Powered by Blogger.
‘अब भूकम्प प्रतिरोधी घर बनाउँछु’

 शिव चौलागाईं  
हेटौडा,१ भाद्र / मकवानपुरको सुकौरा २ का श्यामकुमार तितुङले घर निर्माण सम्बन्धि काममा हात हालेको लामो समय भयो । आफ्नो गाउँठाउँमा धेरै घर बनाउनका लागि उनको मेहनत परेको छ । अहिलेसम्म उनले जति घर बनाए सबै अरुले बनाएको हेरेर आफैं सिकेका हुन् । अरुको हेर्दै सिकेर डकर्मी काम गरेका उनले यस पेशाबाट आफ्नो परिवार पाल्दै आए । घर निर्माण सम्बन्धि केही मात्रामा भनेपनि आफूसंगको शिप प्रयोग गरेर त्यसबाट प्राप्त कमाईले घर चलाउदै आएका उनी अहिले घर निर्माणबारे थप शिप सिक्न पाउँदा खुसी बनेका छन् । उनलाई यो खुसी दिलाएको हो, राडो नेपालको सहजीकरण तथा टियरफण्डको आर्थिक सहयोगमा सञ्चालन गरिएको भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि तालिमले । आफ्नै गाउँमा एक हप्तासम्म सञ्चालन गरिएको तालिममा सहभागी बनेका उनी भन्छन्, ‘पहिले पहिले  बनाइएका घरको सुरक्षाबारे ध्यान दिइएन अब भने घरलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा ज्ञान प्राप्त भयो ।’ अब आफूले बनाउने हरेक घरलाई भूकम्पबाट कसरी जोगाउन सकिन्छ भनेर आफूले ध्यान दिने उनी बताउँछन् । ‘मानिसहरु आफू सुरक्षित रहनका लागि घर बनाउँछन् तर त्यो घरको सुरक्षाबारेमा चाँही त्यति ध्यान दिइदैनन् ।’उनी भन्छन्, ‘अब मैले बनाउने घरमा तालिमबाट सिकेका भूकम्प प्रतिरोधी बनाउने तरिका अपनाउनेछु ।’ कम लागतमा स्थानीय स्रोत साधनको प्रयोग गरेर घर बनाउदै आएका गाउँलेहरुलाई घर निर्माणका बेलामा केही ध्यान दिलाउन सकेमा भूकम्प प्रतिरोधी घर बनाउन सकिने उनको तर्क छ । तालिमबाट घरको जग, नस, डाँडाभाँडाको प्रयोग तरिका लगायतमा अहिलेसम्म नजानेको धेरै विषय सिक्न पाइएकाले आफूले सिकेका सबै प्रकारका सिप प्रयोग गर्दै अब आफू घर निर्मामा लागिपर्ने उनको भनाई छ ।
भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि तालिम पाएर शिप वृद्घि उनले मात्र गरेका होइनन् । मकवानपुरका विभिन्न गाविसका उनीजस्ता डकर्मी अहिले भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि तालिममा सहभागी भएर दक्ष डकर्मी बनेका छन् । सुकौरा ९ का झलक लो पनि अबका दिनमा घर बनाउने काममा निक्कै शिप प्राप्त गर्न सफल भएको बताउँछन् । ‘तालिम कहाँ लिने भन्नेमा केही जानकारी नै नभइरहेको बेलामा गाउँमै संस्था आएर तालिम उपलब्ध गराउँदाको खुसी बयान गरि साध्य छैन ।’ उनी भन्छन्, ‘तालिमबाट मेरो डकर्मी सम्बन्धि काम थप व्यवसायिक बन्नेमा विश्वस्त छु ।’
सुकौरा गाविसमा उनीहरु दुई सहित गाविसको १,२, ३,४ र ९ नम्बर वडाका २८ जना डकर्मीले भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तरिका तालिममार्फत सिकेका हुन् । पछिल्लो समय राडोले टियरफण्डको आर्थिक सहयोगमा मकवानपुरको विभिन्न गाविसमा सञ्चालन गरिरहेको भुकम्प प्रतिरोधी घर निर्माण अभियान अन्तर्गत गाउँगाउँमा भूकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मीलाई दक्ष बनाउने काम भइरहेको हो ।
मकवानपुरको मकवानपुर गढी, सुकौरा, बुढिचौर, इपापञ्कन्या, कोगटे सिस्नेरी र बेतिनीमा पछिल्लो समय राडोले अति विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नमूना आवास निर्माण कार्य सुरु गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद धितालका अनुसार मकवानपुर गढीमा २ वटा र अन्य गाविसका प्रत्येक वडामा एउटा एउटा नमूना घर निर्माण गरिनेछ । गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पबाट पूर्ण क्षति भएका घरमध्ये अति विपन्न परिवारको घर छनौट गरी दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि विभिन्न तयारी भइरहेको धितालको भनाई छ । ‘ गाउँका वडा नागरिक मञ्च, स्थानीय विपद व्यवस्थापन समिती देखि जिल्ला स्तरका सरोकारवाला निकायसंगको समन्वयमा भूकम्प प्रतिरोधी घर बनाउन तालिम प्रदान लगायतका कार्यहरु भईरहेको उनले बताए । बुढिचौरका ३०, सिस्नेरीका २८ जना डकर्मीलाई समेत भूकम्प प्रतिरोधी एक हप्ते डकर्मी तालिम प्रदान गरिसकिएको राडोले जनाएको छ । संस्थाले यसअघि मकवानपुरको आमभञ्ज्याङ्, टिष्टुङ्, आग्रामा स्थानीय कालीगढलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तरिकाबारे तालिममार्फत शिप प्रदान गरिसकेको कार्यक्रमका आइएमओ विष्णुप्रसाद धितालले बताए । जिल्लाको मकवानपुरगढी, कोगटे, इपापञ्चकन्या र बेतिनीमा तत्कालै तालिम सञ्चालन गर्नका लागि तयारी भइसकेको जनाइएको छ ।
भूकम्प प्रतिरोधी आवास निर्माण सम्बन्धि पछिल्लो चरणको कार्यक्रममा सात वटा गाविसमा ५६ वटा नमूना घर निर्माण गर्ने संस्थाको तयारी रहेको आइएमओ धितालको भनाई छ । राडोले टियरफण्डको सहयोगमा मकवानपुरको आग्रा र टिष्टुङ्मा भूकम्प प्रतिरोधी नमूना आवास निर्माण सम्बन्धि अभियान यसअघि देखिनै  नै सञ्चालन गरिरहेको छ । अभियानका क्रममा दुवै गाविसमा गरी ३९ घर नमूना घर निर्माण भएका छन् ।

0 comments

Write Down Your Responses