Powered by Blogger.
फापरबारीलाई खुल्ला चरिचरण मुक्त क्षेत्र घोषण गरिँदै


हेटौडा, १ असोज । राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर मकवानपुरको फापरवारी गाउँ विकास समितिलाई खुल्ला चरिचरण मुक्त क्षेत्र घोषणा गर्न लागिएकोे छ । खुल्ला चरिचरण मुक्त घोषणा समितिले शुक्रबार हेटौडामा पत्रकार सम्मेलनका गरि असोज ७ गते खुल्ला चरिचरण मुक्त क्षेत्र घोषणा गर्न लागेको बताएको हो ।
  
१७ हजार ६ सय ८२  हेक्टर क्षेत्रफलमा रहेको वन क्षेत्रलाई शुक्रबार जिल्ला वन कार्यालय मकवानपुरको सभाहलमा खुल्ला चरिचरण मुक्त घोषणा समितिले पत्रकार सम्मेलनको आयोजना गरि खुल्ला चरिचरण क्षेत्रमुक्त घोषणा गर्न लागेको जनाएको छ । 

१ सय ७६.३२ वर्ग किलोमिटरको सेरोफेरोमा फैलिएको वनभित्र ४० वटा सामुदायिक वन रहेको र सो क्षेत्रमा मृग, रतुवा, मलसाप्रो, दुम्सी, स्याल, फ्याउरो, न्याउरी मुसा, चितुवा, बाँदर, सालक, खरायो, मयूर, कालिज जस्ता विभिन्न प्रजातिका वनस्पति, सर्प तथा लोपोन्मुख जनावरहरू समेत संरक्षणमा टेवा पुग्ने आयोजक संस्थाले जनाएको छ ।

सो गाविसलाई चरिचरण मुक्त बनाउनको लागि परिवर्तन नेपाल र जैविक विविधता संरक्षण सञ्जालको अग्रसरता स्थानिय सामुदायिक वन उपभोक्ता समुहहरुको प्रयास र जिल्ला वन कार्यालय मकवानपुरको समन्वयमा २०६४ साल देखि नै चरिचरण बन्दको कार्यक्रमहरुको प्रयास शुरुवात भएको जैविक विविधता संरक्षण सञ्जाल फापरबारीका संयोजक उद्धवप्रसाद तिमल्सेनाले बताउनु भयो ।

खुल्ला चरिचरण मुक्त क्षेत्र घोषणा गर्नका लागि ६ लाख खर्च हुने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले वन भूःक्षय हुनुको प्रमुख कारण चरिचरण भएको बताउदै सबै गाविसमा चरिरण मुक्त क्षेत्र बनाउन आवश्यक रहेको र यस नमुना कार्य प्रति सदैव जिल्ला वन कार्यालयले सहयोग गर्ने बताउनु भयो । 

मकवानपुर जिल्लामा यस अघि छतिवन गाविसलाई खुल्ला चरिचरण क्षेत्र घोषण गरि सकिएको छ ।– रुपक कालिराज



0 comments

Write Down Your Responses