Powered by Blogger.
मेरो मनोनयनले धेरै महिलाहरुको मनोवल वृद्धि भएको छ

महालक्ष्मी उपाध्याय‘डिना’
केन्द्रीय सदस्य एवं संसद सदस्य
नेपाली काँग्रेस


नेपाली कांग्रेसको संगठनमा महालक्ष्मी उपाध्यायलाई जति नेता कार्यकर्ताले चिन्दछन्, त्योभन्दा बढी डिना उपाध्यायलाई चिन्दछन् । निर्वाचनहरुमा भोट माग्ने उनका समर्थकले पनि महालक्ष्मीको पक्षमा भन्दा बढी डिनाकै पक्षमा बढी प्रचार गर्ने गर्छन् । यी दुइ नाम कुनै फरक व्यक्तिका नाम नभएर एकै व्यक्तिको नाम र उपनाम हुन् । 

वास्तवमा उनै महालक्ष्मी नै डिना हुन् । जसलाई मकवानपुरका जनताले महालक्ष्मी उपाध्याय ‘डिना’ भनेर राजनीतिमा स्थापित गरेका छन् । यद्यपि डिनालाई निर्वाचनमा सफलता प्राप्त गर्न अझै मेहनत गर्नुछ । तर पार्टीको संगठन र राजनीतिमा भने डिनालाई भाग्यले भरोसा दिन छोडेको छैन । जस्तो कि, भर्खरै उनलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा मनोनित गरेका छन् ।

डिना उपाध्याय २०४३ सालमा पदमकन्या क्याम्पसकी स्ववियु सभापति थिइन् । जनआन्दोलनको सफलतापछि मकवानपुर जिल्लाबाट दुई पटक चुनावी मैदानमा उत्रिएकी थिइन् तर सफलता हात लागेन । त्यो पराजयले डिनालाई राजनीतिमा सक्रिय हुन भने रोकेन ।  प्रस्तुत छ भर्खरै केन्द्रीय सदस्यमा मनोनित महालक्ष्मी उपाध्याय ‘डिना’सँग गरिएको कुराकानी ः

तपाईँ राजनीतिमा कसरी आउनु भयो ?

म विद्यार्थी हुँदा देखि नै राजनीतिमा लागेकी हुँ । मेरो पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै हो । लामो समय जेल नेल बसेको परिवारबाट म आएकी हुँ । लामो समय पद्मकन्या क्याम्पसमा रहेर २०४३ सालमा स्ववियु सभापति पनि निर्वाचित भएकी हुँ । जनआन्दोलनको सफलतापछि मकवानपुर जिल्लाबाट म दुईपल्ट कांग्रेसको उम्मेदवार भइसकेकी हूँ । म झिनो मतबाट पराजित भएँ । त्यसपछि पार्टीले मेरो मूल्याङकन गरेर समानुपातिकबाट मलाई सभासद् मनोनित गरिएकोे हो ।

राजनीतिमा आउन तपाईको प्रेरणाको स्रोत के हो ?

मेरो प्रेरणाको स्रोत मेरो परिवार नै हो । मेरो मामाघरको हजुरबुवा जो १२ वर्ष जेल बस्नु भयो । राणाकालमा स्वतन्त्रताको लडाईँमा उहाँ जेल बस्नु भएको थियो ।

तपाइँको चर्चा नै थिएन अचानक सभापतिले केन्द्रीय सदस्य मनोनित गर्नुभयो नि ?

अचानक भन्दा पनि म केन्द्रीय सदस्यमा पहिला पनि दुईपल्ट निर्वाचित भएकी हुँ । यसपटक म केन्द्रीय सदस्य हुँदा महिलाहरुको सहभागिता बृद्धि गर्नुपर्छ भन्ने एउटा सैद्धान्तिक कुरा बोकेर हिँडेकी थिएँ । मैले के भनेकी थिएँ भने महिलाहरुको सहभागिता कोटाले मात्र बृद्धि गर्ने होइन प्रतिस्पर्धामा पनि हामी अगाडि बढ्नुपर्छ । 

मलाई १३ आंै महाधिवेशनमा खुलाको प्रतिस्पर्धा हुँदा एक प्रतिशत पनि चुनाव हार्छु भन्ने थिएन तर आन्तरिक चलखेलका कारण मैले चुनाव हारेकी हो । म एकदमै झिनो मतले हारेकी हुँ । म २८ नम्बरमा थिएँ । अहिले केन्द्रीय सदस्य हुनुमा मलाई त्यस्तो आश्चर्य लागेको छैन । मैले जुन सैद्धान्तिक बिचार र महिलाहरुको सहभागितामा बृद्धि हुनुपर्छ भन्ने एउटा अडान राखें, त्यो चाहिँ आज पुरा भएको जस्तो मैले महशुस गरेकी छु ।

राजनीतिमा महिलाको सहभागिता अलि कम देखिएको हो ?

हिजोको अवस्थादेखि आजसम्म हेर्ने हो भने हामीले प्रगति नै गरेका छौं । हामी अगाडि नै बढिरहेका छांै । तर पनि गुणस्तरीय रुपमा अथवा महिलाहरुको साँच्चै निर्णायक भूमिकामा चाहिं आज पनि अलि पछाडि नै छ । अहिले पनि हामीमा पुरुषवादी सोच यथावत् छ । महिलाहरु अगाडि बढ्यो भने हामी पछि पर्ने छांै भन्ने पुरुषहरुको सोचले आज हाम्रो समाज अगाडि बढिरहेको छ । हिजोको मेरो पराजय पनि यहि सोचले भएको हो ।

१३ औं महाअधिवेशनमा खुला तर्फ प्रतिस्पर्धामा तपाई पराजित हुनुभएको हो, पराजित भएको मान्छे केन्द्रीय सदस्य बन्नु भयो त ?

मेरो कदमको सम्मान भयो भन्ने मैले महशुस गरेकी छु । मैले जुन आधारमा चुनाव लडें त्यसको कदर भयो । म चुनाव हार्दै गर्दा धेरै महिलाहरु निरुत्साहित पनि हुनुभएको थियो । एउटा आँट गर्ने महिलाप्रति यो व्यवहार भयो । निवार्चनमा हराइयो । निर्वाचन हारेपनि चुनाव त लड्नु भयो नि भनेर धेरै महिलाहरुले मलाई प्रोत्साहन पनि दिए । अहिले म केन्द्रीय सदस्य भएँ ।  यसले धेरै महिलाहरुको मनोवल वृद्धि भएको छ ।

राजनीतिक क्षमतामा महिलाहरु कत्तिको अगाडि छन् जस्तो लाग्छ ?

प्रयाश त पहिला देखि नै भएको हो तर आन्तरिक चलखेल र महिला प्रति गरिने व्यवहारले गर्दा पछाडि नै रहनुपर्ने अवस्था छ । अहिले पनि महिलाहरुले गर्न चाहेर पनि धेरै कुराहरु गर्न सक्दैनन् । हाम्रो समाजमा पुरुषवादी सोच धेरै हावी भएको छ । पुरुषहरुमा एउटा भ्रम कस्तो छ भने महिला अगाडि बढे भने हामी पछाडि पर्छौं । यहि सोचले गर्दा पनि महिलाहरुले आफ्नो क्षमता देखाउन नसकेका हुन् ।

महिला नेतृत्वलाई प्रभावकारी बनाउन तपाईंसँग के एजेण्डा छ ?

पहिलो कुरा त संवैधानिक अधिकार स्थापित गर्नेुथियो , त्यसमा हामी सफल भएका छौं । अब महिला नेतृत्वलाई प्रभावकारी बनाउन ठोस कार्यक्रम बनाउन आवश्यक छ त्यो काम अगाडि बढाउने मेरो सोच छ । कानुन बन्दैमा मात्र केही हँुदैन कानुनको कार्यान्वयन कहाँ हुन्छ भन्ने कुरा हो । महिलाहरुको संयन्त्र बलियो हुनुपर्छ । अहिले पनि महिलाहरुको लागि बनेको संयन्त्र बलियो छैन । कानुन मात्र बनेर भएन नि ।

३३ प्रतिशत आरक्षण सुनिश्चित त भयो, यसले राजनीतिमा कस्तो प्रभाव पारेको छ त ?

अहिले हामी त्यति जुझारु र सशक्त भइसकेका छांै जस्तो मलाई लाग्दैन । आरक्षण नदिएर महिलाहरुलाई पछाडि मात्र पारिरह्यो भने फेरि पनि क्षमताको अभिवृद्धि हुन सक्दैन । महिलाहरुलाई सहभागी गराउँदै क्षमता बृद्धि गर्ने हो । अर्को कुरा के भने सँधै हामी प्रतिशतमा लड्ने पनि होइन । प्रतिशतका कुरालाई मात्र होइन क्षमता बृद्धि गर्दै हामी महिलाहरु पनि स्वतः प्रतिस्पर्धामा जाने वातावरण बनाउनु पर्छ । महिलाहरु पनि प्रतिस्पर्दामा आउँदै छन् भन्ने मानसिक सोचको चाहिं परिवर्तन गर्नुपर्छ ।

महत्वपूर्ण पदहरुमा महिलाहरुको सहभागिता एकदमै कम देखिन्छ नि ?

हिजो र आजको परिवेशमा परिवर्तन चाहिं भएको छ । यो परिवर्तनलाई हामीले संस्थागत गर्दै जानुपर्छ । महिलाहरुको संयन्त्रलाई अझै लबिङ गर्न जरुरी छ ।

तपाईको राजनीतिक लक्ष्य कहाँसम्मको हो त ?

मैले जतिबेला राजनीति गरे पार्टीको ठूलो, निकाय मन्त्रीको परिकल्पना गरेर गरिन । म पञ्चायतकालमा राजनीति गरेको मान्छे, जेल गएको मान्छे । मेरो राजनीति भनेको समाजको परिवर्तनको लक्ष्य हो ।

तपाईमा के क्षमता देखेर पार्टीले तपाईलाई केन्द्रीय सदस्य बनाएको होला जस्तो लाग्छ ?

क्षमताको कुरा नगर्नोेस् । म केन्द्रीय सदस्य बनिसकेको मान्छे हो । म दुईपल्ट निर्वाचित सदस्य हो । मैले चुनाव हारेर पनि पछि हटिन सँधै आँट गरि नै रहेँ । बिद्यार्थीकालदेखि पार्टीमा लागेको र नेतृत्व वर्गको दवाबले आज म केन्द्रीय सदस्य भएकी हुँ । –सुकृत नेपाल, सरल





0 comments

Write Down Your Responses