Powered by Blogger.
गृह जिल्ला हो,थाहा नगरमा केही गरेर देखाउने प्रवल चाहना छ

भीम परियार, कार्यकारी अधिकृत, थाहा नगर पालिका, मकवानपुर
थाहा नगर पालिकाको कार्यकारी अधिकृत भएपछि कस्तो महशुस गर्नुभएको छ ?

यसअघि स्थानीय निकायमा १४ महिना काम गरिसकेको हो । विगत लामो समय यही मकवनापुर जिल्लामा बसेर काम गरेको साथै यो मेरो आफ्नै गृहजिल्ला भएको पनि कारणले मलाई केही काम आफ्नै ठाँउमा बसेर गरौं र देखाऔं भन्ने प्रवल चाहना पनि थियो । 

त्यसैले थाहामा आएर काम गरौं भन्ने हौसला छ । यसैगरी यहाँको भोगौलिक अवस्था, स्थानीय घुलमिल, उपलव्ध स्रोत साधन र प्राकृतिक दृष्टिले पनि उपयुक्त ठाँउ छ । त्यसैले यसलाई मेरो कार्यकालमा मात्र होइन हामीले सुरु ग¥यौं भने पछि सम्म पनि नमुना बन्दै जान्छ भन्ने आशा छ । 

भर्खरै आउनुभएको छ, अघिल्लो वर्षको योजना र विकास निर्माणको लक्ष्य पुरा हुने सन्दर्भमा कस्तो ढंगले काम भएको पाउनुभयो ?

अघिल्लो योजना कसरी र कति भए भन्नुभन्दा पनि वाश्तवमा सबै नेपाल सरकारकै कार्यक्रमहरुको ‘मोडालिटी’मा  अलिकति समस्या छ । विकासका काम ढिलो सुरु हुने तालिका छ । स्थानीय निकाय स्रोत परिचालन निर्देशीकाले नै कात्तिक मसान्त भित्र सम्पूर्ण प्रक्रियाहरु सिध्याइसक्नुपर्ने, उपभोक्ता समिति लगायतका कुराहरु पनि तोकिएको छ ।

 वैशाख भन्दा पछाडि सम्झौता नै गर्न नपाउने भन्ने कुरा पनि तोकिएको छ । तर नेपाल सरकारले बेला बेलामा यि सबै प्राकृतिक विपत्ती लगायतका विषयहरुलाई सम्वोधन गर्ने गरेर त्यसको समयावधि पनि विस्तार गर्ने लगायतका सबै कारणले काम चाँही उही वर्खा लागेपछि मात्र सुरु हुने गर्दोरहेछ । त्यसले गर्दा काममा गुणस्तर नआउने त आफ्नो ठाँउमा छँदैछ । 

विगत र अहिलेको तुलना मैले किन गर्न सक्दीन भने विगतमा भर्खर भर्खर नगरपालिका गठन भएको र स्रोत साधन पनि त्यही रुपमा आएको अवस्था हो । मलाई लाग्छ यो चालु आर्थिक वर्षमा विगतमा सरकार र मन्त्रालयले जुन किसिमले सिलिङहरु पठायो त्यो सिलिङ भन्दा निक्कै कम अर्थात ७०–७५ प्रतिशत बजेट घटेर आएको हुनाले जुन रुपमा विगतको परिषदले एउटा योजनाहरु बनाएको थियो, राजनीतिक दलका साथीहरुको जुन दृष्टिकोण थियो, नगर पालिकाको जुन भिजन थियो, त्यो भिजन अनुसार काम गर्न पक्कै पनि स्रोत साधनले रोकेकै हो । ‘पिवान’मा परेका धेरै योजना कटौती भए । 

अर्को कुरा यहाँ झन्डै २ महिना कार्यकारी प्रमुखको रिक्त भयो । त्यसले गर्दा पनि विकासका महत्वपूर्ण नीतिगत निर्णयहरु हुन सकेनन् । तर अहिले ढिलै भएपनि योजनाहरु सुरु भएको छ । मलाई लाग्छ हामी यो साल ८० प्रतिशत भन्दा माथी वित्तिय संगसंगै भौतिक प्रगती हासिल गछौं । 

थाहानगरको विकासको संभाव्यता हेर्दा के के लक्ष्य राख्नुभएको छ ? कस्तो सोच छ ?

मैले आफूसंग मात्र भएको भिजन दिने भन्दा पनि महत्वपूर्ण कुरा के हो भने यहाँ भएका प्राकृतिको स्रोत साधन संगसंगै त्यसलाई महत्वपूर्ण रुपमा परिचालन गर्नका निम्ति यहाँकै जनताको महत्वपूर्ण हात रहन्छ । हामीले त बसुञ्जेल कार्यान्वयनका लागि भूमिका निर्वाह गरिदिने र त्यसको अगुवाई गरिदिने मात्र हौं । सकारात्मक रुपमा सोच्ने र काममा कमजोरी नगर्ने मात्र हो ।

नेपालमा भएका नयाँ र पुराना जति पनि ठाँउहरु छन्, संगसंगै हरेक लटमा बनेका नयाँ नगरपालिकाहरु छन्, सबैगरी पछिल्लो पटक घोषणा गरेका २ सय १७ नगरपालिका छन्, ति सबैको तुलनामा यो ठाँउ अत्यन्त राम्रो छ । राजधानीदेखि नजिक, वैकल्पिक शहरको रुपमा विकास गर्न सकिने अवस्था, पर्यटकीय हिसाबले प्रचुर संभावना भएको, प्राकृतिक रुपमा रमणीय, वातावरणीय हिसाबले अत्यन्त उपयुक्त, नाङ्गो आँखाले कात्तिक मंसीरतिर पनि हिमालहरु देखिने ठाँउ हो ।

काठमाडौंको विकल्प शहरको रुपमा यो उपत्यकालाई विकास गर्नको निम्ति छुट्टै योजनाको आवश्यकता छ । संगसंगै ‘एग्रो टुरीजम’ भनेर हामीले भनिराखेका छौं । त्यसलाई पनि हामीले जोड्न सक्यौं भने राम्रो हुन्छ । होम स्टेका कुरालाई अझ व्यापक रुपले लान सकिन्छ ।

हेटौंडाबाट ६० –६५ किलोमिटर मात्र पर रहेको यो स्थान यति राम्रो मौसम प्राप्त गर्नु भनेको हाम्रो लागि ठूलो अवशर हो । त्यसलाई परिचालन गर्नका लागि अब आइन्दा जुनसुकै संरचना बन्दा पनि त्यसको ‘डिटेल पोजेक्ट रिपोर्ट’ डिपीआर तयार गरेर मात्र काम गरौं भन्ने मेरो भनाई छ । जुन कुरा मैले दलका साथीहरुलाई पनि भनेको छु र परिषदमा पनि लैजाने योजना बनाएको छु ।

हामी कुनै स्थानमा पार्क बनाउदै छौं भने पनि अन्नधुन्न काम नगरौं । कुनै ठाँउमा बसपार्क बनाउँदैछौं भने त्यसलाई ‘डिटेल डिजाइनिङ’ गरेर मात्र गरौं । रंगशाला नै निर्माण गर्छौै भने पनि प्रोजेक्ट रिपोर्ट बनाएर मात्र गरौं । त्यो भयो भने भोली दिगो संरचना बन्छ । अहिले हामीले ५ वटा ठूला महत्वपूर्ण सडकहरु ठेक्का गरिरहेका छौं । त्यसमा पनि केही कमी कमजोरी होलान्। राम्रा पक्षहरु पनि होलान् । 

ति कुराहरु बनाउँदा अब दिगो संरचनामा रहेर गर्नुपर्छ । अब सडक नै बनाउदा पनि नगरको सडकको न्युनतम चौंडाई पुराना र साविकका बाटाहरु ४ मिटर, होइन भने ६ मिटर भन्दा घटी छैन । हाम्रो ‘डिटेल रिपोर्ट’ले नै त्यही कुरा बोलेको छ । हामी दिगो रुपमा जाऔं, बाटोको चौंडाई छ मिटर ६ भने हामी ५ मिटरमा काम नगरौं ।
भोली भत्काउनुपर्ने गरी हामी विकास नगरौं । आगामी परिषदमा नगरले प्राथमिकता दिनुपर्ने कुरा कृषि पर्यटन हो । संगसंगै पूर्वाधार विकास हामीले हेर्नुपर्छ । जहाँ पनि सडक सञ्जाल पुगीरहेको छ, त्यसलाई स्तरोन्नती गर्नुपर्छ । अनि दिगो किसिमको काम गर्नुपर्छ । 

अन्य विकासका योजनाहरु के के छन् ?

हामीले बसपार्क बनाउने योजना सोचिरहेका छौं । त्यसपछि हामी ल्याण्ड पोलिङका कुरालाई पनि विस्तारै अघि बढाउँदैछौं । नगरको आन्तरिक आय र नेपाल सरकारले दिने पैसा मात्र नभएर वाह्य निकायहरु पनि खोजेर यो नगरको  विकास गर्नु जरुरी छ ।
राजनीतिक दलहरुले  कत्तिको सहयोग गरिरहेका छन् ?

यहाँको विकासको निम्ती सबै राजनीतिक दलको साझा चिन्तन रहेको मैले बुझेको छु । छोटो समयमा पनि सबै साथीहरुले समन्वयात्मक हिसाबले सकारात्मक रुपमा साथ दिनुभएको छ । कामको दैरानमा नगर विकासका मामलामा कसैसंग  सम्झौता नगरौं भन्ने सबैको साझा धारणा छ ।

 नगर पालिकाले गरेका उपभोक्ता समिति मार्फतका काम, ठेक्का पट्टाका काम जुनसुकै काममा पनि विकासमा हामी कम्प्रोमाइज नगर्ने भन्ने हामीबीच साझा धारणा बनेको छ । अहिले १ महिनामा मैले जति काम गर्ने अवशर पाए यसमा अहिलेसम्म सहयोग र समन्वय नै भएको छ ।
यस नगरपालका अन्तर्गत पर्यटकीय स्थल दामनमा रहेको भ्यु टावर नगर पालिकाले सञ्चालन गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ नी ?

स्थानीय स्वायत्त शासन ऐनमा हेर्ने हो भने स्थानीय पर्यटकीय स्थलहरुको संरक्षण सम्वद्र्धन गर्ने दायित्व र त्यसको अधिकार कर्तव्य पनि दुबै  स्थानीय निकायले गर्ने उल्लेख गरिएको छ । नगर पालिका र जिल्ला विकास समिति दुबैलाई यो अधिकार देखिन्छ । विगतमा त्यो भ्यु टावर कसरी बन्यो, कसले बनायो, त्यसको मुख्य संरक्षकत्व कसको थियो, त्यसपछाडि त्यसको संरक्षकत्व कसलाई हस्तान्तरण गरियो, ति महत्वपूर्ण कुरा भन्दा पनि अब नगर बनिसकेको सन्दर्भमा नगर पालिकाले आफ्ना क्षेत्रभित्र रहेका ति सम्पूर्ण संरचनाहरुलाई आफ्नो मातहत ल्याएर अझ त्यसलाई दिगो रुपमा र अझ पर्यटन मैत्री बनाउने भन्ने हो ।

जिविसले सम्वद्र्धन र सञ्चालन गरेको हो । बीचमा भूकम्पले तहशनशस बनायो । अहिले मर्मत संभार भएर थोरै काम भएको छ । मन्त्रालयका सचिवज्युसंग २ सय १७ वटै नगरपालिकाका कार्यकारी अधिकृतले ५३ वटा बुँदामा करार सम्झौता गरेका छन् । हामीले कार्यसम्पादन करार गरेका छौं । प्रत्येक महिना यो नगर पालिकाले त्यो ५३ वटा बुँदामा भएका सूचकहरलाई आधार मानेर कति प्रगती भयो आत्ममूल्याङ्कन गरेर हामीले प्रतिवेदन पठाउनुपर्छ । त्यो भित्रको एउटा बुँदा भनेको भ्यू टावर सञ्चालन पनि हो ।

 हामीले नगरमा एउटा भ्यु टावर सञ्चालन गछौं भनेर उल्लेख गरेका छौं । अब नगरले छुट्टै भ्यु टावरका लागि खर्च गर्नुभन्द भइरहेकै संरचनालाई नगरको मातहतमा ल्याएर हामीले सञ्चालन गर्न सक्यौं भने त्यसलाई दिगो बनाउन सक्थ्यौं । उपयुक्त स्थानमा पनि छ ।  हाम्रो सोच भनेको त्यसलाई थप अपग्रेड पनि गर्ने र व्यवस्थीत पनि गरौं भन्ने हाम्रँे चाहना हो । त्यसका विभिन्न प्रक्रियाहरु अगाडि बढीसकेका छन्, हेरौं,कति सम्म सफल भइन्छ ।
भूकम्प पीडितको तथ्याङ संकलनमा पनि धेरै नगरवाशीको नाम छुट हुन गएको भन्ने छ, यसलाई कसरी सम्वोधन गर्नुहुन्छ ?

विगतमा भूकम्प पीडितको जुन रुपमा तथ्याङ संकलन भए यतीखेर मैले यो तथ्याङ सही छ भनेर भन्न पनि सक्दीन र गलत छ भनेर भन्न पनि सक्दीन । किनभने नगर पालिका तथ्याङ संकलनमा प्रत्यक्ष रुपमा संलग्न थिएन । यो विशुद्ध नगर पालिकामा खटिएका पुननिर्माण प्राधिकरणको इन्जीनीयरहरु प्रत्यक्ष रुपमा नगरपालिकामा आएर गरिएको काम हो ।

त्यो तथ्याङको रेकर्ड न उहाँहरुले यहाँ नगर पािलकामा उपलव्ध गराउनुभएको छ । त्यो सिधै माथि नै संकलन भएको हो । नगरवाशीको गुनासो चाँही अन्त जाने हाम्रो निकाय छैन, त्यसैले नगर पालिका मार्फत सहजिकरण गरेर यसको प्रक्रिया माथी पु¥याउन सकिन्थ्यो की भन्ने आशा छ ।

दामन, पालुङ र बज्रबाराहीको तथ्याङ सार्वजनिक भइसकेपछि स्वभाविक रुपमा साथीहरु नगरपालिकामा जुलुसकै रुपमा पनि आउनुभयो ।

तर हामीले गर्ने अधिकार नभएकाले हामीले एउटा पुलको रुपमा काम गरिरहेका छौं । प्रत्येक वडामा अभियान पनि चलायौं । त्यो बेला करिव १२ सय गुनासाहरु पनि दर्ता भएका छन् । त्यो गुनासालाई हामीले कम्प्युटराइज्ड गर्ने काम गरिरहेका छौं । छिट्टै नै त्यसलाई प्राधिकरणको जिल्ला समन्वय इकाइमा पठाउछौं । त्यसमार्फत उहाँहरुले केन्द्रमा पठाएपछि त्यसको केही न केही सम्वोधन हुने आशा हामीले पनि राखेका छौं ।

त्यसो भए तत्काल नगरवाशीले राहत स्वरुप केही पाँउदैनन् ?

अहिले यो तथ्याङ गलतै हो वा सही हो भन्न सक्ने अवस्था छैन । तथ्याङ संकलनको प्रक्रियामा जो जो संलग्न भए त्यो नगर पालिकालाई तथ्याङ उपलव्ध गराउने काम पनि भएन । त्यसो भएकाले अहिले हामीले गुनासोलाई कम्तीमा कम्प्युटराइज्ड गरेर यहाँ रेकर्ड राखौं र माथी पनि पठाइदिऔं भन्ने लागेको छ । दामन, पालुङ र बज्रवाराहीलाई हेर्ने गरी स्रोत केन्द्र निर्माण भएको जानकारी आएको छ ।

जसमा ३ जना इन्जीनीयर सापहरु आउनुभएको छ । उहाँहरुलाई समन्वयात्मक काममा परिचालन गर्ने योजना छ । तत्कालै यो क्षेत्रमा भूकम्प पीडितसंग योजना सम्झौता गरिहाल्छौं भन्ने मलाई लाग्दैनौं । किनकी यहाँको जनताको आशा र अपेक्षा गुनासोहरु केही हदसम्म भएपनि सम्वोधन हुनुपर्छ भन्ने छ ।

एकचरण राजनीतिक दल, स्थानीय विपद् व्यवस्थापन समिति र अन्य सबै पक्षको बैठक बसेर पहिलो चरणमा गुनासोलाई सम्वोधन गर्ने गरी फारम भराउने र त्यसपछि मात्र अन्य प्रक्रियामा जाने सहमति गरेका छौं । यो नगरको हकमा यति विकास बैंकलाई सम्झौता गर्ने आधिकारिकता प्राप्त भएको छ । एक चरण छलफल समेत भयो ।
अन्त्यमा नगरवाशीलाई भन्नुपर्ने केही कुरा छ की ?

जुनसुकै ठाँउमा पनि सन्तुलित विकासका लागि वृहत योजना चाहिन्छ । हामी साउनमै विशेष नगर परिषद बस्दैछौं । केही हदसम्म स्थानीय निकायको बजेट बढेर आएको सन्दर्भमा साउनमा विशेष परिषद बस्ने र त्यसबाट बजेट रिभाइज गर्नुपर्ने आवश्यकता छ । स्थानीय जनता, राजनीतिक दललाई मेरो आग्रह छ की विकास भन्ने चिज एकैचोटी गर्न चाहेर कसैले पनि गर्न सक्दैन ।

त्यो प्रणालीले विकास हुने कुरा हो । हरेक काममा सिस्टम र प्रक्रियालाई रुलब्रेक गरेन भने त्यो स्वत सिस्टमभित्र छिर्छ । म आफैं पनि यो नगरपालिकामा आउँदा सिस्टम जस्तो बन्छ, म त्यस्तै बनेर निस्कने हो । अवको आवश्यकता र प्राथमिकता भनेको हामी परिषद गछौं, निर्णय गछौं, जे काम गर्दा पनि नीति नियम र कानुनको परधिभित्र रहेर निर्णय गर्ने र अनावश्यक लोभ लालचहरु त्याग्ने गर्नुपर्छ ।

संगसंगैं अबको वृहत्तर विकासका लागि योजनावद्ध आवधिक योजना तय गर्नुपर्छ । थाहा नगरको साँच्चै विकास गर्ने हो भने अर्को वर्षदेखि थाहानगर वृहत योजना बनाउनै पर्छ ।





0 comments

Write Down Your Responses