पोषिलो जाउलो बनाउने तरिकाबारे जानकारी

मकवानपुरको अति भूकम्प प्रभावित आग्रा र टिस्टुङ गाविसमा ६ महिना माथिका शिशुलाई खुवाउने पोषिलो जाउलो प्रदर्शन गरिएको छ ।
टियरफण्डको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले दुई गाविसका महिला तथा सरोकारवालाहरु सहभागी गराई पोषिलो जाउलो प्रदर्शन गरेको हो । कार्यक्रममा ६ महिनाबढी उमेरका बालबालिकालाई खुवाइने पोषिलो जाउलो बनाउन आवश्यक सामग्री जुटाई पकाउने तरिका र खुवाउने तरिकाबारे समेत जानकारी गराइएको थियो ।
टिस्टुङको नौखण्डे र आग्राको मोरियामा भएको कार्यक्रममा हरियो सागपात, गाँजर, अण्डा, गेडागुडी, घिउ आदि पोषणयुक्त सामग्राी जुटाएर सहभागीहरुकै बीच जाउलो तयार पारिएको थियो । तयार जाउलो स्थानीयले चाखेपछि निकै स्वादिलो भएको बताएका थिए ।मंगलबार टिस्टुङमा भएको कार्यक्रममा ९१ जना र बुधबार मोरियामा भएको कार्यक्रममा एक सय जना सहभागी भएको बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले जानकारी दिए ।
कार्यक्रममा बच्चालाई खुवाइने सामान्य जाउलो र हरियो सागपात, पहेलो फलफुल, अण्डा, गेडागुडी राखी बनाएको जाउलोको भिन्नता बारेमा पनि जानकारी गराइएको थियो । सहभागीहरुलाई जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरिरहेका निलम शर्मा र मनिष सुवेदीले जाउलो बनाउने तरिका र बच्चालाई खुवाउने तरिकाबारे जानकारी गराएका थिए । उनीहरुले पोषणयुक्त जाउलो बनाउन चाहिने आवश्यक सामग्री, बनाउने तरिका र यसबाट हुने फाइदाका विषयमा जानकारी गराएका थिए ।
बुधबार आग्रामा भएको कार्यक्रममा टियरफण्डका एरिया कोअर्डिनेटर मुकुन्दराज केसी, वास अफिसर बिन्दु सिग्देल, बाल कल्याण समाजका सुपरभाइजर बीरबहादुर थापा, उमा कार्की तथा सामुदायिक परिचालकहरु सहभागी थिए । त्यस्तै गाविसका राजनीतिक दलका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, वडा नागरिक मञ्चका सदस्यहरु ल्गायत जाउलो प्रदर्शनीमा सहभागी थिए ।शिशुहरु ५–६ महिना पुगेपछि आमाको दूधको साथ लौहतत्व, भिटामिन ‘सी’, ‘ए’ भएको खानेकुरा दैनिक खानामा समावेश गर्नुपर्ने र यसमा सफा र उपयुक्त तवरले तयार पारेको लिटो, सर्वोत्तम पीठो, नरम पारी बनाएको जाउलो दैनिक खानामा समावेश गर्न सकिने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
गाउँघरमा जाउलोको सामग्री सजिलै पाउन सकिने भएकाले यससम्बन्धी जानकारी दिइएको बाल कल्याण समाजले जनाएका छ । जाउलो बनाउँदा अन्न तथा दालका साथै हरियो सागसब्जी मसिनो गरी काटेर मिलाई बच्चाले खान सक्ने किसिमको नरम हुनुपर्छ । यसरी तयार पारेको जाउलोबाट आवश्यक शक्ति, प्रोटिन पाउनुको साथै भिटामिन र लौहतत्व प्राप्त गर्न सकिन्छ ।



0 comments
Write Down Your Responses