Powered by Blogger.
दोस्रो थाहा महोत्सवको तयारी तिव्र, प्रेस सल्लाहकारमा सम्पादक बिडारी चयन


पालुङ, २८ बैशाख । थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि दोस्रो थाहा महोत्सव हुने भएको छ । संघले यो निर्णय यसअघि नै सार्वजर्निक गरि महोत्सवका आवश्यक तयारीका लागि काम बाँडफाट गरेको छ ।

यो पटकको महोत्सवमा अवलोकनकर्ताहरुले प्याराग्लाइडिङ र हेलिकोप्टर चढेर मज्जा लिन पाउने व्यवस्था गरिएको संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए ।मेला अवधिमा न्यूनतम शुल्कमा हेलिकोप्टर चढेर उत्तरी क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन गराइने आयोजकले जनाएको छ । 

यसवर्ष प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन भइरहेकोले त्यसको पनि मज्जा लिन पाइने प्रधानले बताए ।संघको शनिबार बसेको कार्यसमिति बैठकले यसवर्षको मेलामा आउने अवलोकनकर्ताहरुलाई होमस्टेमा बस्ने व्यवस्था मिलाउने, देशविदेशका प्रख्यात वक्ताहरु आमन्त्रण गरी सशुल्क प्रवचन सुन्ने व्यवस्था मिलाउने निर्णय गरेको समेत महासचिव प्रधानले बताए । महोत्सव अवधिभर गतवर्षझैं  यसवर्ष पनि मनोरम कृत्रिम तालमा बोटिङको अवसर पनि हुनेछ ।

संघले २७ वटा उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिएको छ । संघले व्यापार प्रबद्र्धन, प्रचारप्रसार, स्टल व्यवस्थापन, स्मारिका प्रकाशन, विज्ञापन र व्यानर, बाल मेला र कृत्रिम ताल व्यवस्थापन, सरसफाई तथा खानेपानी, साँस्कृतिक, सचिवालय, प्राचीन सँस्कृति तथा भेषभुषा, अतिथि सत्कार, शोभायात्रा, स्वयमसेवक तथा सुरक्षा, इन्धन तथा ढुवानी, कम्पाउण्ड व्यवस्थापन लगायत उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिएको हो । 
असोजको ८ गतेसम्म थाहानगर–७ को इन्द्रायणी चउरमा सञ्चालन हुने मेलामा तीनसय ५० वटा स्टल रहने बताइएको छ ।

यसैबीच मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिबाट थाहा नगर उद्योग वाणिज्य संघ गठन भएसंगै संघको प्रेस सल्लाहकारमा दामन पोष्ट राष्ट्रिय साप्ताहिकका सम्पादक शन्तराम बिडारी चयन भएका छन् । संघको शनिबारको बैंठकले थाहा नगरपालिका १५ का पत्रकार बिडारीलाई प्रेस सल्लाहकार तोकेको संघका सुजन रायमाझीले जानकारी दिए । यसैगरी संघको प्रमुख प्रेस सल्लाहकारमा साझाकुरा राष्ट्रिय दैनिकका सम्पादक सविन न्यौपाने रप्रेस सल्लाहकारमा कुमार नेगीलाई मनोनित गर्ने निर्णय गरेको महासचिव सुरेन्द्रमान प्रधानले बताए । 

बैठकले संघको बिधानबमोजिम पाँच सदस्यीय सल्लाहकार समिति  चयन गरेको छ । तत्कालीन उत्तरी क्षेत्र समितिका संस्थापक सभापति बिमलकुमार ढकाल, पूर्वसभापतिहरु सरोज खनाल र रामप्रसाद ढकाल, केन्द्रीय सञ्चार सहकारी संघ अध्यक्ष विष्णुहरि ढकाल र जनकल्याण उच्चमाविका प्राचार्य सानोभाइ कार्कीलाई सल्लाहकार मनोनित गरिएको छ । 

0 comments

Write Down Your Responses