Powered by Blogger.
उपत्यकामा नयाँ पानीका मुहानहरु खोजी भइरहेको छ


जीवन बस्नेत, महासचिव
उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघ


थाहा नगर पालिका सोल्टुका युवा व्यवसायी जीवन बस्नेत सानै उमेरमा व्यवसायका हरेक क्षेत्रमा हात हालेका सफल व्यवसायी मानिन्छन् । उनी हालै सम्पन्न उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघको महासचिव जस्तो जिम्मेवार पदमा निर्विरोध निर्वाचित भए । 

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष एवं ऋण उपसमिति संयोजक समेत रहेका बस्नेत व्यवसायको अलावा समाजसेवामा समेत अग्रसर छन् । उनी समेतको पहल र व्यवस्थापनमा पालुङ–काठमाडौं पाथिभरा यातायात सञ्चालन समेत भएको छ । प्रश्तुत छ  उनीसंग उपत्यका खानेपानीका समस्या र सो व्यवसायका बारेमा गरिएको कुराकानीः


संघको अधिवेशनबाट निर्विरोध रुपमा महासचिव निर्वाचित हुँदा कस्तो अनुभुती भइरहेको छ ?

६ सय ५ वटा ट्याङ्करको अलावा हाम्रो संघमा ३ सय ३७ जना सदस्यहरु हुनुहुन्छ । उहाँहरुको व्यवसायको सम्पूर्ण जिम्मेवारी यस संघले लिइरहेको छ । जिम्मेवारीहरु थपिँदै गएको छ । 

व्यवसायीहरुले एउटा गाडी खरिद गरिदिनु हुन्छ, संघमा दर्ता गर्नुहुन्छ । त्यसपछि उहाँहरुको व्यवसायलाई कसरी हुन्छ माथी उकास्ने भन्ने देखि लिएर दुर्घटना सम्वन्धी सम्पूर्ण जिम्मेवारीहरु यसै संस्थाले बेहोरीरहेको छ । हिजोका दिनमा कार्यसमिति अलि निश्क्रीय भएको भन्ने गुनासो थियो ।  तर समितिले सरकारसंग समन्वय गरेर विभिन्न निर्देशिकाहरु तयार गर्न लागिरहेको छ । 

नीति नियमहरु बनाउन लागिरहेको छ । विविध कार्यहरु सुरुवात गर्न लागिरहेको छ । त्यसकारण यत्रो ठूलो जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आइरहँदा निश्चय नै केही गाह्रो त भई नै हाल्छ । तैपनि हामी सबै व्यवसायीहरुको साथ र सल्लाह मै अगाडि बढीरहेका छौं । 

राजधानीमा मेलम्चीको पानी भित्रियो भने त तपाईहरुको व्यवसाय चल्दैन होला नी ?

हो, यो कुराले हाम्रा व्यवसायी साथीहरु धेरै चिन्तीत भइरहनु भएको छ । तैपनि हामीले काठमाडौं उपत्यकामा मात्र नभइकन नेपाल भरी नै जुन जुन शहरहरुमा पानीको अभाव छ, त्यतातिर केन्द्रीत हुन जरुरी छ । 

पछि सबै स्थानमा हाम्रो व्यवसाय सुरु भएपछि यसलाई महासंघीय ढाँचामा लैजाने सोच बनाएका छौं । हरेक जिल्ला स्तरमा जिल्ला संघ पनि बनाउने सोच छ र अहीलेको संघ छाता संघको रुपमा महासंघ भएर रहनेछ  । 

उपत्यकामा खानेपानीको स्रोतहरु कत्तिको पर्याप्त छ ? कुन कुन ठाँउमा स्रोत छन् र कसरी तपाँइहरुले त्यसलाई समन्वय गरिरहनु भएको छ ?

अहिले हाम्रो संघमा सात वटा क्षेत्रबाट पानीहरु उत्पादन भइरहेका छन् । बालाजु, मातातिर्थ, चोभार, गोदावरी, काँडाघारी, जोरपाटी र भक्तपुरबाट हामीले पानी आपुर्ती गर्छौ । 

काठमाडौं उपत्यकामा २०७० सालको तथ्याङ अनुसार १७ करोड लिटर पानी चाहिने ठाँउमा ५ करोड लिटर हामी व्यवसायीहरुबाट परिपूर्ती भइरहेको छ । आठ करोड लिटर पानी चाँही मेलम्चीबाट आयो भने त्यहाँबाट परिपूर्ती हुन्छ । अझै पनि ४ करोड लिटर पानी काठमाडौंवाशीलाई पुग्दैन । यसको स्रोतहरु जुटाउनका लागि विभिन्न ठाँउमा अध्ययन भइरहेको छ ।

 मातातिर्थमै पानीको मुहान बढाउन पहल भइरहेको छ । नेपालटार क्षेत्रमा पानीको मुहानहरु खोजी भइरहेको छ । अन्य ठाँउहरुमा पनि पानीको मुहान खोजेर सकेसम्म सरकारी निकायबाट र निजी क्षेत्र समन्वय गरेर काठमाडौंमा खानेपानीको समस्यालाई सहज ढंगले परिपूर्ती गरौं भनेर हामीहरुले पहल सुरु गरेका छौं ।

बगिरहेको पानी जसले सक्यो उसले लिने र मनपरी मूल्य निर्धारण गर्ने गरेको भन्ने गुनासो छ नी ?

सरकारी निकायको हिसावमा हामीले मूल्य निर्धारण गर्दा त  हाम्रो मूल्य धेरै नै कम छ । ८ हजार लिटर पानीको सरकारी मुल्याङ्कन दर ३ हजार ३ सय छ । तर हामीले  १५ सय देखि १७–१८ सय सम्ममा ८ हजार लिटर पानी बिक्री वितरण गरिरहेका छौं । 

सरकारी भन्दा त गुणस्तमा पनि कुनै ग्यारेन्टी छैन नी तपाँइहरुको, होइन र ?

कुनै कुनै व्यवसायीहरुले गरेको एकाध कामलाई आधार मानेर सबै व्यवसायी उस्तै छन् भन्न मिल्दैन । साह्रै अभावका बेला कहिले काँही माग अनुसार आपूर्ती गर्न नसकेर केहीले अन्यत्रको पानी मिसावट कहिँ कतै गरे होलान् । 

यसलाई नियन्त्रण गर्नका लागि हामीले अब नयाँ व्यवस्था सुरु गर्न लागेका छौं । नेपाल आयल निगमको गाडीमा सरकारसंग समन्वय गरेर एकै खालका रंग निर्धारण गरिएजस्तै हामीले पनि २ किसिमको पानी र २ खालको ट्याङ्करको रंग प्रयोग गर्ने सोचीरहेका छौं । दुइथरी ट्याङ्कर छुट्याएर एकथरी खानयोग्य पानी र अर्कोथरी सरसफाईको लागि मात्र प्रयोग हुने पानी वितरण गर्ने संघको सोच छ ।

यसको लागि गृहकार्यहरु भइरहेको छ । पिउन योग्य पानीको छुट्टै मूल्य निर्धारण हुन्छ भने अर्को खालको पानीको अर्कै मूल्य निर्धारण हुन्छ । अबको दिनमा हामीले मूल्यमा कन्जुस्याँइ नगरीकन गुणस्तरमा पनि ध्यान दिन गइरहेका छौं । हामीले त्यही ढंगले पानी उत्पादन गर्नका लागि सबै उत्पादनशिल बोरीङहरुलाई परिपत्र गरिसकेका छौं ।

यो व्यवसायमा अहिले कस्ता खालका चुनौतिहरु छन् ?

काठमाडौं उपत्यकाभित्र ट्राफिक जामको उस्तै समस्या छ । हामी पानी लिएर गल्ली गल्लीमा भित्र छिर्नुपर्ने हुन्छ । संघमा आवद्ध भएका बाहेक ४०–५० वटा ट्याङ्कर संघ बाहिर छन् । उनीहरुलाई परिपत्र गर्ने र संघमा समेट्ने हाम्रो प्रयास जारी छ । 

एक–दुई वटा ट्याङ्करले खोलाबाट वा अन्य निकायबाट पानी भर्न सक्छन् । यसले गर्दा सिङ्गो पेशाकै बदनाम भइरहेको छ । माघ महिनादेखि असारमम्म हाम्रो महत्वपूर्ण सिजन हो । सिजनको बेला पानी परिपूर्ती गर्न अलि समस्या हुन्छ । सरकारको नीति नीयम र निर्देशीकाहरु नआइपुगेका कारणले काम गर्न उत्तीकै कठिनाई छ ।

स्थानीय स्रोतको पानी विक्री वितरण गरेर व्यवसाय गरेपावत त्यहाँका जनतालाई केही फाइदा पनि दिनुहुन्छ की दिनुहुन्न ?

पानीको उत्पादनशील क्षेत्रमा स्थानीय वाशिन्दालाई बिहान २ घण्टा र बेलुका २ घण्टा पानी दिन्छौं । त्यसको अलावा कुनै ठाँउमा आगलागी भयो, केही समस्या प¥यो, सार्वजनिक पाटी पौवा निर्माणको काम प¥यो भने हामीले यसलाई सामाजिक उत्तरदायित्वको रुपमा लिएर सहयोग गछौं । भूकम्पको बेला धेरै नै सहयोग ग¥यौं । 

स्थानीय स्रोत परिचालन गर्दा दलका नेता, प्रहरी र अन्य समूहले कत्तिको अवरोध गर्छन् ?

जुनसुकै व्यवसाय गर्दा पनि अलिअलि समस्या आउनु स्वभाविक हो । हरेक क्षेत्रमा अहिले विरोधका लागि विरोध गर्ने प्रचलन छ । तर पानीको कामलाई हामीले व्यवसाय नभइकन एउटा सेवाको कामका रुपमा लिएर अघि बढेका छौं । सरकारले दिन नसकेको जीवनसंग सम्वन्धीत पानीलाई हामी आफैंले निजि क्षेत्रबाटै परिपूर्ती गर्नुलाई सबैले सकारात्मक रुपले हेर्नुपर्ने हो । 

पछिल्लो समय उपत्यकाको खानेपानीमा विषाक्त किटाणुहरु देखिएर हैजा लगायतका रोग देखा परेको भन्ने छ ?

एउटा स्थानमा जुन गुणस्तरको पानी छ, त्यसको सय–दुईसय मिटर पर जाँदा पनि त्यस्तो गुणस्तरको पानी हुँदैन । बोरीङ गरेर पानी निकाल्ने भनेको लगभग तिनसय मिटर तलको गहिराईबाट जमिनमुनीको पानी संकलन गर्ने हो । त्यो पानी कहाँबाट बगेर आएको हुन्छ, भन्न सकिन्न । बालाजु क्षेत्रमा बोरीङ छ भने सामाखुसीदेखि नेपालटार क्षेत्रसम्मको पानी संकलन भएर आएको हुन्छ । बालाजु क्षेत्रमा संकलन गर्दाको पानी राम्रो हुन्छ भने त्यहाँभन्दा माथीतिरको पानी नराम्रो पनि हुनसक्छ । सरकारी स्तरबाट यो पानी यो स्तरको छ, यसको मापदण्ड यो हो भनेर कुनै जाँच पडतालको व्यवस्था छैन । 

हामीले जुन हाम्रोे क्षेत्रबाट उत्पादन हुन्छ, त्यस क्षेत्रबाट परिक्षण गराउँदाखेरी त्यो पानी राम्रो छ भनेपछि हामीले त्यसलाई विक्री वितरण गर्ने हो । महिनामा एकचोटी सरकारी निकाय आएर जाँच गरेर सहयोग गर्नुपर्ने हो । त्यस्तो अवस्था छैन । हामीसंग त्यस्तो मेसीन छैन । हाम्रो ७ वटा क्षेत्र संघमा आवद्ध छ, त्यसको अलावा अर्को ४–५ वटा क्षेत्रबाट पनि पानीको काम भइरहेको छ । त्यहाँबाट आएको पानी नराम्रो पनि हुनसक्छ ।

सरकारसंग के माग छ त ?

निति नियम निर्देशीका बनाइदिनुप¥यो । गुणस्तर वा खाद्य प्रविधीले समय समयमा पानी जाँच गरिदिनुप¥यो । यो खान योग्य छ, यो छैन भनेर मिडीया मार्फत जानकारी गराइदिनुप¥यो । 

यो भयो भने बोरीङवालालाई पनि काम गर्न सजिलो हुन्छ र ट्याङ्कर व्यवसायीलाई पनि सजिलो हुन्छ । प्रयोग गर्ने उपभोक्ताहरुलाई पनि दुविधा हुँदैन । 

हिजोको दिनमा सरकारबाट पनि हामीलाई असहयोग भएको थियो । अधिवेशनमा नेपाल सरकारको सचिवज्यू आउनु भयो । उहाँले अबको दिनमा संघलाई सक्दो सहयोग गर्छु भन्नुभएको छ । हामी आफैंले गुणस्तरमा एकदमै प्राथमिकता दिन लागिरहेका छौं । 

अब खानेपानी संस्थानकै स्तरमा पानी उत्पादन गर्ने र त्यही मूल्यमा हामीले पानी विक्री वितरण गर्ने भन्ने हाम्रो योजना छ । अब छिट्टै सरोकारवाला पक्ष मिलेर संयुक्त बैठक बस्ने र आवश्यक छलफल गर्ने योजना छ ।

मेलम्ची नै आएपनि चार करोड लिटर पानी पुग्दैन । त्यसलाई हामी व्यवसायीहरुले व्यवस्थीत र गुणस्तरीय पानी उत्पादन गरेर परिपूर्ती गराउने संघको सोच छ । विगतमा जे जस्तो भएपनि आगामी दिनमा अलि पृथक ढंगले संघलाई अघि बढाउने हामीले सोचिरहेका छौं ।

आम व्यवसायीलाई केही शन्देश छ की ?

यो खानेपानीको व्यवसाय गर्ने ट्याङ्कर व्यवसायीहरुको एउटा छाता संघ हो । कुनै साथीहरु छुट्नुभएको छ भने उहाँहरु पुःन १५ दिनभित्र आवद्ध हुन सक्नुहुन्छ । उपत्यकामा बढ्दै गइरहेको जनसंख्याको अनुपातमा यहाँ बर्षैसाल पानीको माग बढ्दै गइरहेको छ ।

 यस आधारले हाम्रो व्यसायलाई पनि विस्तार गर्दै जानुपर्ने हुन्छ । अधिकांश उपभोक्ताको माग भनेको पानीमा शुद्धताको हो । त्यसतर्फ सबै गम्भिर बनौं । सबै व्यवसायीहरु एकजुट होेऔं । यही भन्न चाहन्छु । 




तस्बिरः सुभाष केसी

0 comments

Write Down Your Responses