवश्यक छैन धर्तीमाताले नै भने पछि.....।।

सायद यो धरातलका मान्छेले कुन जुनीको पाप बोक्यो भन्छन्–राँईला दाई ! म सम्झाउँदै  थिँए दाईलाई, “ त्यसो हैन दाई हामी सबैको कारण नरक बनेको छ यो धरातल ।

माग्नेलाई भिक्षा छैन–पढ्नेलाई शिक्षा छैन !
पापी! पापी!! यहाँका मान्छे केही गर्ने इच्छा छैन !!
काम गर्न लाए हात–गोडा लुलो !
खान लाए आँखा ठुलो !!  कहाँ त्यसै भनेका रैछ र ! हाम्रा बुढापाकाहरुले..........................

म मन मनै यी यस्ता केही......सोच्दै डाडाँमा लागे । सफा गगनमा हेरे । पानीका छिट्टा आँखामा खस्यो । सायद रुदैछ यहाँ सहिदका आत्मा ! गौतम बुद्घ, धर्तीमाता !! केही गरिदेउ उन्नती–धरातलको...कसैले त गरिदेउ भनेर.....!!!

अब त्यसै बसेर भएन । सबै ज्युँदै मरे पनि म त बाँचेको छु । प्रतिज्ञा गरेँ, मैले यो धरातललाई स्वर्ग बनाउने । अन्धविश्वास–कुरीतिलाई लात हान्ने बिचार गरेँ । भ्रष्ट धरातल द्रोहीलाई ज्युदै मार्ने सङकल्प गरे । सहिदका आँशु झार्नेलाई धरातल द्रोही सहिद बनाउने भए । एक चोटीे धर्तीमातासङ्ग मेरो प्रार्थना, “बनाउनेछु  धरातल हे..आमा सपना साकार भो ! रुनु पर्दैन मै रैछु एक्लो सुपुत्र–तिम्रा अनि तिम्रा मारिएका सुपुत्रका भाई !! अर्पण गरेँ, मरे पनि म बनाउनेछु यो धरातललाई.....ई...ई....ई......।।’

हे...मेरा बुद्घ साँचो शान्ती फर्केर आउँछ फेरी तिमीले पनि रुनु पर्दैन । एक टुक्रा नराखी द्धन्दकारीहरुलाई बागमतीमा फालिदिन्छु.....!! अनायासै एकै छिनमा डाँफे चरी आकाशमा उडेको देखेँ । लालीगुराँस पनि फ्याट्ट–फुट्ट वनमा देख्न थालँे । सुर्य–प्रकाश सीरमा  परि गर्मी हुन थाल्यो । सिरिरिरी हावा चलेपछि शीर सङ्गै मन पनि शान्त भो ! देशमा हाँसो–खुशी–शान्ती छाउने संकेत जस्तो लाग्यो । मनको आबेग एक छिन मै विलिन भयो ।

तर अबका दिनमा मैले मेरो प्रतिज्ञालाई पुरा गर्नु नै छ । मेरो धरातललाई स्वर्ग बनाउनु नै छ । त्यसैले म भन्छु ‘जय धरातल, मेरो देश, जय धर्ती मेरो नेपाल । ’

1 comments

निवन्धमा जसरी देवकोटाले देशभक्ती भावलाई अटाउँथे त्यस्तै गरि आफू जन्मेको धरातल ,माटो वातावरण ,संस्कृती आदिको चिन्ता गर्दै।अब यो आफ्नो जन्मभुमिलाई कर्म गरेर हराभरा बनाउने, हराउदै गएको साख फिर्ता ल्याउने भावना व्यक्त भएको छ।

Write Down Your Responses

pfizer vaccine