Powered by Blogger.
पालुङमा गगनले भने, ‘नवप्रवेशीहरु बल्ल ठिक ठाँउमा आइपुग्नुभयो’


राजेश श्रेष्ठ
२९ चैत्र, थाहा । नेपाली काँग्रेस थाहा नगरकमिटिको आयोजनामा  थाहा नगरको जेसिज हलमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एमाओवादी, एमाले तथा राप्रपा परित्याग गरि २ सय ३६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली काँग्रेस केन्द्रिय सदस्य, युवा नेता एवं संविधान सभा सदस्य गगन थापाले काँग्रैस हुनुमा गर्व गर्नको लागि नवप्रवेशी तथा पुराना काँग्रेस कार्यकर्ताहरुलाई सकारात्मक कार्यको साथमा अगाडी बढ्यो भने काँग्रेसको शानदार विजयी हुन कसैले नछेक्ने बताउनु भयो । 

काँग्रेसको नीतीलाई अरु पार्टीले नमान्दा देश ६५ वर्ष पछाडी धकेलिएको बताउँदै प्रमुख अतिथि थापाले बर्तमान समयमा काँग्रेसको निति र बाटो सबैले पछ्याउँदै गएको र अविरल बगिरहने नदी जस्तो पार्टी भएकोले नवप्रवेशीहरु ठिक ठाउँमा आइपुगेको बताउनु भयो । वहाँले काँग्रेस हुने खानेहरुको पार्टी भएको र सबै नेपाली जनतालाई हुनेखाने बनाउन तत्पर नीती नेपाली काँग्रसमा मात्रै रहेको बताउँदै अहिले सरकारमा रहेकै पार्टीले सरकारको आलोचना गरेको बताउनु भयो ।

कार्यक्रममा अतिथिको रुपमा रहनु भएका मकवानपुर जिल्ला निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपानेले काँग्रेसले सिस्टम सिकाउने भएकोले आफू रामे भएर अगाडी बढ्नको लागि आग्रह गर्नु भयो ।कार्यक्रमका अर्का अतिथि नेपाली काँग्रेस मकवानपुर जिल्ला सचिव बुद्धशरण लामाले सबैको अधिकार स्थापित प्रजातन्त्रमा हुने र सबै पार्टीलाई प्रजातन्त्रको दायरामा काँग्रेसले ल्याएको बताउनु भयो ।

अर्का अतिथि महासमिति सदस्य एवं संविधान सभा निर्वाचन उमेदवार जयराम लामिछानेले निर्वाचनको समयमा खिसि गर्ने ठाउँमा अहिले आएको काँग्रेसको लहरले अब हरेक गाउँटोल काँग्रेस बन्दै आएकोमा खुशि व्यक्त गर्नु भयो । वहाँले कार्यक्रममा नै टिष्टुङ खानेपानीको लागि नेपाली काँग्रेस टिष्टुङ इकाइ सभापति सुमन गोलेलाई रु। तीन लाख रुपैंयाको चेक हस्तान्तरण गर्नु भएको थियो ।

थाहा नगरका जेष्ठ कार्यकर्ताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा नगर समितिको तर्फबाट प्रमुख अतिथि थापालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा महा समिति सदस्य भरत लामा, मकवानपुर जिल्ला महिला संघ का लक्ष्मी श्रेष्ठ, नेविसंघ अध्यक्ष महेन्द्र राउत, थाहा नगरविकास समिति अध्यक्ष तथा जिल्ला सदस्य खडग गोपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थाहा नगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।



0 comments

Write Down Your Responses