Powered by Blogger.
थाहा नगरमा भूकम्प पीडितको नाममा यस्तो बेथीति, छानविन गर्ने कसले ?

केशरमान बलामी
नेपालमा २०७२ साल बैसाख १२ गते आएको महाभूकम्पले अधिकांश पार्टी, पौवा, मठ, मन्दिर र घरहरुलाई क्षतविक्षत पा¥यो । फेरी २९ गते  अर्को भूकम्पको ठुलो धक्का आयो । जसले मठ, मन्दिर र घरहरुलाई धुजा धुजा पारी ध्वस्त बनायो । जुन कुरा सबैलाई थाहा नै भएको कुरा हो । 

यसरी घर, मठ, मन्दिर भत्किँदा कयौं मानिस र घर पालुवा जनावरहरुको मृत्यु भयो ।  त्यसपछि नेपाल सरकारले अहिलेसम्म दुइ पटक अनुगमन गर्न प्रत्येक गाउँ र शहरमा प्राविधिक तथा इन्जिनियर टोली पठाएको थियो  । प्राविधिक इन्जिनियर टोलीलाई सेवा, सुबिधा र भत्ता मात्रै यो देशले अहिले सम्म अर्बौं रुपैयाँ खर्च गरिसकेको छ । त्यतीमात्र होइन नक्कली भूकम्प पिडितको नाममा नेपाल सरकारले ३ अर्ब ९ करोड ९२ लाख २५ हजार रुपैयाँ दुरुपयोग गरी खर्च गरिसकेको छ ।

गरिब देशको यति धेरै रकम दुरुपयोग हुनुमा कसको गल्ती ? जसको गल्तीले अर्बौं रुपैयाँ दुरुपयोग भयो त्यसलाई छानबिन गरी कारवाही गर्न तिर अहिले सम्म नेपाल सरकार लागेको देखिँदैन । 

यसरी लापरवाही गर्ने नेपाल सरकारका कर्मचारीहरु नै हो की, नागरिक मन्च, विभिन्न राजनीतिक दलहरु, नेपाल सरकारले नै अनुगमनको लागि खटाएको भाडाका प्राविधिक इन्जिनियर टोलीको लापरवाही हो  ? अथवा जनताहरुको काम नगर्ने तर नेपाल सरकारको तलब र भत्ता खाएर बसेका वडा कार्यालय, गा.वि.स, नगरपालिका र महानगरपालिकाको सचिबहरुको लापरवाही यस्तो भएको हो । तर जसको कारणले भएपनि गरिब देशको यति धेरै रकम दुरुपयोग भएको छ । 

अझै पनि मकवानपुर जिल्लाको थाहा नगरपालिका अन्तर्गत बज्रबाराहीमा कयौँ वास्तविक भूकम्प पिडितहरुले केही राहत पाएका छैनन् । गाउँ घरका टाठा बाठा अनि जो जो धनी र प्राय जसो कम्तिमा दुवै वडामा घर हुनेहरुले मात्र विभिन्न संघ सस्था र नेपाल सरकारले दिएको राहतका सामग्री लगायत पूर्ण क्षतिको रातो कार्ड पाएको अवस्था छ । सोझा सिधा अनपढ गाउँलेहरुको अशिक्षाको फाइदा उठाउँदै गजँडिया र जड्याँहा प्राविधिक इन्जिनियर टोली र गाउँ घरका जान्ने सुन्ने भनौदा गद्दारहरुको असहयोगले गर्दा अहिलेसम्म दुइ दुइ चोटी भूकम्प पिडितको तथ्याङ्क संकलन गर्न आइसक्दा पनि किन वास्तविक भूकम्प पिडितहरुले पूर्ण क्षतिको रातो कार्ड पाएनन् । 

बजार र शहरमा घर र गाडी हुनेहरुले मात्र पूर्ण क्षतिको रातो कार्ड पाउनुको कारण के हो ? वास्तविक भूकम्प पिडितहरुको लागि यो धाँधली होइन र ? गाउँ घरका विभिन्न राजनीतिक दल र नागरिक मन्च के हेरेर बस्यो ? गैरभूकम्प पिडतहरुले पूर्ण क्षतिको कार्ड लिँदा केही विरोध गर्न नसक्ने बरु उनीहरुसंग मिलेमतो गर्ने  राजनीतिक दल र तिनका ठूटे नेताहरु गाउँ घरमा काम छैन । 

किनकी सत्य र असत्य छुट्याउँन नसक्नेले कसरी जनताहरुलाई न्याय दिन सक्छ, कदापि सक्दैन । गाउँ पार्टीका विभिन्न राजनीनिक दलहरु, नागरिक मन्च, बुद्धिजीबी भनौदा फटाहाहरु र गाउँ टोलका जान्ने सुन्नेहरुले पनि जुन व्यक्तिको घर भत्केको छ अथवा तत्कालै घर नभत्किए पनि मान्छे बस्न नहुने अवस्थामा छ, कुनै पनि बेला वा कुनै पनि दिनमा भत्किन सकिने घरहरुलाई पनि भूकम्पको क्षतिमा सुचिकृत नगरी आफ्नो नाता गोताहरुलाई एउटै घरमा छुट्टीएर नबसे पनि छुट्टीएर बसेको छ भनि २–३ वटा पूर्ण क्षतिको रातो कार्ड २–३ जनालाई दिइएको छ भने गाउँका विद्वान भनौदा पढेलेखेका शिक्षित व्यक्तिले पनि बाबु र छोरा दुवै जनाको नाउँमा एउटै घरको २ वटा पूर्ण क्षतिको रातो कार्ड लिएको  अवस्था छ ।

यति मात्रै होइन गाउँका भद्र भलाद्मी अनि सम्पन्न भएको र काठमाडौँ लगायत अन्य शहरहरुमा २–३ वटा सुविधासम्पन्न घर र ४–५ वटा गाडी भएको व्यक्तिहरुलाई पनि पूर्ण भूकम्प पिडितको सुचिमा राखी पूर्ण क्षतिको रातो कार्ड वितरण गरिएको अवस्था छ । 

थाहा नगरपालिकाको बज्रबाराहीको वडा कार्यालयले यति सम्म अन्याय अत्याचार गरेको छ कि सरस्वती बजारमा केही पनि नभएको पिल्लरवाला घरलाई समेत पूर्ण क्षति भएको भनि रातो कार्ड दिएको छ तर बैशाख १२ गतेको माहाभूकम्पले घर भत्किँदा त्यही घरले थिचेर दिनमा १०–१२ माना दुध दिने जर्सी गाई घाइते भै मरेको छ तर त्यस व्यक्तिलाई न त घर पूर्ण क्षति भनि रातो कार्ड दिएको छ न त गाईको नै कुनै क्षतिपुर्ति दिएइको छ । 

माथि उल्लेखित निकायहरुले निश्पक्ष तरीकाले बाश्तविक भूकम्प पिडितहरुलाई सहयोग गरेको भए किन दुई दुई पटक प्रत्येक टोल टोलमा र घर घरमा गएर प्राविधिक ईन्जिनियर टोलीले अनुगमन गर्दा पनि कयौं घर भत्किएको र कयौं घर भत्किने अवस्थाको भएर पनि घर धनीको नाममा अहिलेसम्म कुनै प्रकारको क्षती भएको कार्ड पाइएन ? उक्त कार्ड नपाउँनुको कारण के हो ? 

जनताहरुले यसको जवाफ खोजी रहेका छन् । गाउँका विभिन्न राजनीतिक दलहरु, नागरीक मन्च, वडा सचिब र बुद्धिजिबी भनाउँदा अवसरवादीहरुले जे जे भन्यो त्यही त्यही कुरा नलेखी ,प्राविधिक ईन्जिनियर टोलीले आफ्नो सो बिवेकले फिल्डमा जे देखेको हो त्यो कुरा सत्य तथ्य नलेखेको कारणले गर्दा आजसम्म घर पुर्णरुपमा भत्किएका र भत्किन मात्र बाँकी भएका भूकम्प पिडितहरुले कुनै राहात र कुनै प्रकारको कार्ड नपाइएको हो । 

अर्को लाज मर्दो कुरा यो छ की मकवानपुर जिल्लाको थाहा नगरपालिकाको बज्रवाराहीको संयुक्त वडा कार्यालयमा यस्तो अन्याय अत्याचार भएको छ की राहत स्वरुप विभिन्न संघ सस्था र जिल्ला विकास समितिले दिएको कयौ बोरा चामल, चिउरा, दालमोट, दाल, चिनी र अन्य राहतका सामानहरु वडा कार्यालयको गोदामबाटै हरायो भनि गाउँका ठुला बडा, सचिब र राजनीतिक दल मिलेर राती राती आ–आफ्नो घरमा सामान लगेको कुरा समेत चर्चा चलेको थियो ।

कयौ भूकम्प पिडितहरुलाई राहतका सामानहरु चामल, चिउरा, दालमोट, दाल, चिनी नलिए पनि लिएको भनि माग फारम भरि ठुला बडाले मिलेर खाने गरेको पनि सुनिएको थियो ।  जसले गर्दा कि त यी जाली फटाहाहरुलाई कारबाही गर्नु पर्यो ? होइन भने सम्पूर्ण भूकम्प पिडितहरुलाई राहत स्वरुप पूर्ण क्षतिको रातो कार्ड दिनु पर्यो । अन्यथा जनताले त्यसपछि वाध्य भएर चाल्ने हरेक प्रकारका कदम बेहोर्न सम्वन्धित निकाय तयार रहनुको विकल्प छैन ।

(बलामी थाहा नगर पालिका–१४ पापुङका स्थायी बासिन्दा हुनुहुन्छ ।)

1 comments

राजनीतिक दल लाई लगाईयकाे अाराेप प्रति राप्रपा नेपाल थाहा नगर कमिटी खंडन गर्दछौं कुन पार्टी ले खाएको हो नाम सहित लखिदिनु हुन अनुराेध गर्दछौं ।

Write Down Your Responses