Powered by Blogger.
रासस चौतारी शाखामा गौतम


काठमाडौँ, १८ चैत । प्रेस चौतारी नेपाल राष्ट्रिय समाचार समिति शाखाको अध्यक्षमा कृष्णराज गौतम चयन भएका छन् । 

बिहिबार सम्पन्न शाखाको अधिवेशनले सर्वसम्मत रुपमा गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्षमा तिलक भूषाल, सचिव अभिलाषा पोखरेल तथा कोषाध्यक्षमा शर्मिला पाठक चयन भएका छन् । यसैगरी केन्द्रीय पार्षदका रुपमा कालिका खड्का र श्याम रिमाल चयन भएका छन् । 

अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी दुई वर्ष्भित्र हुने आम निर्वाचनको समयसम्म प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । रासस शाखाको दोस्रो अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रममा सचिव भट्टराईले संविधान निर्माणमा दलबीच सहमति भएजस्तै संविधानको कार्यान्वयनका लागि पनि ती दलको सहकार्य आवश्यक रहेको बताए ।

 उनले सरकारी संस्थानका व्यवस्थापकको नियुक्तिको जिम्मा पनि लोकसेवा आयोगलाई दिनुपर्ने भन्दै सरकार परिवर्तनसँगै राजनीतिक नेतृत्व आउने जाने र संस्थाको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले लोकसेवा आयोगले संस्थानका अध्यक्ष वा महाप्रबन्धक नियुक्तिको जिम्मा लिँदा उपर्युक्त हुने बताउनुभयो । सरकारी सञ्चारमाध्यममा विगतदेखि नै निश्चित पार्टीको प्रभाव देखिएको गुनासो आएको भन्दै उनले  परिपाटी कस्तो बसाल्ने भन्नेबारेमा छलफल गर्नुपर्ने बताए ।

व्यावसायिक पत्रकारिताको वकालत गर्ने तर व्यवहारमा राजनीतिक उद्देश्य पूर्तिमा लाग्ने प्रवृत्तिको आलोचना गर्दै आफ्नो पार्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितमा प्रतिबद्ध भएको बताए । 
उनले अबको समयमा राससलाई विदेशमा पनि संवाददाता राख्न सक्ने गरी क्षमता विकास गर्न पनि सुझाव दिए । 
चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले राससलाई सार्कस्तरको समाचार संस्था र सूचना बैंकका रुपमा रुपान्तरण गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन सरकारी सञ्चारमाध्यमबाटै हुनुपर्नेमा जोड दिए । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिताको व्यावसायिकतालाई कायम राख्दै राससलाई अगाडि बढाइएको बताए ।

चौतारीका प्रतिष्ठान इञ्चार्ज तथा केन्द्रीय सदस्य शुरोजङ्ग पाण्डेले सङ्गठन आगामी जेठको पहिलो साता महाधिवेशनको तयारीमा जुटेको बताउँदै रासस शाखाको रचनात्मक कामको प्रशंसा गरे । 

शाखाले राससका नायब महाप्रबन्धक तथा सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर नेपालीलाई सम्मान गरेको छ भने महोत्तरी (बर्दिवास) समाचारदाता गोपालप्रसाद बराललाई पुरस्कृत गरेको छ । पुरस्कारको राशि नगद रु पाँच हजार रहेको छ । 

शाखाका संस्थापक अध्यक्ष तथा पुरस्कार चयन समितिका सदस्य प्रकाश सिलवालले नेपालीले लामो समयदेखि राससमा दिनुभएको योगदानका लागि र जिल्लामा रहेर क्रियाशील रहेबापत बराललाई सम्मान र पुरस्कृत गरिएको जानकारी दिए । 

कार्यक्रममा चौतारीका केन्द्रीय सल्लाहकार गणेश बस्नेत, राससका महाप्रबन्धक निर्मला आचार्य, चौतारीका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, महासचिव माधव नेपाललगायतको उपस्थिति थियो ।



0 comments

Write Down Your Responses