Powered by Blogger.
किन ओझेलमा पर्यो दलितको आवाज ? (जागरण गीतको भीडीयो सहित)


युक्तलाल विश्वकर्मा

जातीय छुवाछुत प्रथा सामाजिक कुरीति र अन्धविश्वासको परिचायक हो । सदियौ देखिको जातीय अपमान र पीडाको पीडाबोध हो । जसले मानवीय जीवनको आत्म स्वाभिमान माथि गम्भीर रुपले ठेस पुर्याउने काम गरेको छ । जातका आधारमा कोही छुत हुने कोही अछुत हुने, धर्म र संस्कारको पगरी गुथेर आफुलाई उच्च स्थानमा पदासिन गराउने अहंकारबादी सोच र चिन्तनले मानिस मानिसबीच विभेदको पर्खाल चुलिदै गयो । सानो र ठूलोको विभेद कथित जातीय छुवाछुत प्रथामा अत्यन्तै नीर्घिनी बन्दै गयो । जसका कारण मानब जाति र उसले सिर्जना गरेको सभ्यतालाई समेत दुस्प्रभाब र प्रदुषित पार्ने काम भएको छ । कला कौशल र सिर्जनाका धनि जसको श्रम र सिर्जनाले सामाजिक जीबनपध्दति एबम संरचना क्रियाशील ,परिष्कृत र जिबन्त छ । समाज शुसोभित र चलायमान छ । अझ भन्ने हो भने  सामाजिक इज्जत र प्रतिष्ठा निरन्तर संचालित छ । तर समाजका निर्माता, भरणपोषणकर्ता र सृष्टि विधाताहरु क्रुर अमानवीय जातीय कुप्रथाको सिकार बन्न बाध्य छन् । प्रत्यक्ष वा अप्रत्यक्ष जानिँदो वा नजानिदो ढंगवाट कुनै न कुनै रुपमा उत्पीडित दलित समुदायमाथि गरिने सम्पूर्ण खाले विभेदको अन्त्यको निम्ति जागरण र जागृतिका स्वरहरु घन्काई छुवाछुतको समुल अन्त्य गर्न गीत र संगीतको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

दलित समुदायहरु स्वयमनै कला र सिर्जनाका खानी हुन् । संगीतका पारखी हुन् । सामाजिक रीतिथिति र संस्कृतिका हरेक बिधिबिधानमा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको छ । जन्म देखि मृत्यु सम्मका मानवीय जीवनका हरेक आबश्यकताहरु दलित समुदायको सिप र कलासंग जोडिएका छन् । समाज संचालनको महत्वपूर्ण हिस्सा ओगटेका दलित समुदाय माथि जातीय छुवाछुत जस्तो अमानवीय क्रियाकलाप हुनु अत्यन्तै लाजमर्दो र घृणित कार्य हो ।

जातीय छुवाछुत प्रथा समाजमा रहेसम्म समाजको उन्नति र प्रगति सम्भव छैन । देशलाई प्रगति र समृध्दीको दिशातर्फ अग्रसर गराउनु पर्ने बर्तमान सन्दर्भमा हामीबीचको बैरभाव र कटुताले हामी कति पछाडी धकेलिएका छौँ भन्ने कुरा हामीले हाम्रो इतिहास र बिकसित राष्ट्रहरुको विकासक्रमको एतिहासिक पृष्ठभूमिको अध्यनबाट सहजै बुझ्न सक्छौ । अत हामीबीचको एकता र सद्भावले मात्र बिकासको अग्रतालाई प्राप्त गर्न सक्छौं ।
जातीय छुवाछुतको अन्त्य गरि समतामुलक समाज निर्माणगर्ने उध्देश्यका साथ संगीतको माध्यमबाट चेतनाको अभिबृध्दी गर्ने उध्देश्यले संदेशमुलक गीतहरुको संगालो ‘दलित आवाज’ दलितहरुको एकताको आवाज हो । यसलाई केहि बर्षबाट सार्वजनिक गरिएको थियो तर अपेक्षाकृत ढंगबाट यसको प्रचार प्रसार हुन सकेन ।
ढिलै भएपनि सबैमा संगीतको यो आवाज तरंगित भई जातीय छ्वाछुतका विरुध्दमा एकताबध्द हुन उत्प्रेरणा जागोस भन्ने अभिप्रायले गीतलाई सार्बजनिक गरिएको हो । यसले दलितहरुको समस्यालाई उजागर गर्ने र समाजको कुसंस्कारलाई जरैदेखि फ्याल्ने काम गरेको छ । चाहे गाउमा होस् चाहे शहरमा जहाँ सुकै हुने विभेद खासगरी जातीय छुवाछ्त अन्त्य गर्न गीतले संदेश प्रवाहित गरेको छ  । यसै गीति एल्बमबाट देश बिदेशका घटनाहरु ...... यहाहरु समक्ष प्रस्तुत गरिएको छ । 

देश बिदेशका  विभिन्न घटना र बिषयबस्तुका संदेशहरुलाई गाउका दुर दराजमा गई संदेश प्रवाह गर्ने काम गन्धर्व दाईहरु सामाजिक तिरस्कार भोग्न बाध्य छन् । उनीहरु सूचना र संचारका संवाहक हुन् । सारंगी रेट्दै मधुर भाकामा गीत गाउँदा सबैका मन मुटु , खुसी र हर्षले चुम्छन अनि झुम्छन् । खुसी र आनन्दको बर्षा हुन्छ । तर बिडम्बना कला र सिर्जनाका खानी उहांहरु माथी अपमान गरिन्छ र घृणा गरिन्छ । त्यसर्थ देश बिदेशका घटना सुनाउने उहाँहरुलाई जातीय छुवाछुत अन्त्यका लागि र अछुत भन्ने नामै मेटाउनका लागी आव्हान गरिएको छ । त्यसै गरि सरसफाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सफाई मजदुर माथी पनि ज्यादै अशोभनीय ढंगको ब्यबहार छ । यो व्यवहार पनि न्याय संगत छैन । त्यसर्थ हामी कल्पना गरौ सडकका गल्लि र चौकहरु सफा गर्न १ दिनमात्र ढिला गर्ने हो भने यहाँ कस्ता समस्याहरु देखा पर्छन होला ?

त्यसर्थ उहाँहरु माथी जुन किसिमको अपमान छ यस्तो अपमान अब सहेर बस्ने होइन जुझारु एकताका साथ छुवाछुतको अन्त्य गर्न र अछुत भन्ने नामै मेटाउनका लागी एकजुट हुनुपर्ने संदेश पनि गीतले प्रदान गरेको छ । यसैगरी गाउँघरका झुपडीमा आरन चलाई कृषिका महत्वपूर्ण सामग्रीका सिर्जनाकर्ता कामीदाई प्रति पनि यहाँ अपमान छ । उनीहरुले हसिया, कुटो, फाली लगायतका सामग्री नबनाउने हो भने कृषि ब्यबसायका साथै अन्य कार्यहरु संचालन  हुन सक्दैन । त्यसैले उहाँहरुलाई पनि जातीय अपमानको विरुध्दमा एकजुट हुन् र अछुत भन्ने नामै मेटाउन गीतले अनुरोध गरेको छ । 

शुभ साइतको प्रतीकको रुपमा पन्चे बाजा बजाई साइतको शुभारम्भ गर्ने कलाका पारखी दमाई दाईहरु माथि पनि यस्तै खाले विभेद छ । अत राष्ट्रिय पोशाक दौरा सुरुवाल टोपी समेतका निर्माता समेतलाई पनि जातीय मुक्तिको अभियानमा लामबध्द हुन र अछुत भन्ने नामै मेटाउन जोडदार रुपमा आग्रह गरिएको छ । यहाँ जातीय छुवाछुत उल्लेखित जाती समुदायलाई मात्र होइन, सम्पूर्ण दलित समुदाय प्रति सामाजिक अपमान छ विभेद छ र तिरस्कार छ । सामाजिक रुपले हरेक क्षेत्रमा विभेदका घटनाहरु यथावत रुपले कायमै देखिन्छ । परिवर्तित समयमा शिक्षा र चेतनाका कारणले जातीय मुक्ति आन्दोलनमा सहभागिता बृध्दि पनि भएको छ । उत्पीडित दलित समुदायको आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा केहि परिबर्तनका संकेतहरु पनि देखा पर्न थालेका छन् ।  

यो परिस्थितिमा जुन परिवर्तन हुनु पर्ने हो त्यो हुन सकेको छैन । राज्यले दलित समुदायको उत्थान र विकास गर्न जुन किसिमको तत्परता देखाउनु पर्ने हो त्यो खासै हुन सकेको छैन । राज्य व्यवस्था परिवर्तनको हरेक आन्दोलनमा उत्पीडित दलित समुदायको महत्वपूर्ण भूमिका रहेको छ तर व्यवस्था परिबर्तन संग संगै जुन किसिमको अपेक्षा हामीले गरेका हुन्छौ त्यो पूरा हुन सकेको छैन । बिभिन्न चरणमा भएका घोषणा र नियम कानुनहरु ब्यबहारिक रुपमा कार्यान्वयन हुन नसक्दा कागजी खोस्टाको रुपमा मात्र सिमित भएको छ ।

 २०६२ र ०६३ को ऐतिहासिक जनक्रान्तिले राज्य व्यबस्था परिबर्तन भयो । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भई संबिधान सभाको दोस्रो निर्वाचनबाट नेपालको संबिधान २०७२ जारी भईसकेको छ । बहुप्रतिष्ठित संबिधानले नेपालका बिभिन्न जाति जनजाती पिछडा क्षेत्र सिमान्तकृत दलित महिला भूगोल सबैको अधिकारको प्रत्याभूत गरेको छ ।  अहिलेको संविधानले सबैको न्याय गरेको छ । दलित समुदायको सम्बन्धमा पनि राम्रो भएको विश्लेषण गरिन्छ । 

संबिधान राम्रो हुँदैमा त्यसको कार्यान्वयन पक्ष कमजोर भयो भने अधिकार सुनिश्चित हुन सक्दैन । हामीले बिगतबाट यही कुरा सिकेका छौ । त्यसैले अबको हाम्रो भूमिका पनि संबिधानलाई ब्यबहारिक कार्यान्वयनका लागि दवाब सिर्जना गर्ने र दलित अधिकारलाई सुनिश्चित गराउनु पर्दछ । यो देश हामी सबैको हो भन्ने महशुस सबैमा हुनु पर्यो ।  श्रमजीबी बर्गहरु परिश्रम गर्ने तर आफ्ना लागी नभईकन शोषक र सामन्तीका लागी भयो । जसका कारण धनि सधै धनि भईरहने गरिब सधै गरिब सधै गरिब भईरहने व्यवस्था कायम भईरह्यो ।  काम गर्ने कालु मकै खाने भालु भनेझैँ हुनु भएन । 

अब पालो काम गर्ने श्रमजीबीको हो । श्रमको उचित कदर गर्ने र श्रमलेनै देशलाई सिंगार्ने हो भने देश पनि साच्चै प्रगतितर्फ उन्मुख हुन्थ्यो । त्यसर्थ प्रगतिशील राज्यव्यवस्था कायम गर्नका लागी सबै खालका विभेदको अन्त्य हुनु पर्दछ । जातीय छुवाछुत त समुल रुपैमै अन्त्य हुनु पर्दछ । यसैका लागि यो सन्देशमुलक गीतको सिर्जना गरिएको हो । यस गीतले जागरण र जागृतिको लहर सिर्जना गर्न अबश्य मध्दत पुर्याउने छ । 
यस गीतलाई वृतचित्रको रुपमा चित्र संयोजन गर्नुहुने सुवास विश्वकर्मालाई धेरै धेरै धन्यवाद  । साथै यो गीतको प्रचार प्रसारमा भूमिका निर्वाह गर्नुहुने आदरणीय पत्रकारहरु गोपाल सिवा, शन्तराम बिडारी, अग्नि चौलागाई प्रति पनि आभार व्यक्त गरिन्छ ।

यस गीतलाई आफ्ना शब्दद्वारा सिंगार्ने सावित्री बिश्वकर्मा मिठासपूर्ण स्वरकी धनि आभा मुकारुङ लगायत गीतलाई प्राबिधिक रुपले सहयोग गर्नुहुने सम्बध्द सबैमा साधुबाद  । छुवाछुत प्रथाको समुल अन्त्य गरि समतामुलक समाज निर्माणमा यो गीत अबश्य पनि सफल हुनेछ र ‘देश बिदेशका घटनाहरु सबै सुनाउनेलाई, गाउँघरमा घुमी घुमी सारंगी रेट्नेलाई, भन्दिनु है भन्दिनु, सबै एक भई उठ्नलाई, अछुत भन्ने नामै मेट्नलाई’ भन्ने गीतको बोललाई चरितार्थ बनाउन सक्छौ ।

(बिश्वकर्मा  नेपाल उत्पीडित जातीय मुक्ति समाजका  केन्द्रीय सदस्य  एबम प्रस्तुत गीतका संगीतकार हुन् ।)

0 comments

Write Down Your Responses