Powered by Blogger.
खासै खुशीको अनुभूती गर्न नपाइएको बर्ष ७२

युक्तलाल विश्वकर्मा

समय गतिशील छ  । समयको प्रवाहमा मानवीय जीवन लगायत जीवित प्राणीहरुको अस्तित्व निरन्तर चलिरहेको छ ।  वातावरणीय स्वरुपको सिंगो संरचनामा जैविक एबं अजैविक सम्पूर्ण बस्तु पदार्थको अस्तित्व कायम भएको छ । समयको गति संगै मानवीय जीवन प्रक्रिया पनि संचालन हुँदै आईरहेको छ ।  दिन ,रात ,जाडो ,गर्मी ,वर्षा ,सुख्खा समय संगसंगै परिवर्तन भईरहेको छ । हिजो जन्मेको नवजात शिशु शारीरिक एबम मानसिक विकासको क्रम विकासले वालक ,युवा ,तन्नेरी र बृध्दामा परिणत भई देहत्यागको परिस्थितिसम्म आईपुगेको देखिन्छ ।  समयको मापनलाई सेकेन्ड ,मिनेट ,घण्टा ,दिन ,हप्ता , महिना , बर्ष ,दशक र शताब्दीमा गणना गरेको पाइन्छ ।                                           


नेपालमा बिक्रम सम्बतको आधारमा बर्ष परिवर्तन भईरहेको छ । हामी प्रत्येक बर्षको बैशाख १ गते लाई नयाँ बर्षको रुपमा मनाउदै आईरहेका छौ । हामीले धेरै वटा नयाँ बर्षहरु मनाई सक्यौ । नयाँ बर्षलाई खुसी र आनन्दको बर्षको रुपमा मनाउने चलन रहेको छ । २०७२ साल हामीबाट टाढा भएको छ । यस बर्षलाई हामीले बिदाई गरिसकेका छौं । बिदाई अनि बिदाई पछिको आगमन स्वाभाविक रुपमा खुसी प्राप्तिको क्षण हो ।

समयको निरन्तर प्रक्रिया पनि हो । आगमन संगै भित्रिने प्रत्येक पलहरु मनमोहक ,आनन्दयुक्त र सुरम्य होस भन्ने चाहना हामी सबैको हुन्छ । प्रगति र उन्नतिले जीवन सजियोस ।  सुख शान्ति र समृध्दिको वर्षा होस । पारिवारिक कल्याण र आरोग्यता प्राप्ति होस् यो पनि हामी सबैको उद्गम चाहना रहेको हुन्छ । यिनै कुराहरु साटासाट गर्न आपसी सम्बन्धलाई सुमुधुर, घनिष्ठ र आत्मीय बनाउन हामी प्रत्येक वर्ष मनाउने गर्छौ नयाँ बर्ष ।
                                                                    
नयाँ बर्षको आगमन संगसंगै हामीले एक अर्कामा शुभकामना आदान प्रदान गरि खुसियाली मनाउने प्रयत्न त गर्यौ यसमा हामीले कुनै कसर बाँकी राखेनौँ तर नयाँ बर्ष २०७२ आम नेपाली जनताका लागि खुसीको बर्ष बन्न सकेन । बर्षको शुभारम्भमा हामीले सुख शान्ति र प्रगतिको शुभकामना साटासाट गरेका थियौ । विभिन्न मनोरन्जनका कार्यक्रमहरु पनि गरेका थियौ । नाच्यौ ,हाँस्यौ ,झुम्यौ खुसी र आनन्दको सिमानै रहेन । 

सम्पूर्ण क्रियाकलापहरु औपचारिक एबम अनौपचारिक रुपमा सम्पन गर्यौ । तर नयाँ बर्षको खुसियाली सेलाउन नपाउदै अकल्पनीय भयावह मानव सभ्यतालाई समेत चुनौती दिने विनासकारी महाभूकम्प गयो । आज नेपाली जनताहरु त्यसलाई सम्झिन पनि चाहदैनन् । तर त्यसको डर त्रास अझै पनि हट्न सकेको छैन । बैशाख १२ गते गएको यस विनासकारी महाभूकम्पले ९ हजार भन्दा बढीले मृत्युवरण गर्नु पर्यो भने हजारौको संख्यामा घाइते अंगभंग हुनु पर्यो ।

भूकम्पले भत्किएका सामाजिक संरचनाको निर्माण, पुनर्वासको व्यवस्था लगायत पीडितलाई राहतको प्रबन्ध जस्ता कुराहरु व्यस्थित ढंगले सम्पन्न हुन सकेको छैन । खै यो सालको नयाँ बर्ष पनि के राम्रो होला र ? आशंका र पीरले मन खुम्चाएर यसो भन्न विवस छन नेपाली जनताहरु । बर्ष २०७२ मा भूकम्पको त्रास संगसंगै मधेसी मोर्चाका आन्दोलनका कारण अनि मधेश केन्द्रित दलहरु भारत समक्ष लम्पसार पर्न गए पछि मित्रताको सम्बन्धलाई समेत भुली अन्तर्रा्ष्ट्रिय नियम कानुन बिपरित भारतले नाकाबन्दी लागाउने काम गर्यो । 

भारतले गरेको यस नाकाबन्दीको मार नेपाली जनताले ज्यादै कष्टपूर्ण ढंगबाट सहन बाध्य हुनुपर्यो ।  इन्धन लगायत मानवीय अत्याबश्यक सामग्रीको अभाबका कारण जनजीबन अत्यन्त दुखपूर्ण भयो । संबिधानमा असन्तुष्टि व्यक्त गर्दै आफ्ना मागहरु पुरा गराउने बहानामा गरिएको आन्दोलन जनताको हितमा थिएन । आन्दोलनको स्वरूप बेठिक थियो । जनताको अधिकार प्राप्तिको आन्दोलन भन्ने तर जनतालाई नै सास्ती दिने अझ भन्नुपर्दा मानवीय जीबन संग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न औषधी पेट्रलियम पदार्थ लगायत अत्याबश्यक बस्तुको आयातमा प्रतिबन्ध लगाउने यो कस्तो आन्दोलन ? नेपाली जनताहरु अझै प्रश्न गर्दै छन ? सम्बध्द पक्षले यसको जवाफ एक दिन अबश्य दिनुपर्छ ्र भारतले गरेको नाकाबन्दीको राष्ट्रिय अन्तराष्ट्रिय सबैतिर बाट आलोचना खेप्न परेपछि नाकालाई सहज बनाउन बाध्य हुनुपर्यो ।  

यस आन्दोलनले हिमाल पहाड मात्र होइन मधेश पनि अभाब र पीडामा गुज्रिनु पर्यो । जनजीबन ज्यादै कष्टकर र पीडादायक त भयो भयो यसको साथै स्वास्थ्य संग सरोकार राख्ने औषधी अक्सिजन लगायतका सामग्रीको अभाबले ज्यादै असहजताको परिस्थितिको सामना गर्नुपर्यो  ।  द्वन्द र युध्दकालिन अवस्थामा पनि मानवीय अत्यावश्यक सामाग्रीमा रोक लगाउन नपाइने र भूपरिबेष्ठित मुलुकले प्राप्त गर्ने पारवहन सुबिधालाई बन्देज लगाउन नपाइने अन्तर्रा्ष्ट्रिय नियमलाई समेत उलंगन गरि हामीलाई गरेको व्यवहार अन्तर्रा्ष्ट्रिय स्तरमा छर्लंग भयो र सबैले स्पष्ट रुपमा चिन्ने अवसर पाए  ।

 मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीले पनि बर्ष ७२ लाई ज्यादै खल्लो र दुखद परिस्थितिको बर्ष बनायो । जसलाई नेपाली जनताले सदैब सम्झिरहने छन् ।  महाभूकम्पको त्रास, पीडा र भारतको नाकाबन्दीबाट सृजित समस्याका बाबजुद पनि बर्ष ७२ मा नेपाली जनताले बर्षौको चाहना संबिधान प्राप्त गरेका छन् ।

संबिधान सभाको माध्यमबाट नेपाली जनताका प्रतिनिधिहरुले नेपाली जनताकै इच्छा र चाहना बमोजिमको संबिधान बन्नु विश्व इतिहासमै उल्लेखनीय कार्य हो ।  संविधानको घोषणा पछि सबै राष्ट्रहरुले स्वागत र समर्थन गर्नुले यो भनाईको पुष्टि गरेको छ ।  बहुप्रतिष्ठित नेपालको संबिधान २०७२ ले सबैको अधिकार प्रत्याभूत गरेको छ  । 

यो संविधानको बिशेषता भनेको राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, धर्म निरपेक्ष राष्ट्र. दलित, महिला, मधेसी , मुस्लिम , जनजाती, सीमान्तकृत बर्ग समुदाय क्षेत्रको अधिकारको ग्यारेन्टी, सबैको भाषा संस्कृतिको उत्थान र विकास गर्नुको साथै पिछडिएको क्षेत्र भूगोलको समानुपातिक बिकासको ग्यारेन्टी गरेको छ  । यसले संघीय राज्यको अबधारणालाई संस्थागत गरि मुलुक संघीय राज्यमा परिणत भएको छ ।

संबिधानमा नसमेटिएका कुराहरुलाई र भएका प्रावधानलाई बिधि संगत रुपमा थप्न र संसोधन गर्न सकिन्छ ।  त्यसर्थ संबिधान धार्मिक ग्रन्थ बेद ,पुराण , कुरान , बाईबल होइन अथवा ढुंगामा कुदिएको अक्षर पनि होइन जसलाई परिवर्तन गर्न नसकियोस ।  संबिधान त समयानुकुल र नेपाली जनताको माग अनुसार संसोधन परिमार्जन गर्न सकिन्छ  । यस बिषयमा जानकारी हुदा हुँदै पनि असुन्तुष्ट पक्षहरु अधिकारका नाममा नेपाली जनातालाईनै दुख दिने काममा लागीरहेका छन  । यसो हुनु भनेको अत्यन्तै दुखलाग्दो कुरा हो । समस्या समाधान हामी आफैमा खोज्नु पर्दछ  ।  छिमेकीको हारगुहारले समस्या समाधान किमार्थ गर्न सकिदैन ।  छिमेकीले पनि स्वतन्त्र सार्बभौम सम्पन्न मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन ।  यस प्रतिकुल अबस्थामा नेपालमा क्रियाशिल राजनैतिक नेतृत्वको प्रभाबकारी भूमिका , नेपाली जनताको एकताले नाकाबन्दी खुलाउन सफल भएका हौ  ।

छिमेकीलाई पनि हामी बीचको एकताको राम्रो उदाहरण देखाउन सफल भएका छौ ।  यस नाकाबन्दीले हाम्रो परनिर्भरता छर्लंग भएको छ ।  हामी आत्मनिर्भर हुने हो भने कसैले पनि हेप्न र हैकम जमाउन सक्ने थिएन भन्ने कुरा पनि पुष्टि भएको छ । जसको कारण यसबाट हामीलाई आत्मनिर्भर बन्ने प्रेरणा मिलेको छ । सबैसंग बराबरीको सम्बन्ध राख्नुपर्ने कुराको बोध गराउन हामी सफल भएका छौ । 

अब हामीले हाम्रा प्राकृतिक श्रोत साधनको प्रयोग गरि उर्जा शक्तिको विकास गर्नु पर्दछ  । उत्पादनलाई प्राथमिकीकरणमा राखी औधोगिक विकासलाई अर्जुनदृष्टिको रुपमा कार्ययोजना सहित अगाडी बढाउनु पर्दछ । राज्यले औधोगिक बिकासको नीति ,कृषि बिकासको नीति लगायत उत्पादन र आर्थिक अपार्जनमा गम्भीर रुपले ध्यान दिनु आबश्यक छ । बर्ष ७२ मा नेपाली जनताले खुसीको खासै अनुभूति गर्न पाएनन् ।  अभाब ,पीडा भय ,त्रासमै बर्ष व्यतित भयो  । अब हामी नयाँ बर्ष २०७३ मा प्रवेश गर्दैछौ । यो बर्ष २०७२ जस्तो नहोस ।  सबै नेपाली जनताले हर्ष खुसीको अनुभूति गर्न पाउन ।  भूकम्प पिडितका लागि आवास निर्माणको कार्यलाई पहिलो प्राथमिकता दिन राज्य गम्भीर बनोस । किनकि २०७२ को हावा हुरी र बर्षाको चपेटा त उनीहरुले भोगे भोगे अब बेलैमा होस नपुर्याउने हो भने फेरी भोग्नु पर्नेछ ।
  
त्यसर्थ राज्यले पुनर्निर्माण प्राधिकरणको कामलाई अगाडी बढाउन ढिला गर्नु हुँदैन ।  हामीले संबिधान पाएका छौ तर यसको कार्यन्वयन भएको छैन । यसको कार्यन्वयन भएन भने नेपाली जनताले अधिकार प्राप्त गर्न सक्दैनन् । त्यसैले संविधानको कार्यन्वयनको लागी राज्य ,राजनैतिक दल राज्यका संयन्त्रहरु क्रियासिल हुनु आबश्यक छ । नयाँ बर्ष २०७३ मा कसैले पनि अभाब र पीडा खेप्न नपरोस ।  संविधानको कार्यान्वयन होस । मुलुक अग्रगतिको दिशातर्फ लम्की नेपाली जनताको मुहार खुसीले चम्कियोस् । अनि मात्र हामीले एक अर्कामा साटासाट गरेको शुभकामनाको सार्थकता साबित हुनेछ । नयाँ बर्ष २०७३ मा सबैमा खुसीको संचार होस । हामी बिचमा एकता सदभाव र भाईचारा सम्बन्ध कायम होस ।  नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सुख शान्ति र समृध्दिको लागी सबैमा हार्दिक मंगलमय शुभकामना । 

0 comments

Write Down Your Responses