bank

BANK





Powered by Blogger.
‘थाहा’ प्रणेता रुपचन्द्र बिष्टसंगका संगतहरु

प्रदीप नेपाल 
थाहा प्रणेता रुपचन्द्र विष्टलाई नजिकबाट चिन्ने थुप्रै छन् । मैले रुपचन्द्र विष्टलाई समग्रमा चिनिन । तर उहाँसँग जोडिएका केही यस्ता प्रसङ्ग छन् जसलाई मैले बिर्सनु हुँदैन । र मलाई लाग्छ अरु कसैले पनि बिर्सन हुँदैन । किनभने रुपचन्द्र विष्ट जहिले तहिले जन्मिदैनन् ।

रुपचन्द्र विष्टसँग पारिजात दिदीले चिनाउनुभएको थियो । उहाँ त्यतिबेला पुतलीसडक, एम हाउसभित्रको गल्लीमा बस्नुहुन्थ्यो । यो २०२७ साल मंसिरतिरको कुरा हो । काठमाडौं चिसिन थालेको समय थियो । एकजना खाइलाग्दा मान्छे बसेका थिए ढोका छेउको कुर्चीमा । उनको शरीरका लागि त्यो कुर्ची सानो भएजस्तो लागिरहेको थियो मलाई । ‘सिरोज, उहाँ रुपचन्द्र विष्ट, निर्मलको साथी । मेरो बोलीमा रुपचनजी ।’ 

मेरा दर्जन मध्यका नाममा, सिरोज पारिजात दिदीले मन पराएको नाम थियो । किनभने यसमा राल्फाली गन्ध आउँथ्यो। दिदीका दौंतरीहरुले उसै पनि मलाई सानो राल्फा भन्थे । नदेखे पनि, नभेटे पनि निर्मल दाइप्रति म भित्र सम्मान थियो । किनभने मेरो परिवेश निर्मल लामालाई सम्मान गर्नेहरुको बीचमा उभिएको थियो ।

रुपचन्द्र विष्ट भनेर होइन, निर्मल लामाको साथी भनेर मैले विनम्रतापूर्वक नमस्ते गरें । तर कुनै प्रतिकृया पाइन । ‘बुढा सायद भरखरै जेलबाट छुटेर आएका होलान्’ मैले मनमनै गुनें। जेल र हिरासतलाई चिन्न सक्ने भैसकेको थिएँ म । एकछिनको वार्तामा म वाधा भएको थिएँ । रुपचन्द्र विष्टलाई नमस्ते गरेर बसेपछि उहाँहरु दुई जनाको कुराकानी जारी रह्यो । 

हाम्रो दोश्रो भेट पनि पारिजात दिदीकै कोठामा भयो । उही रुपचन्द्र विष्ट । उही कुर्ची । ‘रुपचनजी ‘ग्य्राजुएट कन्स्टिच्युएन्सी’ बाट राष्ट्रिय पञ्चायतमा उठ्दै हुनुहुन्छ । तिमीले आफ्ना केही साथीलाई लिएर सिंहदरबारमा रुपचनजीको घोषणापत्र बाँड्नुप¥यो।’ आईएको जाँच दिएर बसेको म, स्नातक क्षेत्रको प्रतिनिधित्वको अर्थ बुझ्ने भैसकेको थिएँ त्यतिबेला । निर्मल दाईको साथीले राष्ट्रिय पञ्चायतको सदस्य जित्दा राम्रै हुन्छ भन्नेसम्मको ज्ञान मभित्र थियो । सानै थिएँ म भन्नुपर्छ । सत्र वर्षमा हिंड्दै थिएँ । ‘यल्ले के गर्ला र!’ रुपचन्द्रको अविश्वासलाई मैले अन्यथा लिइन । ‘यो भाइले गर्न सक्छ भनेरै मैले बोलाएको हुँ रुपचनजी।’ ‘मेरो पर्चा बाँड्न सक्छस?’ रुपचन्द्र विष्टले पहिलो पटक सिधै मलाई सम्बोधन गर्नुभएको थियो । सिधै तँ भनेको हुनाले मलाई उहाँको बोली बिझाएको थियो।’ यति काम गर्न के गाह्रो छ र ?’ ‘ल जा । तीन दिनपछि आइज । एकझोला पर्चा बोकेर जा र सिंहदरबारभित्र बाँडेर आइज।’ चुनाव भयो । 

रामराजाप्रसाद सिंहले २०१७ को फौजी काण्डलाई ‘कू’ भनेर घोषणापत्र निकालेको हुनाले व्यक्ति र घोषणापत्र दुबैमा उनको चर्चा सबैभन्दा उच्च रह्यो । त्यसपछि किंवदन्ती बने रुपचन्द्र विष्ट मेरा लागि । ‘रुपचन्द्रले बिहे गर्ने भएछन् । बिहेमा भाग लिन जानेले आउने, जाने, खाने, बस्ने सबै बन्दोवस्त आफैंले गर्नु पर्छ रे।’ ’रुपचन्द्रले पालुङको हाई स्कूलमा ढुक्कैले पढाउन थाले।’ ’चितवनको दियालो बंगलामा राजा महेन्द्रलाई गोली ठोकेर रुपचन्द्र लापता भए रे।’ ’भारतको हरिद्धारमा जोगी भएर बसेका छन् रे।’ यस्ता दर्जनौं रे का पात्र भए रुपचन्द्र विष्ट झण्डै वर्षदिन । 

३० सालको मङ्सिर सकिंदो समयमा एक्कासी मैले रुपचन्द्र विष्टलाई जिउँदो जाग्दो, सचेत व्यक्तिका रुपमा भेटें । ‘सिरोज, चिया खान्छस्?’ रुपचन्द्रको प्रश्न सुनेर म छक्क परें । ‘खान्थें नि पाए त । तर तपाईं पैसा तिर्नु हुन्न।’ ‘तँलाई चिया ख्वाउन मन लाग्यो । पैसा मै तिरुँला । आइज ।’ ‘तर, बस मलाई पर्खिएर बस्तैन दाई ।

बाँकी रह्यो एक कप चिया।’ यो मेरो झण्डै झण्डै अन्तिम भेट थियो रुपचन्द्र विष्टसँग। म त किंवदन्तीबाट मुक्त भएको थिएँ। तर मेरा नजिकका साथीहरु समेत भ्रमपूर्ण कथाहरुको शिकार भइरहे । थाहा दर्शनको प्रचारपछि मात्रै रुपचन्द्र विष्ट, जीवन र मृत्युको किंवदन्तीबाट मुक्त हुनुभएको थियो। तर त्यसपछि पनि आफ्ना जनमुखी कामका कारण रुपचन्द्र विष्ट किंवदन्ती पात्र भइरहनुभयो। ‘रुपचन पर्चा बेच्छन् दश पैसामा।’ ’गाउँमा प्रचार गर्न जाँदा रुपचन मल बोकेर किसानलाई प्रभावमा लिन्छन्।’ ‘राष्ट्रिय पंचायतमा रुपचन्द्र विष्ट सधैं अल्पमतको पक्षमा।’ भूमिगत राजनीतिमा किंवदन्तीकै पात्रका रुपमै मैले रुपचन्द्र विष्टलाई चिनिरहें । 

राजनीति खुला भयो। तर मैले रुपचन्द्र विष्टलाई भेट्ने समय पाइन। एक्कासी भेट भयो उहाँसँग नाङलेभारेको ओरालोमा । मनमोहन अधिकारीको निधनपछि लगत्तै काठमाडौ क्षेत्र नं. १ मा चुनाव भएको थियो । हाम्रो पार्टी फुटेको थियो। एमालेको उम्मेदवार म थिएँ । मालेको उम्मेदवार वामदेव गौतम हुनुहुन्थ्यो । यँही  एकजना उम्मेद्वार हुनुहुन्थ्यो रुपचन्द्र। 

निकै गलेको थियो उहाँको शरीर। नाङलेभारेको चौतारोमा हामी दुबै सँगसँगै बस्यौं। पार्टीका साथीहरु मञ्चको व्यवस्था गर्दै हुनुहुन्थ्यो। ‘सिरोज, तँ दुई दुई चोटी मन्त्री भइसकिस् । यसपालि मलाई छोडिदे।’ ‘मैले छोडेर तपाईं जित्नु हुन्न। मेरा प्रतिद्वन्द्वी कांग्रेस र मालेका वामदेव गौतम हुन्।’ विस्तारै मानिस जम्मा हुन थाले। कार्यक्रमको तयारी भएको जानकारी साथीहरुले मलाई दिनुभयो। ‘दाई, तपाईं पहिले बोल्नुस्’ मैले सम्मानपूर्वक अनुरोध गरें। ‘यी सबै तेरै पार्टी मानिस होलान्।’ ‘अनि के भो त!’ रुपचन्द्र विष्टको ‘थाहा’ भाषणसँग मलाई अलिकति पनि डर थिएन। गाउँले श्रोताहरु मात्रै भए अर्कै कुरो हुन्थ्यो। त्यहाँ त हाम्रा पार्टी जनसङ्गठनका कार्यकर्ताहरु बाक्लै थिए। रुपचन्द्र विष्टले भाषण गर्नुभयो।

मलाई समेत बुझन हम्मेहम्मे परेको त्यो भाषण श्रोताले कति बुझे होलान! म तरङ्गित हुँदै थिएँ। रुपचन्द्र विष्टले भनेको अन्तिम वाक्यले मलाई तान्यो। उहाँ भन्दै हुनुहुन्थ्यो, ‘दिन मन लागे मलाई दिनु। मलाई नदिने हो भने यही केटालाई दिनु। यो राम्रो मान्छे हो।’ सबैले बुझेको वाक्य शायद यही थियो। त्यसैले पररर ताली बज्यो।

मैले नमन गरें। तर रुपचन दाईले त्यो चुनावको परिणाम जान्न पाउनु भएन। म जहरसिंह पौवामा चुनावी कार्यक्रममा उपस्थित भइरहेको बेला २०५६ असार ७ गते उहाँले आफ्नो शरीरलाई सदाको लागि आराम दिनु भएछ ।
–थाहा खबरबाट

0 comments

Write Down Your Responses