Powered by Blogger.
एकपाखे ढ्याङ्ग्रो बजाएर यसरी मनाए चेपाङहरुले न्वागी पर्व


कृष्ण शारु मगर

हेटौडा, २३ भदौ । चेपाङ समुदायले गए राती न्वागी पर्व मनाएका छन् । मकवानपुर सहित चेपाङ बाहुल्य रहेको ६ जिल्लाका चेपाङ अगुवाहरुको उपस्थितीमा नेपाल चेपाङ संघले मकवानपुरको हाँडिखोलामा न्वागी पर्व मनाएका हुन् । 

तीनजना पाँडेहरु(पुजारी) ले रातभर एक पाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) छोनाम अर्थात न्वागी पर्व मनाएका थिए । साथै उनीहरुले नयाँ उब्जिएको बाली मकै, घैयाँ धान, केरा, पिँडालु, निबुवा प्रकृतिलाई चढाएर वर्षभरी खान पुगोस् भन्ने कामना गरे । 

न्वागीपछि अनिकाल सकिएर सहकाल लागेको चेपाङ समुदायले अनुभुति गर्छन् । प्राकृतिक धर्म मान्ने चेपाङ समुदायमा पितृ र प्रकृतिलाई नचढाई नयाँ बाली खाएमा वर्षभरी दुःख पाईने विश्वास रहेको मुख्य पाण्डे दुर्ग बहादुर चेपाङले बताउनुभयो ।

चेपाङ समुदायको धर्म र संस्कृतिमा अन्य धर्मको हस्तक्षेप बढेपछि नेपाल चेपाङ संघले ६ वर्षदेखि सामुहिक रुपमा न्वागी पर्व मनाउन थालेको नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले बताउनुभयो । २२ नाले वंशावली भएका कारण चेपाङहरुले भदौ २२ गते मूख्य पर्व न्वागी मनाउने चलन रहेको उहाले बताउनुभयो । न्वागी मनाउन मकवानपुर सहित चितवन, धादिङ, लमजुङ, तनहुँ र गोरखाका चेपाङ अगुवाहरु हाँडीखोला आएका थिए ।

कार्यक्रममा सहभागी नभएका चेपाङहरुले आ–आफ्नो गाउँमा भेला भएर न्वागी पर्व मनाएका नेपाल चेपाङ संघका केन्द्रीय कोषाध्यक्ष रबिन चेपाङले बताउनुभयो । २०६८ सालको जनगणना अनुसार चेपाङ समुदायको जनसंख्या ६७ हजार नौंसय तीन रहेको तथ्याङ्क छ । 

0 comments

Write Down Your Responses