Powered by Blogger.
सफल जीवनका लागि समय र अनुशासनको महत्व

युक्तलाल विश्वकर्मा
हामी समयको प्रवाहमा निरन्तर अगाडी बढिरहेका छांै । समयकै कारण कहिले दुख कहिले सुख कहिले हाँसो कहिले रोदनमा रुमल्लिरहेका हुन्छौं ।  हाम्रो कर्मले नै आगामी समयको भबिष्य निर्धारण गरेको हुन्छ  । त्यसैले हामी सबैले समयको महत्वलाई बुझ्नु पर्दछ ।

जीवनलाई इन्द्रेणीको रंग जस्तै रंगाउनु पर्दछ । समयको सदुपयोग गरेर अगाडी बढ्ने मानिसले सहजै लक्ष्य प्राप्त गर्न सक्दछ भने समयको बेवास्था र दुरुपयोग गर्ने मानिसले लक्ष्य प्राप्त गर्न नसकी जीबन असफल हुन्छ । 

भनिन्छ बगेको खोला र गएको समय कहिल्यै फर्केर आउदैन । हामी सबैले समय चिनेर काम गर्नु पर्दछ । पढ्ने समयमा पढ्नु पर्दछ । खेल्ने समयमा खेल्नु पर्दछ । मनोरन्जन गर्ने लगायतका कामहरु समय तालिका बमोजिम समयको सदुपयोग गरि गर्ने बानी बसाल्नु पर्दछ । समयलाई चिनेर अघि बढ्ने मानिसले जीबनमा सफलता हासिल गरेका थुप्रै उदाहरणहरु छन् । अमेरिकाका  राष्ट्रपति अब्राहम लिंकनले आफ्नो बाल्यकालमा समयको भरपुर सदुपयोग गरे । उनी गरिब परिवारमा जन्मिएका थिए । उनको परिवारमा अभाबै अभाब थियो । बिहान बेलुकाको छाक टार्न धौ धौ थियो । आफ्नो घरायसी दैनिक समस्या टार्न ज्यालामजदुरी गर्नु पथ्र्यो । घर छाउने ,दाउरा चिर्ने जस्ता कामहरु गर्नुपथ्र्यो । 

यस्ता दुख र कष्टले उनलाई बिचलित बनाउन सकेन । कापी कलम किन्ने पैसा हुँदैन थियो । जसो तसो गरि जुटाउँथे । किताब किनेर पढ्ने औकात थिएन ।  विद्यालयको पुस्तकालयमा गएर किताब ल्याँउथे । रातभरि अध्ययन गरि भोलिपल्ट जस्ताको तस्तै फिर्ता गरिदिन्थे । उनमा पढेका र  सुनेका कुरा नबिर्सने अद्भुत गुण थियो । आफु गरिबीको मारमा परेता पनि कति पनि बिचलित नभई संघर्षका साथ अघि बढिरहे । घरायसी अबस्थाको प्रबाह नगरि अध्ययन कार्यलाई भने निरन्तरता दिइरहे । लिंकनले गरिबीसंग संघर्ष गरि आफ्नो उद्देश्य प्राप्तिको लागि जुन किसिमको मिहिनेत र परिश्रम गरे त्यो हामी सबैका लागि प्रेरणाको श्रोत हो ।

 उनको मिहिनेत परिश्रम अनि समय चिनेर काम गर्ने असल गुणलेनै उनी अमेरिकाका राष्ट्रपति बन्न सफल भएका हुन् । यो कुरालाई हामीले कहिल्यै भुल्नु हुदैन । समयको गति संगै हिड्ने मानिस लक्ष्य प्राप्तिको अभियानमा सफल हुन्छ । समयलाई नाचिन्ने मानिस जीबनमा असफल हुन्छ । साथै लक्ष्यबिहिन हुँदै गन्तव्यमा रुमल्लिरहेको हुन्छ । 

बालवालिका काँचा माटाका डल्ला हुन् । काँचो माटोलाई हामी जुनसुकै आकृतिमा ढाल्न सक्छौ । जसरी कुमालेले काँचो माटोलाई गाग्रो, घ्याम्पो, खुतुर्के, दियो लगायतका जुनसुकै आकारका सामग्री बनाउन सक्छ । त्यसरी नै बालवालिकालाई पनि हामी समयको महत्व दर्शाएर सहि मार्गदर्शन र प्रेरणाले कर्मठ र योग्य व्यक्ति बनाउन सक्छौ । यो हाम्रो जिम्बेवारी र अभिभारा हो । 
सबै भन्दा प्रमुख कुरा समयको महत्वलाई राम्रो संग बुझ्नु हो । हामी हाम्रो सन्ततिलाई के बनाउन चाहन्छौ ? आम अभिभावकले समयमै लक्ष्य निर्धारण गर्नु आबश्यक छ । वालवालिकाको लागि पढ्नेउचित वातावरण बनाईदिने । 

उनीहरु के गरिरहेका छन् ? अनि के गर्दै छन् ? उनीहरुका गतिबिधिहरुको प्रत्यक्ष निगरानी गर्नु पर्दछ । खेलकुद , मनोरन्जनको ब्यबस्थापन लगायतमा पनि ध्यान दिनु पर्दछ  । घन्टौ टेलिभिजनमा कार्टुन हेर्ने बानीले उनीहरुको मानसिक सोच र बिकासमा गम्भीर असर परिरहेको छ  । जसका कारण पठनपाठनमा अबरोध सिर्जना भईरहेको छ । उनीहरुलाई वालकेन्द्रित मनोरन्जनात्मक ज्ञानबर्ध्दक कार्यक्रम हेर्न र सुन्न अभिप्रेरित गर्नुपर्दछ । 

अत यी सबै अन्तर बस्तुहरुलाई अध्ययन अध्यापनको केन्द्रबिन्दु बनाउनु पर्दछ । यसको अलवा विद्यालयको वातावरण, साथीसंगीहरुको सहकार्य,पारिवारिक संस्कार र सामाजिक पृष्ठभूमि आदिले पनि पठनपाठनमा असर पारिरहेको हुन्छ । त्यसर्थ सबै पक्षको राम्रो अनुकुल वातावरणको सिर्जना गर्न हामी हरदम तयार हुनुपर्दछ ।  बालवालिकाको रुची र चाहना अनुरुप प्रेरणा अनि हौशला प्रदान गर्दै पढाईप्रति अभिरुची जगाउनु पर्दछ । 

पठनपाठनमा असर पुर्याउने खराब तत्व भनेको खराब साथीको संगत प्रतिकुल सामाजिक वातावरण हो  । यसले बिस्तारै वालसुलभ मनोविज्ञानमा नकरात्मक प्रभाव पारिरहेको हुन्छ  । आफ्ना छोरीको आनीबानी ,व्यवहार कस्तो छ ? उनीहरुको संगत कस्तो छ ? उनीहरुको हाउभाउ चालचलन कस्तो छ ? परिवार संग कस्तो व्यवहार प्रदर्शन गरिरहेका छन ? बिहान देखी बेलुका सम्मका दैनिक क्रियाकलापलाई गहन र शुक्ष्म रुपले अध्ययन गर्नुपर्दछ ।  बिद्यालय पठाउनु मात्र हाम्रो दायित्व होइन उनीहरुले के सिकिरहेका छन ? ब्यबहारमा परिबर्तन आइरहेको छ कि छैन ? सिकाई परिणाममुखी भईरहेको छ कि छैन ? यस बिषयमा बिद्यालय संग निरन्तर सम्पर्क राख्नुपनि हाम्रो दायित्व हो ।  आफ्ना छोरा छोरीलाई उनीहरुको सबै पक्षको बिशेष निगरानी बिना सिकाईलाई परिणाममुखी बनाउन सकिदैन ।  समय सान्दर्भिक ढंगबाट समयको महत्वलाई आत्मबोध गराई लक्ष्य प्राप्तिको महान दिशामा अग्रसर बनाउन सकिएमा कुमालेले काँचो माटोलाई सही आकृति बनाएजस्तै हामी पनि हाम्रा छोराछोरी लाई योग्य र कर्मठ व्यक्ति बनाउन सक्छौ ।                                                                             
केही समय यता बिद्यालय शिक्षामा अनुशासनको पाटो आंशिक रुपले कम्जोर भएको हो कि भन्ने भान भईरहेको छ  । अनुशासनको पक्ष कमजोर हुनु भनेको शिक्षण सिकाई क्रियाकलाप कमजोर हुनु हो  । विद्यालयको शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन ,शैक्षिक गुणस्तर बृध्दि कायम राख्न शिक्षण संस्थाहरुमा अनुशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

अनुशासन जुनसुकै क्षेत्रमा पनि आबश्यक कुरा हो ।  काममा निर्धारित लक्ष्य एबम उध्देश्य पुरा गरि सफलता हासिल गर्न अनुशासन बिना सम्भव छैन  । त्यसैले लक्षित कार्ययोजनालाई सफलीभूत गर्न अनुशासनको पालना हुनु नितान्त आबश्यक छ  । 

शैक्षिक सत्र २०७२ समाप्त भएको छ ।  २०७२ मा विद्यार्थीले के सिके ? शिक्षण सिकाई उपलब्धि र विद्यार्थीको समग्र मूल्यांकन आईसकेको छ  । त्यसैले बर्षभरिको शैक्षिक गतिविधिलाई शुक्ष्म रुपले अध्ययन गर्नु आबश्यक छ  । साथै बिद्यार्थीहरुले पनि आफु र आफु अध्ययन गर्ने विद्यालयको शैक्षिक बस्तुस्थिति ,कक्षाकोठाका क्रियाकलाप आदिको मूल्यांकन बस्तुनिष्ठ ढंगबाट गर्नुपर्दछ ।  घोषित परिणामले आफुलाई कुन स्थानमा ल्यायो ? उत्तम ,राम्रो ,मध्यम ,नराम्रो कुन श्रेणी हो ? आफ्नो कुन स्थान कायम रह्यो ? यसको बारेमा पनि आत्ममूल्यांकन हुनु आबश्यक छ  । उत्तीर्ण हुने विद्यार्थीले आफुलाई अझ राम्रो बनाउन र अनुत्तीर्ण हुने विद्यार्थीले निरास नभई मिहिनेत गर्न गम्भीर हुनुपर्दछ । अभिभावकले पनि यस बिषयमा चासो देखाउनु पर्दछ ।

शैक्षिक सत्रको शुभारम्भमा बिद्यार्थीहरु पढाईप्रति निकै गम्भीर भएको देखिन्छन् ।  उत्साहित रुपले पठनपाठनमा सहभागी भईरहेका पनि हुन्छन् । तर बिस्तारै केही महिना पछि पढाईको गतिमा केहि शिथिलता आएको भान हुन्छ  ।  यसमा विद्यालयको वातावरण ,शिक्षण सिकाई क्रियाकलाप ब्यबस्थित  नहुनुले पनि हुन सक्छ । 

त्यसैले विद्यालयले पनि शैक्षिक सत्रको शुभारम्भमा बर्ष भरि संचालन गरिने शैक्षिक गतिविधिहरुको पात्रो निर्माण गरि सोही बमोजिम क्रियाकलाप अगाडी बढाउनु पर्दछ । ताकी विद्यालयको वाताबरण अनुशासित र मर्या्दित होस ।  विद्यालयले अबलम्बन गरेको क्रियाकलाप ब्यबस्थित र परिणाममुखी भएमा निश्चयनै शैशिक गुणस्तर बृध्दिमा मध्दत पुग्नेछ ।  विद्यार्थीहरुले पनि अनुशासित ,कर्तव्यनिष्ठ र समयपालक भएर अघि बढ्न सकेमा उनीहरु  योग्य, कर्मठ र सफल  व्यक्ति बन्न सक्छन् ।

त्यसर्थ हामी सबैले समय र अनुशासनको महत्वलाई बुझौ  । किनभने सफल जीबनका लागि समय र अनुशासनको महत्वपूर्ण भुमिका रहेको हुन्छ  ।
   
( विश्वकर्मा श्री जनप्रिय उच्च मावि हेटौंडाका शिक्षक हुन् ।)                                                        

1 comments

Write Down Your Responses

pfizer vaccine